अत्तरिया – गेटामा नेपाल सरकारले २०७९ माघ २९ गते सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय बनाउने घोषणा गरे पनि अझै बेला बेलामा मोडालिटीकै बहस गरेर अल्झाउने प्रयास हुने गरेको छ । आइतबार नेपाल सरकारकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ अवलोकनमा आउँदा पनि सो दृश्य दोहोरियो । जसका कारण नयाँ मन्त्री आएपछि गेटामा विश्वविद्यालयको काम अगाडि बढ्छ की भनेर आशा बोकेर पुगेका स्थानीय पनि निराश भएर फर्किए ।
बिहान ७ बजे गेटामा अवलोकन गर्न आएकी मन्त्री श्रेष्ठलाई पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले गेटामा भएको भौतिक पूर्वाधार विकासको अवस्थाका बारेमा जानकारी गराएका थिए । सो क्रममा मन्त्री श्रेष्ठले मोडालिटीको विषयमा जिज्ञासा राख्दै स्वास्थ्य प्रतिष्ठान हुनुपर्छ भन्ने यहाँको जनताको टिम खै भनेर प्रश्न गरिन ।

इन्जिनियर रावलले प्रतिष्ठान हुनुपर्छ यहाँ कसैले भनेको छैन भनेपछि उनले बजेटमा किन प्रतिष्ठान राखिएको भनेर अर्को प्रश्न गरिन । त्यसपछि इन्जिनियर रावलले त्यसको जवाफ दिँदै विश्वविद्यालय बनाउने निर्णय भए पनि अर्थमन्त्रीले लेखाइ त्रुटि भएको बताउँदै सच्याइसकेको बताएपछि उनी रोकिइन् । यद्यपि उनी गेटामा विश्वविद्यालय वा प्रतिष्ठान भन्ने विषयमा अन्योलमै देखिन्थिन् ।
भौतिक पूर्वाधारको ब्रिफिङ सकिए लगतै मन्त्री श्रेष्ठलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समिति विश्वविद्यालयको काम चाँडो अगाडि बढाउन दबाब दिँदै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउँदै सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेयले सरकारले घोषणा गरेर राष्ट्रिय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित गरिसकेको अवस्थामा पनि मोडालिटीमा नअल्झिन आग्रह गर्दै काम अगाडि बढाउन आग्रह गरे ।
लगतै मन्त्री श्रेष्ठले प्रतिक्रिया दिँदै तपाइले प्रदेश सरकार सँग कुरा गर्नु भएको छ भनेर उल्टै प्रश्न गरिन । ‘तपाईँले प्रजेन्टेसन देख्नुभयो नि ? घर बनाउँदा खेरी घर भनेर त गज्जब सुनिन्छ । तर, घरका लागि जग्गा चाहिन्छ जग चाहिन्छ । त्यस्तै मैले बुझे अनुसार कुनै पनि मेडिकल कलेज बनाउनका लागि एक सय शैय्याको, तिन सय शैय्याको अस्पताल चल्नुपर्छ त्यसमा ६० प्रतिशत अक्युपेन्सी हुनुपर्छ । त्यो तिन वर्ष चल्नुपर्छ बल्ल त्यहाँ पढाउन पाइन्छ त्यो प्रावधानलाई के गर्ने त ?’ उनले उल्टै प्रश्न गरिन् ।

त्यसपछि सेती, महाकाली, टीकापुर अस्पताल समेटेर पनि गेटामा तत्काल विश्वविद्यालय अन्तरगत मेडिकल कलेज सञ्चालन गर्न सकिने सहभागीले मन्त्रीलाई कन्भेन्स गरेपछि उनले समय सकिएको भन्दै सहभागीलाई बोल्न रोकिन । ‘प्रदेश अस्पताल संघले खोस्न मिल्छ ? यसमा समन्वय एकदम ठुलो छ’ उनले भनिन् । दुई मिटेन मात्रै समय दिन सकिन्छ भन्दै बोल्न सुरु गरेकी मन्त्री श्रेष्ठ त्यसपछि कसैको कुरा नसुनी बाहिरिएकी थिइन् ।
मन्त्री श्रेष्ठ कार्यक्रम स्थलबाट हिँडेपछि भने उनलाई भेट्न पुगेका स्थानीय आक्रोशित भएका थिए । केही पूर्वाधार विकास समितिका इन्जिनियर रावलले मन्त्रीलाई गलत ब्रिफिङ गरेको भन्दै उनीमाथि खनिएका थिए भने केहीले मन्त्री श्रेष्ठ प्रा.डा. गोविन्द केसीकै पक्षको भएकाले घोषणा गरिएको विश्वविद्यालयलाई प्रतिष्ठान बनाउने सोचका साथ आएको बताएका थिए ।
यसअघि मंसिर अन्तिम साता २१ औँ पटक गेटामा अनसन बस्न आएका केसीले प्रतिष्ठान बनाउनु पर्ने माग राखेपछि उनी त्यहाँबाट लखेटिएका थिए । त्यसपछि उनी धनगढीमा अनसन बसे पनि घोषणा भइसकेको विश्वविद्यालयलाई प्रतिष्ठान बनाउन परिचालित भएको भन्दै चर्को विरोध खेप्नु परेको थियो ।
शनिवार धनगढी पुगेकी मन्त्री श्रेष्ठलाई धनगढीमै केही व्यक्तिले भेटेर प्रतिष्ठान बनाउनु पर्छ भनेका कारण पनि उनको व्यवहार फेरिएको हुनसक्ने स्थानीयको आरोप छ । यद्यपि मन्त्री श्रेष्ठ हाल गेटामा विश्वविद्यालय बनाउने प्रक्रियामा के भइरहेको छ भन्नेमै अनविज्ञ रहेको प्रस्ट बुझ्न सकिन्थ्यो ।
२०७०/०७१ बाट भौतिक निर्माणको काम सुरु भएको गेटामा पौने ७ अर्ब खर्च गरेर हाल ४२ वटा संरचना निर्माण भइसकेका छन् । भौतिक संरचना निर्माण गर्ने क्रममा मेडिकल कलेजका भवन २०७७ सालमै निर्माण सकिएका थिए भने ३ सय शैय्याको अस्पताल भवन २०७८ असार ११ गते निर्माण सम्पन्न भएको थियो ।
मुख्य भवन निर्माण भएको लामो समय बितिसक्दा पनि हाल भवन प्रयोग विहीन रहेका छन् । लामो समय देखिको प्रतीक्षाका बिच निर्माण भएका संरचना पनि प्रयोगमा नआउँदा निराश भएका यस क्षेत्रका जनता हाल राज्यको कार्यान्वयन तहमै रहेका व्यक्तिबाट फेरिरहने बोलिका कारण झन् रुष्ट बनेका छन् ।

















