अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटाकी कविता बलायर आफ्नी देवरानी बिना बलायरसँग खेतमा काम गरिरहेकी थिइन् । उनीहरु दुबै जना गफ गर्दै खेतमा लगाइएको लसुन खनिरहेका थिए । गहुँ काटेको खेतमा बाख्रा पनि बाँधेर चराइरहेका थिए, उनीहरु । कविताको घर नजिकैको खेतमा हरियो मकैको बिरुवा, धनियाँ, बन्दागोभी, प्याज र काँक्रा लगाइएको देख्न सकिन्थ्यो । जसमा घर नजिकै रहेको मोटरबाट सिँचाइ गर्न लागिएको थियो ।



कविताको सासू, ससुरा, श्रीमान, देवर देवरानी र तीन छोराछोरी (देवरका एक छोरासहित) गरी नौ जनाको परिवार छ । उनका श्रीमान गाउँकै विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत छन् भने देवर रोजगारीको सिलसिलामा भारतमा छन् । उनकी देवरानी पनि गाउँकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीका रुपमा कार्यरत छिन् । कवितासँग १५ कठ्टा जमिन भएपछि उनले डेढ कठ्टा जमिनमा मात्रै तरकारीखेती गरिरहेकी छिन् । ‘खानका लागि धान गहुँ लाउनै पर्छ, अलिअलि बेच्नलाई पनि हुन्छ हुन त, तर तरकारीखेतीले मजाले घरखर्च चल्छ’, उनले भनिन्, ‘धान गहुँ भनेजस्तो राम्रो नफले पनि तरकारी भने सानो जमिनमा अलि मेहनत गरे राम्रै फल्छ ।’

उनले हिउँदमा आलु, फूलगोभी, मुला, बन्दा, टमाटर, हरियो साग, हरियो खुर्सानी, धनियाँ लगाएको बताइन् । एक मौसममा तरकारीबाट एक लाख रुपैयाँ बढी आम्दानी लिइरहेको उनले बताइन् । ‘हिउँदमा टमाटर, हरियो साग, खुर्सानी, धनियाँ लगाथे, अनि एक कठ्टा जतिमा आलु लगाथे सबै बेचि सकियो’, उनले भनिन् । घरका अन्य सदस्य रोजगारीमा रहेकाले एक्लैका लागि सानै जमिनमा तरकारीखेती गर्दा पनि फुर्सदै नहुने उनी बताउँछिन् । ‘सबै आआफ्नो काममा जान्छन्, त्यही बिदाको दिन हुन् बुढाले देवरानीले सघाउने, आज बिदा भएर खेतबारीमा सँगै छौँ हामी, नभए त एक्लै सबैतिर भ्याउन गाह्रै हुन्छ’, उनले भनिन् ।


कविताले हिउँदमा लगाइएको टमाटर बेचिसकेकी छिन् भने दोस्रोपल्ट लगाइएको टमाटर अहिले बेचिरहेकी छिन् । उनले फेरि टमाटरका बिरुवा रोपेकी छिन् । हरियो खुर्सानी, फर्सी, लौका, प्याज अनि काँक्रा फल्ने क्रममा छन् । कविताले बारीमा आफूहरुले बजारको विषादी प्रयोग नगर्ने गरेको बताइन् । ‘हामी घरमै झोल मल बनाउँछौँ, बारीमा त्यही प्रयोग गर्छौँ, बजारबाट मल किनेर हाल्ने गरेका छैनौँ’, उनी भन्छिन् । उनले यसरी खेती गर्न थालेको आठ वर्ष भयो । अहिलेसम्म आफूहरुले बजारबाट तरकारी किनेर खानु नपरेको उनी बताउँछिन् । ‘आठ वर्षजति भयो होला यसरी खेती गरिरहेको, अहिलेसम्म बजारबाट किनेर तरकारी खाछैनौँ, धान गहुँभन्दा फाइदा पनि छ यसमा’, उनले भनिन् ।


