अत्तरिया – सोमबार कैलालीको गोदावरी नगरपालिका – १२ ले वडाका ८ जनालाई झकुला र ४ जनालाई साउनाई वितरण ग-यो । वडामा पञ्चेबाजा बजाएर जीविकोपार्जन गर्नेहरूको सहजता सँगै परम्परागत पेसाको संरक्षणका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो । वडाको सहयोगमा उक्त झकुला अपाङ्ग उत्थान समाज कैलाली मार्फत वितरण गरिएको थियो । तर, लोप हुँदै गएका झकुला जुटाउन भने आयोजकलाई हम्मे हम्मे प-यो ।
अपाङ्ग उत्थान समाज सुदूरपश्चिमका सचिव नर दीप धामीले परम्परागत झकुला वितरण गर्ने भने पनि बजारमा नपाउँदा निकै समस्या भएको बताए । ‘परम्परागत झकुला पाउन निकै चुनौती भयो । अत्तरिया, धनगढीका गार्मेन्ट देखि लिएर सिलाई कटाई गर्ने सबै पसलमा सोध्दा भेटिएनन्’ उनले भने ‘यो बनाउने जान्ने मान्छे बजारका पसलहरूमा नभेटिँदा रहेछन् ।’ उनले वितरणका लागि कतै परम्परागत झकुला नभेटिएपछि गाउँमै एक जना वृद्ध मार्फत सिलाउन लगाएको बताए । ती झकुला गोदावरी – १२ का चुठ्या दमाइले सिलाएका थिए । उनले अहिलेको पुस्ता पुराना झकुला सिलाउन नजान्ने भएकाले आफूकहाँ लुगा सिलाउन आउने गरेको बताए । उनले अहिले ठाउँ ठाउँमा सिलाई कटाइ तालिम, घर घरमा लुगा सिलाउने मेसिन भए पनि परम्परागत पहिरन सिलाउन जान्ने सीप भने हराउँदै गएको बताए ।

‘म पनि लुगा सिलाउँछु तर, म कहाँ कोही सिलाउन आउँदैनन्’ ७८ वर्ष पुगेका चुठ्या दमाइले भने ‘यस्तै परम्परागत लुगा कसैले सिलाउन नजाने मकहाँ आउन्छन । अरू कोही आउँदैनन् ।’ उनले आफ्नो सीप अरूलाई सिकाउन चाहे पनि अहिलेको पुस्तामा पुरानो सिप सिक्ने रुचि नभएको बताए ।

स्थानीय चक्र बहादुर दमाईले झकुला लगाएर आफूहरूले बिहे, कार्यक्रममा आफ्नो कला देखाउने गरेको बताए । उनले पछिल्लो समय सहजै झकुला नपाइने भएकाले जुटाउन भने समस्या हुने गरेको बताए । ‘जन्ती, कार्यक्रमहरूमा हामी झकुला लगाएर जाँदा अलि आम्दानी पनि हुन्छ । अहिले पनि हामीले बाउ बाजेका पुराना झकुला लगाउने गरेका छौ’ उनले भने ‘यही कला देखाएर सामान्य घर खर्च चल्छ । वडाबाट झकुला पाएपछि सहज भएको छ ।’ वडा नम्बर १२ का वडा सदस्य गोरे दमाईले वडामा बाजा बजाउने झकुला लगाएर नाचगान गर्ने समुदायको बाक्लो बस्ती भए पनि पछिल्लो समय यो सीप लोप हुँदै गएको बताए ।
‘यहाँ ८÷१० कक्षा पढेर भारत जाने धेरै छन् । जसले गर्दा यो सीप जोगाउन निकै चुनौती थपिएको छ’ उनले भने ‘आफूहरूले हराउँदै गएको सीप जोगाउन अहिलेको पुस्तालाई जागरूक गराउन वडाबाट झकुला, साउनाई वितरण गरेका हौ ।’ उनले पछिल्लो समय ब्यान्ड बाजा बजाउने चलन बढ्दै गएकाले परम्परागत सीप, पेसा पनि लोप हुने अवस्थामा पुगेको बताए ।
वडाका अध्यक्ष भीम बहादुर खड्काले वडा कार्यालय परम्परागत सीपको संरक्षण गर्न लागिपरेको बताए । उनले २०७४ सालदेखि नै आफूले दलित समुदायको सीपलाई जोगाउन विभिन्न तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
‘म वडामा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएको हु’ उनले भने ‘यो अवधिमा मैले यसअघिको कार्यक्रममा पनि दलित समुदायका मागका आधारमा पुराना सीप जोगाउनका लागि तालिमको आयोजना गरेका थियौ । हामीले थोरै बजेटका बाबजुद पनि परम्परागत सीपलाई संरक्षण गर्न त्यसमा थोरै परिमार्जन गरेर स्वरोजगार बनाउन लागेका छौ ।’
उनले वडाबाट आफर (आरएन) सञ्चालनका लागि ५० जनालाई सहयोग गरेको बताए । उनले गत वर्ष मात्रै व्यवसायीक रूपमा आरएनको काम गर्दै आएका युवालाई १ लाख बराबरको औजार सहयोग गरेको बताए । दलित समुदायमा बजाइने बाजाको संरक्षणको लागि पनि विगत देखि बाजागाजा वितरण गर्ने देखि लिएर मर्मत तालिम पनि सञ्चालन गरिसकेको बताए ।
उनले दलित समुदायका लागि मात्रै भनेर वडाबाट बजेट छुट्टाउने वडा नम्बर १२ मात्रै एक्लो भएको दाबी गरे । उनले लोप हुन लागेको बाजा र पहिरनको संरक्षण गर्नको लागि वडाले चालु आर्थिक वर्षमा छुट्टाएको १ लाख बाट झकुला र साउनाई वितरण गरिएको र, आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।


















