खाेज्नुहाेस

भारतबाट घरमै मुर्रा भैँसी पुर्‍याइदिने भन्दै ठगी

Image

अत्तरिया – भारतले नेपाललाई उपहारमा दिएपछि चर्चामा आएका मुर्रा भैँसी अहिले नेपालीलाई ठग्ने माध्यम बनेका छन् । नौ महिना अघि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा उपहारमा मुर्रा भैँसी पाएपछि त्यसको निकै चर्चा भएको थियो । धेरै पशुपालन किसानको मुर्रा भैँसीप्रति चासो बढेको थियो । त्यसैको फाइदा उठाउँदै अहिले एउटा गिरोह भारतबाट मुर्रा भैँसी नेपालमा घरसम्म होम डेलिभरी गरिदिने भन्दै ठगी गर्न सक्रिय भएको छ । ठगीको सिकार कैलालीको चौमालाका एक किसान भएका छन् । ती किसानलाई भारतको राजिस्थानबाट घरमै २ वटा मुर्रा भैँसी पु¥याइदिने भन्दै १ लाख २० हजार ठगी गरिएको हो ।

सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै नाम खुलाउन नचाहेका उनले सामाजिक सञ्जाल फेसबुकमा ६५ हजारमा घरमै मुर्रा भैँसी पु¥याइदिने आश्वासनमा पर्दा आफू ठगिएको बताएका छन् । भिडियो कलबाटै भैँसी देखाएर, सरकारी कागजात र आफ्ना सबै परिचय पत्र पनि देखाएपछि विक्रेतामाथि विश्वास गरेका उनलाई सुरमा घरमै भैँसी पुगेपछि मात्रै पैसा लिने प्रलोभनमा पारिएको थियो ।

attariya hospital

घरमै भैँसी पुगेपछि एक हप्ता सम्म भनेअनुसार दूध दिएपछि मात्रै पैसा दिन भनेर सहमति गरेका उनलाई पछि भैँसी ढुवानीका क्रममा बाटोमा समस्या भयो भन्दै पैसा ठगी गरिएको थियो ।

यसरी पारियो प्रलोभनमा

एक साता अघि चौमालामा ती किसानले फेसबुकमा ‘गाई भैँसी पालन सम्बन्धी सम्पूर्ण जानकारी’ नाम गरिएको ग्रुपमा सत्य नारायण ढकालले पोस्ट गरेको मुर्रा भैँसी विक्रीको विज्ञापन देखेका थिए । जसमा १६ लिटर दूध दिने भैँसी ६५ हजारमा नेपाल भरी होम डेलिभरी गरिने लेखिएको थियो ।

उक्त विज्ञापनमा वड्सअप नम्बर भने भारतीय राखिएको थियो । उक्त नम्बरमा फोन गरेपछि शनिवार सम्म घरमै २ वटा भैँसी पु¥याइदिने र भैँसीले भनेअनुसार दूध दिएपछि मात्रै पैसा लिने भनियो ।

navjiwan hospital

‘सुरुमा फोन गर्दा उनीहरूले सरकारबाटै ट्रान्सपोर्ट गर्ने कागजात बनाएर घरसम्मै भैँसी पु¥याइदिने भनेका थिए । त्यसपछि २ वटा भैँसीको भिडियो पनि पठाए’ उनले भने ‘पैसा घर पुगेपछि दिनुहोला अहिले पर्दैन भने । एक हप्ता सम्म दूध दिएन भने पैसा नदिनु होला हामी ठग होइनौ भनेपछि विश्वास लाग्यो ।’ कुराकानीका क्रममा जय प्रकाश जाट नाम बताएका ति व्यक्तिले भारतको जयपुर राजस्थान ठेगाना भएको भारतीय आधार कार्ड र भोटर कार्ड पनि पठाएका थिए भने उनले ढुवानीका लागि कागजात बनाउने भन्दै भैँसी किन्ने किसानलाई नागरिकता र फोटो मागेका थिए ।

२ वटा भैँसी किन्ने सुनिश्चित भएपछि भने जाटले ट्रान्सपोटेसनका लागि भन्दै ढुवानी गर्न आवश्यक सरकारी कागजातको फोटो देखाएर सुरुमा १० हजार माग गरे । ‘मेरो फोटो टाँसिएको ढुवानी अनुमतिको सरकारी कागज पठाएपछि भिडियो कल गरेर भैँसी गाडीमा लोड गरेको पनि देखाए’ ठगिएका ती किसानले भने ‘विश्वास लागेर १० हजार पठाए ।’