उनी तरकारी बेच्न भने आफै गाउँगाउँ जान्छिन् । बजारभन्दा सस्तो मूल्यमा दिने हुँदा बेच्न लगेको तरकारी फर्काएर कहिले ल्याउन नपरेको उनी बताउँछिन् । तरकारीखेतीबाट घरखर्च मजाले चरिहेको बताउने कविताले तरकारीखेतीबाटै आएको पैसाले गाउँमा गठन गरिएका तीन ओटा समूहमा बचत पनि गरिरहेको बताइन् । यसअघि पाँच वर्ष केराखेती पनि गरेकी उनले राम्रो मूल्य नपाएपछि अहिले केराखेती गर्नै छोडेको बताइन् । उनी भन्छिन्, ‘चार/पाँच वर्षजति केराखेती पनि गरेँ, भनेजस्तो मूल्य नै नपाइने, दसैँ तिहार तीजका बेला विक्री हुने, त्यो बेला आफूसँग केरै नहुने, अनि लाउनै छोडिदिएँ, अहिले आफू खानलाई मात्रै लगाउँछौँ थोरै’, उनले भनिन् ।


गोदावरी–४ बास्कोटाकै दुर्गा मल्लले विगत चार वर्षदेखि तरकारीखेती गरिरहेकी छिन् । उनले पनि करिब दुई कठ्टा जमिनमा तरकारीखेती गरिरहेकी छिन् । उनको बारीमा अहिले काँक्रा र हरियो खुर्सानी फलिरहेको छ । उनले काँक्रा फलाएर बेचिरहेकी छिन् भने टमाटर सकिने क्रममा छ । उनले बारीमा काँक्रा, मकै, टमाटर, हरियो खुर्सानी, फर्सी, लौका, बोडी, करेला, भिन्डी, धनियाँ लगाएकी छिन् । दुर्गा र कविता छिमेकी हुन् । दुबै जना बिहान सँगै तरकारी बेच्न जाने गरेका छन् । दुर्गाले हिउँदमा तरकारीबाट एक लाख रुपैयाँ बढी आम्दानी गरेकी छिन् । उनले हिउँदमा फूलगोभी, बन्दा, काँक्रा, टमाटर, पालुंगो र धनियाँ बेचेर करिब डेढ लाख रुपैयाँ जति आम्दानी लिएको बताइन् । ‘आम्दानी कति भयो भनेर लेख्ने गरेकी त छैन, एक सिजनमा डेढ लाख जति त हुन्छ नै’, उनले भनिन् ।

दुर्गाको परिवारमा सासू, श्रीमान र दुई छोराछोरी छन् । उनले पनि तीन ओटा समूहमा बचत गर्ने गरेकी छिन् । कमै जमिनमा तरकारीखेती गर्ने गरेको भएपनि घर खर्च एकदमै सहज भएको उनी बताउँछिन् । ‘अरु आम्दानीको स्रोत केही छैन, बुढा पनि बिरामी भइराख्नुहुन्छ, कहिलेकसो जानुहुन्छ काममा, यही तरकारीखेती गरेरै घर खर्च चलिराछ, बच्चाहरुको स्कुलको खर्च सबै यसैबाट भइराछ’, उनी भन्छिन्, ‘दुई/तीन ओटा समूहमा बचत पनि गर्ने गरेकी छुँ, आज (बिहीवार) बिहान मात्रै ११ सयको टमाटर बेचेर आएँ ।’

उनले आफूले अत्तरिया बजारमा बेच्न लगेको टमाटर एक पटक विषादी परीक्षण गर्दा विषादीयुक्त नपाइएपछि अहिले बास्कोटाको तरकारी भन्ने बितिकै नामैले पनि बेचिने गरेको बताइन् । ‘मैले बोकासी मल बनाएर हाल्ने गरेकी छुँ, अरु मल किनेर हाल्ने गरेकी छैन, बिना विषादीको भनेर किन्न रुचाउँदा रहेछन्, यो स्वास्थ्यका लागि पनि राम्रो रहेछ’, उनले भनिन्, ‘मैले त नगरपालिका अनि अरु संस्थाले दिएका तालिमबाट थाहा पाएँ ।’

यसरी थोरै जमिनमा खेती गरी परिवार चलाइरहेका कविता र दुर्गाले अन्य कम जमिन भएका कृषकहरुलाई पनि थोरै जमिनबाट पनि आम्दानी लिई सहजै परिवार धान्न र बचत समेत गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।















