अत्तरिया – निकै लामो समय देखि चर्चामा रहको चौकिडाँडा फल्टुडे सडकको काम निकै सुस्त छ । हाल सो सडकको ऐलानी क्षेत्रमा सडक कालोपत्रे गर्न ४ वटा ठेक्का लगाइएको भए पनि कामको गति निकै सुस्त छ । भीमदत्त राजमार्गको वैकल्पिक सडकको रूपमा लिइँदै आएको चौकिडाँडा फल्टुडे सडक अन्तरगत हाल जिरो पोइन्ट देखि ४ वटा ठेक्का मार्फत गौडी सम्म सडक निर्माणको काम अघि बढेको छ । तर, २०७७ सालमै सडक कालोपत्रेका लागि ठेक्का भएका योजना पनि अझै सम्पन्न हुन सकेका छैनन् । एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढी मार्फत पहिलो खण्डको २२ सय मिटर सडक कालोपत्रे गर्ने काम केही दिन अघि सकिएको भए पनि दोस्रो खण्डको काम ४ वर्ष पुग्नै लाग्दा पनि पुरा हुन सकेको छैन ।
उक्त अढाई किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, थेगिङ, सन्लाईट जेभि बिच २०७७ भदौ १८ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नु पर्ने भए पनि ठेकेदार वर्षमा एक पटक काम गर्न आउने र त्यसपछि हराउने गरेका छन् ।

स्थानीय देवकी बडैलाले सडक बनाउने ठेकेदार काम गरेजस्तो गरेर पटक पटक हराउने गरेको बताइन् । ‘सडक बन्दै छ भनेर हामीलाई खुसी त लागेको थियो । तर, ठेकेदार काम गरेजस्तो गर्ने अनि किन हो फेरी हराउने गरेका छन्’ उनले भनिन् ‘ठेकेदार रोडमा ढुङ्गा फालेर अलपत्र हुने गरेका छन् । लेबरहरू एक दिन काम गर्छन् । दोस्रो दिन भागिहाल्छन् ।’

उनले पछिल्लो समय नाली निर्माणको काम भइरहेकाले अलि आशा जागेको बताइन् । डेढ वर्षमा सकिनुपर्ने काम ४ वर्ष पुग्नै लाग्दा पनि नसकिएपछि स्थानीयले आवतजावत गर्न पनि सास्ती खेप्दै आएका छन् । एड्भेन्चर, थेगिङ, सन्लाईट जेभिका प्रतिनिधि राम चन्द्र जोशीले पछिल्लो एक महिना देखि निरन्तर काम चलिरहेको बताए । उनले हाल नाली निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
उक्त सडकको नाली निर्माणका लागि मुख्य ठेकेदारले पेटी ठेक्का लगाएका छन् । पेटी ठेकेदार बालकृष्ण चौधरीले ठेकेदारले मेट्रियल नदिएका कारण काम गर्न नसकेको बताए । उनले साढे १२ सय घट मिटरका दरमा आफूले काम गराइरहेको भए पनि मेट्रियल नपाउँदा लगातार काम गर्न नसकेको बताए । नियमित सडक निर्माणको काम नहुँदा हाल कालोपत्रे गरिनुपर्ने सडक छेउमा गाँजाका बिरुवा हुर्किरहेका छन् ।
सोही सडकको तेस्रो खण्डको निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरिएको छ । सुरुमा सो निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको भएपछि पछिल्लो समय काम सुस्त गतिमा अगाडी बढेको छ । जसका कारण सो खण्डको काम पनि तोकिएको समयमा सकिने छाटकाट नदेखिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
हाल संघीय सरकार मातहत रहेको बान्द्रेखाल देखि गौडी सम्मको ८ सय मिटर सडक कालोपत्रे गर्ने काम पनि जारी रहेको छ । ऐलानी हुँदै चौकिडाँडा देखि फल्टुटे ३८ किलोमिटर दुरी रहेको सडकको साढे ८ किलोमिटर कालोपत्रे गर्न ४ ठेक्का मार्फत काम भइरहेको छ । टुक्रे योजना बनाएर प्रदेश, संघ सरकारले एउटै सडकमा काम गरिरहेका भए पनि अझै ऐलानी सम्म पनि कालोपत्रे सडक पुग्न सकेको छैन ।


















