अत्तरिया – सडक किनारामा बसहरू पार्किङ हुने अत्तरियामा एक दशक अघि बसपार्क बनाउने योजना अघि सारिएको थियो । सुदूरपश्चिमका नौ जिल्लाको जक्सनको रूपमा रहेको अत्तरियामा सवारी साधनको चाप बढ्न थालेपछि अत्तरियाको पहाड रोडमा दुर्गालक्ष्मी सामुदायिक वनको खालि क्षेत्रमा ग्राभेल भरान गरेर बसपार्क निर्माण गरिएको थियो । बसपार्क व्यवस्थापन समिति गठन गरेर निर्माण गरिएको बसपार्क २०७५ साल साउन १ गते देखि भने गोदावरी नगरपालिका मातहतमा ल्याइएको छ ।
त्यसयता वर्षेनी गोदावरी नगरपालिकाले बसपार्कबाट पार्किङ शुल्क उठाउँदै आएको भए पनि यसको स्तरोन्नति भने अझै हुन सकेको छैन । नगरपालिकाले हाल ठेक्कामार्फत बसपार्कबाट वार्षिक १ करोड भन्दा बढी राजस्व सङ्कलन गर्दै आएको भए पनि बसपार्क भने अझै जस्ताको त्यस्तै रहेको छ । ग्राभेल मात्रै बिछ्याइको बसपार्कलाई नगरपालिकाले कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना अघि सारेको भए पनि सेनाले अवरोध गरेको जनाउँदै आएको छ । चालु आर्थिक वर्षमा पनि बसपार्क मर्मतको लागि १० लाख विनियोजन गरेकोमा सेनाले काम रोकेको नगरपालिकाको भनाई छ ।

बसपार्क निर्माण सुरु गर्दा सुरुमा मौन रहेको सेना नगरपालिकाले बसपार्कको डिपिआर निर्माण गरेपछि भने आफ्नो भोगाधिकारको जग्गा रहेको दाबी गरेको थियो । सेनाले पहिलो पटक बसपार्क क्षेत्र आफ्नो भोगाधिकारमा रहेको भन्दै २०७९ असारमा बोर्ड नै टाँसेको थियो । बसपार्कको अगाडी बोर्ड टाँसेको सेनाले हाल उक्त बोर्ड बसपार्कको पछाडि सारेको छ । सेनाले बसपार्क क्षेत्रको जग्गा २०६१ चैत्र १० गते देखि संरक्षण गर्दै आएको जनाएको छ । सेनाले बसपार्क सँगै जोडिएको साढे १७ हेक्टर जग्गामा आफ्नो भोगाधिकारमा रहेको जनाएको छ ।
यद्यपि एक दशकदेखि सेनाले दाबी गरेको जग्गामा बसपार्क मात्रै नभएर अन्य निजी तथा सार्वजनिक संरचना निर्माण भएका छन् । निजी संरचना निर्माण हुँदा पनि सेना मौन बसेको थियो । स्थानीयले भने २०३६ सालदेखि बसेकाले सेनाले राजा ज्ञानेन्द्रको शाही सैनिक कालमा सो क्षेत्र एकलौटी आफ्नो नाममा गरेको बताउँदै आएका छन् । यसबिच नगरपालिकाले सेनाबाट उक्त जग्गा आफ्नो मातहतमा ल्याउनको लागि प्रयास गरे पनि अझै सफल हुन सकेको छैन ।
तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टका अनुसार अत्तरियामा बसपार्कको आवश्यकता रहेको भन्दै ट्राफिक प्रहरीका तत्कालीन डिएसपी प्रमोद खरेलले स्थानीय सँग आग्रह गरेका थिए । त्यसपछि अत्तरियाका राजनीतिक दल अगुवाहरूको भेलाले हालको बसपार्क निर्माण गर्ने स्थान छनोट गरेको थियो । जसका नेतृत्व भट्टलाई नै दिइएको थियो । उनले बसपार्क निर्माण गर्ने क्षेत्रमा पानी जम्ने भएकाले तत्कालीन सुदूरपश्चिम यातायात समिति मार्फत अनुदान र ऋण लगानीमा बसपार्क निर्माण भएको बताए ।

‘यातायात समितिले १५ लाख फिर्ता नलिने गरी र १० लाख ऋणमा समितिलाई उपलब्ध गराएको थियो । सोही रकमबाट बसपार्कमा भरान गरेर सञ्चालनमा ल्याएका थियौ’ उनले भने ‘यातायात समितिले ऋणमा दिएको रकम पछि पार्किङ शुल्क उठाउँदै फिर्ता गरेका थियौँ ।’
उनले बसपार्कलाई धेरै समय अन्योलमा राख्न नहुने भन्दै चाँडो निकास निकाल्नुपर्ने बताए । उनले फेरी अत्तरिया क्षेत्रका राजनीति दल र अगुवाको भेला गराएर बसपार्कको विषयमा गहन छलफल गर्ने योजना बनाएको बताए ।
नगरपालिकाले बसपार्क आफ्नो मातहतमा ल्याउन तेघरी स्थित नेपाली सेना र काठमाण्डौंमा उच्च तहमा छलफल गर्दै आएको भए पनि निकास भने निस्किन सकेको छैन । नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले सेनालाई बसपार्क क्षेत्र छोडेर सट्टामा अर्को ठाउँमा दिने प्रस्ताव पेस गरेको भए पनि सेनाबाट ठोस निर्णय नआएको बताए । उनले बसपार्क लगायतको क्षेत्र फिर्ता लिने विषयमा छलफल भने जारी नै रहेको बताए ।
नगरपालिकाले सेनाको नाममा रहेको अत्तरिया बसपार्क सहित साढे १७ हेक्टर जग्गाको साटो सेनाको ब्यारेक सँगै जोडिएको २० हेक्टर जग्गा दिने प्रस्ताव पेस गरेको थियो । यस विषयमा सेनाले स्पष्ट धारणा बाहिर ल्याएको छैन ।
जसले गर्दा लामो समय देखि अत्तरिया बसपार्क अन्योलमा रहँदा स्तरोन्नति हुन सकेको छैन । ग्राभेल मात्रै गरिएको बसपार्क सुख्खा मौसममा धुलाम्मे र बर्सातमा हिलाम्मे हुने गरेको छ ।
भिडियो


