पैसा पठाएपछि पनि हरियाणा, दिल्ली पुग्यौ भनेर फोन गरिरहेका जाटले बरेलीमा पुगेपछि भने गाडीमा जिपिएस बन्द भएकाले तत्काल अगाडि आउन २५ हजार ५ सय पठाउनु पर्छ भने । ‘बाटोबाट ठाउँ ठाउँमा फोन गरिरहेकाले भैँसी घरमा पुगिरहेको बेला दिनै पर्ने पैसा हो सोचेर भारतबाटै आफन्तलाई त्यसको ‘फोन पे’ एकाउन्टमा २५ हजार र ५ सय पठाए’ उनले भने ‘तपाई पण्डित जी लाई किन ठगौला भने । अलि अलि मनमा आशङ्का लागे पनि विश्वास गरिहाले ।’ २५ हजार ५ सय पठाएपछि भने उनले अर्को बखेडा भिके । ‘मैले पैसा पठाइदिन भनेका मान्छेले २५ हजार र ५ सय गरी २ पटक पैसा पठाएका रहेछन् । उसले (जाट) ले यसरी पठाउने होइन २५ हजार ५ सय एकैचोटी ट्रान्सफर गरे मात्रै सिस्टम (जिपिएस) खुल्छ । त्यसको अफिस मुम्बइमा हुन्छ भने’ उनले भने ‘यसअघि पठाएको पैसा फिर्ता गरेर पठाउँछु भन्दा सिस्टममा पैसा गइसकेकाले एकमुष्ट २५ हजार ५ सय पठाउँदा पुरानो पैसा आफै फिर्ता हुन्छ भनेपछि पुनः भारतबाट आफन्तलाई २५ हजार ५ सय पठाउन लगाए ।’

ठगिएका किसानका अनुसार पैसा पठाएपछि भने जाटले फेरी सिस्टमले सो नगरेकाले पुनः ३० हजार ९९९ पठाउँदा जाटले रिटर्न ५६ हजार ९९९ आउने बताएका थिए । त्यसपछि भने झस्किएका उनलाई जाटले भिडियो कल गरेर सरकारी कार्यालयमा गएर सरकारी कर्मचारी हुन भन्दै कुरा गराएका थिए । ‘सरकारी कर्मचारी भनी देखाइएकाहरूले पनि तपाई ठगिनु भएको होइन भन्दै सम्झाए । सरकारी काममा अगाडि सम्म जिपिएस खुलेन भने भैँसी बाटोमै रोकिने सम्भावना हुन्छ भने’ उनले भने ‘एकातिर ठगिएको जस्तो पनि लागिरहेको थियो । अर्कोतिर उनीहरूको कुरा अविश्वास गर्ने जस्तो लागेन । सबै कुरा भिडियो कलमा देखाइरहेका थिए ।’ उनले भने विश्वास लागेर त्यसपछि पनि पैसा पठाए ।
पैसा पठाएपछि शनिवार भैँसी बनकट्टामा पुगेको र, आधा घण्टामा कैलालीको गैरीफन्टामा नाकामा पुग्न भनेको उनले बताए । ‘नेपालमा फोन नलाग्ने भएकाले वर्डरमै आउन भनेका थिए’ उनले भने ‘दिनभरि गौरीफन्टामा बसे, त्यसपछि न फोन आयो, न भैँसी ।’

उनले ठगिएको लागेर भारतीय प्रहरीलाई खबर गर्दा प्रहरीले नै ठग हुन भनेपछि छाँगाबाट खसेजस्तो भएको बताए । उनले त्यसपछि सोही किसिमको अर्को फेसबुक पोस्टमा भेटिएको नम्बरमा फोन गर्दा पनि पहिले पठाएकै भैँसीका फोटो भिडियो र कागजात पठाएपछि आफू अचम्ममा परेको बताए ।

उनले आफूजस्तै अरू नठगिउन् भनेर नेपाल प्रहरीमा खबर गरेपनि प्रहरीले वास्ता नगरेको बताए । ‘प्रहरीले निवेदन लेख्न त लेख्नुस तर, तिनीहरू त्यस्तै फ्रड हुन । भेटिन सम्भव छैन भनेर पठाए’ उनले भने ‘अन्त कता उजुरी गर्ने थाहा छैन ।’ उनले पैसा भने भारतको जयपुर र मुरादावादमा बस्ने आफन्त सँग सापटी मागेर ‘फोन पे’ मा पठाइएको बताए । उनले भारतमै गएर भारतीय प्रहरीमा उजुरी दिन खोजेपनि त्यसरी पनि ठगी गर्ने नभेटिए झन् खर्च र झमेला हुने भन्दै चुप लाग्नुपर्ने बाध्यता रहेको बताए ।

यता इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले भने चौमालाका किसान ठगिएको गुनासो लिएर कार्यालय आए पनि उक्त घटनामा अनुसन्धान गर्न जटिल रहेको बताए । नेपालबाट नेपालमै वा नेपालबाट भारतमा पैसा पठाएर ठगी गरिएको घटना आइरहने भए पनि भारतबाट भारतमै पैसा पठाएर नेपालीलाई ठगेको घटना भने पहिलो पटक आएको बताए । उनले भारतबाट भारतमै पैसा ट्रान्सफर भएकाले नेपालबाट अनुसन्धान गर्न समस्या हुने बताए ।