खाेज्नुहाेस

सुदूरपश्चिममा मातृमृत्यु डरलाग्दो, १३ गर्भवती तथा सुत्केरीको मृत्यु

Image

अत्तरिया- सुदूरपश्चिममा मातृमृत्युको अवस्था भयावह देखिएको छ । प्रदेशमा चालु आर्थिक वर्षमा मात्रै १३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा २ जना गर्भवतीको मृत्यु भएको छ । सुत्केरीपश्चात ५ जनाको मृत्यु भएको छ भने सुत्केरी अवधिमा एक जनाको मृत्यु भएको छ । संस्थामा हुने मातृमृत्यु संख्या ५ जना रहेको छ । जसमा कञ्चनपुर, डोटी, बैतडी, बझाङ र बाजुराका एक/एक जना रहेका छन् ।

add everest academy
attariya hospital

आर्थिक वर्ष २०७८/०७९ मा मातृमृत्यु संख्या २१ जना छ भने २०७९/०८० मा यो संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्षमा २५ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/०७९ मा मातृमृत्यु संख्या सबैभन्दा बढी कैलालीमा छ । जिल्लामा सो अवधिमा ६ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ ।

त्यसपछि बैतडी र अछाममा ज्यान गुमाउने गर्भवती तथा सुत्केरीको संख्या धेरै छ । यी दुवै जिल्लामा ४/४ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा पनि तीन जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । डोटीमा दुई जना र बझाङ, दार्चुलामा एक/एक जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । प्रदेशका दुई जिल्ला डडेल्धुरा र बाजुरामा भने यो अवधिमा मातृमृत्यु शून्य छ ।

navjiwan hospital

गत आर्थिक वर्षमा मातृमृत्यु संख्या झनै बढेको तथ्याङ्कले देखाएको छ । प्रदेशभर २५ जना गर्भवती तथा सुत्केरीको मृत्यु हुँदा कैलालीमा मात्रै १५ जनाको ज्यान गएको छ । त्यसपछि डोटी र बाजुरामा ज्यान गुमाउने गर्भवती तथा सुत्केरीको संख्या धेरै छ । दुवै जिल्लामा तीन/तीन जनाको मृत्यु भएको छ । डडेल्धुरामा दुई, दार्चुला र बझाङमा एक/एक जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । प्रदेशका तीन जिल्लामा उक्त अवधिमा मातृमृत्यु संख्या शून्य छ । कञ्चनपुर, बैतडी र अछाममा मातृमृत्यु संख्या शून्य रहेको हो ।

attariya technical collage

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा.जगदीश जोशीले कैलालीमा अन्य जिल्लाभन्दा बढी जनसंख्या हुनु, दुई पालिकाका पहाडी भूभाग विकट हुनु, स्वास्थ्यकर्मीको समस्या रहेको र बिरामीको अत्यधिक चापले निम्त्याउने बेड नपाइने र भने जति डाक्टर नहुनु जस्ता समस्याले जिल्लामा झनै बढी मातृमृत्यु देखिएको बताए ।

उनले प्रदेशमा मातृमुत्युदर पहिलेको तुलनामा अहिले कम हुँदै गइरहेको बताए । ‘सुदूरपश्चिम प्रदेशमा मातृमृत्युदरलाई हेर्ने हो भने पहिलेको तुलनामा अहिले चाहिँ घट्दै गएको छ, त्यसमा प्रतिलाख हाम्रो अहिलेको अवस्था भनेको १३० को अवस्थामा पुग्या छौँ, यो दिगो विकास लक्ष्यलाई आधार मान्ने हो भने हाम्रो लक्ष्य चाहिँ २०३० सम्ममा ७० मा झार्ने हो’, उनले भने ।

उनले मातृमृत्युका विभिन्न कारण दर्साउँदै गर्भवती महिलामा चेतनाको कमीका कारणले पनि ज्यान जाने गरेको बताए । ‘गर्भवती महिलामा अस्पताल तथा स्वास्थ्य संस्थाहरु कुन ठाउँमा छन्, स्वास्थ्य संस्थामा जानुपर्छ, चेकजाँच गराउनुपर्छ भन्ने चेतना आउन जरुरी छ, वहाँहरु स्वयं जागरुक हुन जरुरी छ’, उनले भने, ‘अर्को कुरा वहाँहरुलाई यो सबै कुरा थाहा हुँदाहुँदै पनि भौगोलिक विकटता, सडक यातायातको असुविधा आदिका कारण पनि मृत्यु भइरहेको हुन्छ ।’

त्यसैगरी स्वास्थ्य संस्थाले समयमै उचित निर्णय दिन नसक्दा पनि गर्भवतीको ज्यान जाने गरेको उनी बताउँछन् । ‘स्वास्थ्य संस्थामा पुगिसकेकी महिलालाई सकिने अवस्था छ भने डेलिभरी गराइनुपर्‍यो, नसकिने छ भने त्यहाँबाट समयमै रिफर गर्नुपर्‍यो’, उनले भने । सरकारले गुणस्तरीय सेवा दिनका लागि अस्पतालहरुका भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने, गुणस्तरीय स्वास्थ्य संस्था, पर्याप्त संख्यामा दक्ष जनशक्ति, आवश्यक उपकरणको व्यवस्था हुन जरुरी रहेको उनी बताउँछन् ।