खाेज्नुहाेस

रेबिज उन्मूलनमा कञ्चनपुरका स्थानीय तह : कतै डाक्टर, कतै उपकरण अभाव

Image
तस्बिर : डम्बरसिंह धामी

अत्तरिया– कञ्चनपुरको बेलौरी नगरपालिकामा गत चैत २७ गतेदेखि २९ गतेसम्म सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरियो । सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरी पालिका क्षेत्रमा रहेका १८२ भाले र पोथी कुकुरको बन्ध्याकरण गरिएको थियो । नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक पुष्पराज पाण्डेयले बेवारिसे कुकुरहरुको संख्यामा कमी ल्याई रेबिज रोग उन्मूलनका लागि बन्ध्याकरण गर्न थालिएको बताए ।

‘पालिका क्षेत्रमा बेवारिसे कुकुर धेरै भए, तिनीहरुको संख्या घटाउन बन्ध्याकरण गरिएको हो खास’, उनले भने, ‘अर्को कुरा २०३० सम्ममा हाम्रो देशबाट नै रेबिज उन्मूलन गर्ने अभियान छ, त्यो अभियानका लागि पनि कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।’ यो वर्ष पालिकाबाट बजेट विनियोजन गरी परीक्षणका रुपमा कार्यक्रम गरिएको उनले बताए । कुकुरले घरपालुवा पशुहरुलाई टोकेका घटनाहरु भइरहेका हुँदा ती पशुको स्याहारसुसार गर्नेलाई पनि रेबिज रोग सङ्क्रमणको जोखिम हुने भएकाले बन्ध्याकरण गराउन थालिएको उनी बताउँछन् ।

add everest academy
attariya hospital

जिल्लाको पुनर्वास नगरपालिकाले पनि यही वैशाख ६ र ७ गते सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेको छ । पालिकाका पशु चिकित्सक उद्योग सापकोटाका अनुसार पालिका क्षेत्रका ६३ कुकुरको बन्ध्याकरण गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाका पशु चिकित्सक नवीन पन्तले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम अन्तर्गत गत फागुन १९ देखि २१ गतेसम्म कुकुरहरुको बन्ध्याकरण गरिएको बताए ।

उनले नगरपालिका क्षेत्रका १८४ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताए । संघको बजेटमा पालिकाबाट कार्यक्रम सञ्चालन गरिएको उनले बताए । डब्ल्यूएचओको सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोग उन्मूलनको लक्ष्य अनुसार सामुदायिक कुकुरको बन्ध्याकरण गर्न थालिएको उनले बताए । कुकुरले घरपालुवा जनावरहरु गाई, भैँसीलाई टोकेका, कुकुरको टोकाइबाट ती जनावर मरेका घटना भइरहने गरेकाले यसरी कार्यक्रम नै चलाइएको उनले बताए । उनका अनुसार यो कार्यक्रम यसै वर्षबाट थालिएको हो ।

navjiwan hospital

भीमदत्त नगरपालिकामा पनि गत फागुन २२ र २३ गते सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको थियो । पशु चिकित्सक दिनेश पन्तका अनुसार १२९ कुकुरको बन्ध्याकरण गरिएको छ । ‘सामुदायिक कुकुहरुको बन्ध्याकरण गर्यो भने भोलि उनीहरुले बच्चा पाउन सक्दैनन्, जसले गर्दा विस्तारै उनीहरुको संख्या घट्दै जाने भयो अनि रेबिजको जोखिम पनि न्यून हुने भयो’, पशु चिकित्सक पन्तले भने ।

attariya technical collage

वेदकोट नगरपालिकाका पशु विकास अधिकृत शम्भु चन्दले रेबिजको भ्याक्सिन घरपालुवा कुकुरहरुलाई हरेक वर्ष दिँइदै आएको तर कुकुर बन्ध्याकरण कार्यक्रम भने सञ्चालन गर्न नसकिएको बताए । उनले सुरुमै बजेट विनियोजन नहुँदा काम गर्न नसकिएको बताए । ‘त्यो शिर्षकमा सुरुमै बजेटिङ्ग भएन, त्यतिबेला हामीसँग डाक्टर पनि थिएनन्, पछि डाक्टर त आए, बजेट नहुँदा बन्ध्याकरण कार्यक्रम गर्न सकिएन, अहिले फेरि डाक्टर हुनुहुन्न हामीसँग, करारवाला हुनुहुन्थ्यो गइहाल्नुभो’, उनले भने ।

लालझाडी गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक बिसनसिंह विष्टले कुकुर बन्ध्याकरणको कार्यक्रम सञ्चालन नभएको बताए । ‘भ्याक्सिनेसन कार्यक्रम हरेक वर्ष भइराछ, बन्ध्याकरणको कार्यक्रम पालिकामा छैन’, उनी भन्छन्, ‘यो कार्यक्रमका लागि कतैबाट पहल पनि भएन, प्रदेश, संघ वा कुनै संस्थाबाट भनौँ पहल भाछैन ।’ बेल्डाँडी गाउँपालिकामा पनि यो कार्यक्रम नरहेको पाइएको छ । पालिकाको पशु विकास शाखाका नासु टेकराज पन्तले कुकुर बन्ध्याकरणको कार्यक्रम अहिले सञ्चालन नभएको र पछिलाई पनि यो कार्यक्रम नरहेको बताए । ‘अहिले कुकुर बन्ध्याकरण गरिएको छैन, पछि पनि हुँदैन’, उनले भने ।

कृष्णपुर नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन नगरिएको पाइएको छ । पशु चिकित्सक मानबहादुर केसीले घरपालुवा कुकुरको बन्ध्याकरण भइरहेको भएपनि सामुदायिक कुकुरहरुको बन्ध्याकरण भने नगरिएको बताए । ‘हामीले घरपालुवा कुकुरको बन्ध्याकरण त गरि नै रहेका छौँ, बन्ध्याकरण गराउनुपर्ने भए आफै ल्याएर आउँछन्, तर अभियानकै रुपमा सामुदायिक कुकुरको भने बन्ध्याकरण गरेका छैनौँ, अहिले यो कार्यक्रम छैन हामीसँग’, उनले भने । उनले सामुदायिक कुकुर समात्नका लागि ‘डग क्याचर’ पनि चाहिने हुँदा आफूहरुसँग उक्त उपकरण नभएको बताए । ‘सामुदायिक कुकुर समात्न डग क्याचर भन्ने हुन्छ एउटा, त्यो हामीसँग छैन, यता नजिक नपाउँदो रैछ, नेपालगञ्जबाट अर्डर गरेका छौँ, अहिले नभए नि पछि हुन्छ हाम्रोमा पनि यो कार्यक्रम’, उनले भने ।

दोधाराचाँदनी नगरपालिकामा पनि उक्त कार्यक्रम सञ्चालन भएन । पालिकाका पशु विकास अधिकृत कृष्णसिंह साउँदले अर्को वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने बताए । ९ स्थानीय तह रहेको कञ्चनपुरका ४ पालिकामा मात्रै यो कार्यक्रम सञ्चालन भएको पाइएको छ । कार्यक्रम सञ्चालन गरेका पालिकाहरुले यो वर्ष परीक्षणका रुपमा कार्यक्रम गरिएको बताएका छन् ।