अत्तरिया- सुदूरपश्चिममा यो वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका अनुसार आगामी बर्खा सिजनका लागि रासायनिक मलको अभाव नहुने भएको हो ।
कार्यालयका प्रमुख नवलसिंह बोगटीले केही मल मौज्दात रहेको र बाँकी मल अबको केही दिनमै आइपुग्ने हुँदा अभाव हुने अवस्था नरहेको बताए । उनले सुदूरपश्चिममा भैरहवाबाट मल प्राप्त हुने गरेकोमा केही दिनमै मल आइपुग्ने बताए । अन्य वर्षको तुलनामा गत वर्षबाट किसानहरूले सहज रूपमा मल पाइरहेको उनले बताए । ‘रासायनिक मल यो पाली अभाव हुँदैन, युरिया आइराछ, टन्नै गोदाम छ, डीएपी पनि अलिकति हामीसँग छ, अरू अब लगभग १५/२० दिनमा आउँछ’, उनले भने ।



उनले गत वर्षभन्दा यो वर्ष गहुँका लागि पनि किसानहरूले आवश्यक मल पाएको बताए । सुदूरपश्चिममा किसानहरूलाई पूरै सिजनमा करिब ६० मेट्रिक टन मल आवश्यक पर्ने गरेकोमा अहिले सहज रूपमा आपूर्ति भइरहेको उनको भनाइ छ । ‘पूरै सिजनलाई गरेर त्यही ५०/६० मेट्रिक टन जति मल आवश्यक पर्छ होला, तरकारी पनि लगाउँछन्, केरा खेती, उखुखेतीहरु सबै गरेर त्यति जति चाहिन्छ होला’, उनले भने । उनले मल आपूर्तिमा गत वर्षबाट मात्रै सहज भएको बताए । ‘गत वर्षबाट सहज भयो, त्यो भन्दा अघिल्लो वर्ष कोरोनाको कारणले त्यति सहज भाथेन’, उनी भन्छन्, ‘गत वर्ष किसानहरूले एकदमै भने जति प्रशस्तै नभए पनि सहजरुपमा पाइराथे, अब यो वर्ष पनि सहज हुन्छ ।’
कार्यालय प्रमुख बोगटीले चैते धानका लागि पनि किसानहरूलाई मलको अभाव नरहेको बताए । उनले किसानहरूले अहिले पनि मल लगी नै रहेका बताए । उनका अनुसार विशेष गरी कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका लगायतका क्षेत्रमा चैते धान लगाइन्छ । कञ्चनपुरको पनि दक्षिणी क्षेत्र बेलौरी, बेल्डाँडी, लालझाडीमा चैते धान खेती गरिन्छ । उनले सहकारीमार्फत मल विक्री वितरण हुँदै आएको बताए । ‘हाम्रो विक्रेताहरू हुन्छन्, विक्रेताहरूमार्फत विक्रीविरतण गरिन्छ’, उनले भने, ‘सहकारी विक्रेताहरू हुन्छन् हाम्रो डिलर वहाँहरूमार्फत विक्रीविरतण हुन्छ ।’
पोटास मल भने किसानहरूले कमै खोज्ने गरेको उनको भनाइ छ । ‘पोटास धेरै माग्दैनन्, प्रयोग गर्नुपर्ने त हो तर पनि कमै खोज्नुहुन्छ किसानहरू’, उनी भन्छन्, ‘डीएपी, युरिया नै बढी खोज्नुहुन्छ, पोटासको माग कम हुन्छ ।’ प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल १ हजार २ सय ६६ मेट्रिक टन युरिया र ३४४ मेट्रिक टन डीएपी मल मौज्दात छ ।

प्रदेशभर कुल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्ट ट्रेनिङ कर्पोरेसन धनगढीसँग भने मल मौज्दात छैन । मौज्दात मल नभए पनि भैरहवाबाट मल आउन थालिसकेकाले अभाव भने नहुने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए । ‘हामीसँग मल मौज्दात छैन, महेन्द्रनगर शाखामा पनि मौज्दात मल छैन, तर मल आउँदैछ, किसानलाई मलको अभाव हुँदैन’, उनले भने ।
















