अत्तरिया – श्वास रहुन्जेल मानिसको मुटु आफ्नै गतिमा दिनरात चलिरहन्छ । तर, त्यही मुटुमा समस्या देखियो भने मुटुकै गति सँगै पीडा पनि भइरहने भयो । यस्तै नियतिको सिका भएकी छिन कैलालीको गोदावरी नगरपालिका – २ की ३६ वर्षीय कमला विष्ट । त्यो पनि एक दुई दिन/एक दुई महिना होइन ३ वर्षदेखि । मुटुको ढुकढुकी सँगै मुटुमा हुने पीडाले उनी चिच्याउन्छिन, कराउन्छिन, तड्फिरहन्छिन । तर, उनले अझै पीडाबाट मुक्ति पाउने ओखती पाएकी छैनन् ।

सानो टहरामा श्रीमान् र छोरीसङै बस्दै आएकी कमला उपचारका लागि अस्पताल नधाएकी होइनन् । अत्तरियामा धनगढी हुँदै नेपालगन्ज सम्मका अस्पतालमा उपचारका लागि पुगिन । तर, उनको गम्भीर मुटुको समस्याको पूर्ण निदान ती अस्पतालको औषधीले भएन । २०७७ चैत्र १४ गते भेरी अस्पताल पुगेकी उनलाई अस्पताले काठमाण्डौंमा रहको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गएर अपरेसन गर्न सुझाएको भए पनि उनको आर्थिक अवस्थाले अझै त्यो सम्भव हुन सकेको छैन ।
नेपालगन्ज पुग्नु अघि नै ठूलो रकम उपचारमा खर्च गरिसकेकी उनले थप उपचारका लागि अढाई लाख खर्च हुने भनेपछि काठमाण्डौं जाने आट गर्न सकिनन् । औषधीले नै निको हुन्छ की भन्ने आशै आसमा बसेकी उनको समस्या झन्–झन् बढ्दै गएको छ ।
उनका श्रीमान् पनि एकातिर हिँडिरहने, बेवास्ता गर्दा उनी अहिले परिवारबाट सहारा विहीन पनि बनेकी छिन । वडा कार्यालयले २०७७ सालमै दिएको सहयोगको सिफारिस पत्रका आधारमा छिमेकीले सङ्कलन गरिदिएको सहयोग रकमबाट औषधी किनेर उनको श्वास चलेको छ । काठमाण्डौंमा अपरेसन गर्न जानका लागि रकम नजुट्दा उनी १ वर्ष अघि नै डाक्टरले सिफारिस गरेको औषधी किनेर खाइरहेकी भए पनि त्यसले पनि काम गर्न छोड्दा अहिले बोल्नै नसक्ने अवस्थामा छटपटाइ रहेकी छिन् ।


छिमेकी जुना खड्काले बिरामी भएर छटपटाइरहेकी कमलाको उपचारका लागि सहयोग गरिदिन आग्रह गरिन् । ‘अहिले सम्म छिमेकीको नाताले हामीले नै हेरिरहेका छौ । लोग्ने पनि बिरामी छु भन्छन् । कता हुन्छन् थाहा हुँदैन । छोरी सानी छ’ उनले भनिन् ‘अलि सहयोग जुटाएर अपरेसन गर्न पाए राम्रो हुन्थ्यो ।’
उनले ३ वर्ष अघि नै डाक्टरले गङ्गालाल अस्पतालमा अपरेसन गर्न भने पनि आर्थिक अवस्था कमजोर हुँदा अझै जान नसकेको बताइन् । उनले औषधी बिना बाच्नै नसक्ने अवस्था भएकाले आफूहरूले चन्दा उठाएर मासिक रूपमा औषधी किनिदिने गरेको बताइन् ।
स्थानीय कुन्ती देवी विष्टले बिरामी भएदेखि नै चन्दा उठाएर उपचार गराउँदै आएको भए पनि अपरेसन गर्ने भनेपछि रकम जुटाउन नसक्दा घरमै थन्किएको बताइन् । ‘सुरुमा अत्तरिया धनगढीका अस्पतालमा लगेका थियौ । यताका अस्पतालले नसक्ने भनेपछि भेरीमा पठायो । पैसा नभएपछि हामी सबैले चन्दा उठाएर उपचार गरायौँ’ उनले भनिन् ‘चन्दा उठाउँदै दिँदै गयौ । पछि अपरेसन हुने भनेपछि एकमुष्ट पैसा भएन । अपरेसन गर्न सकिएन ।
अहिले पैसा पाएपछि धनगढीबाट औषधी ल्याउँदै खुवाउँदै गरिरहेका छौ ।’ उनले तिन दिन अघि पनि ५ जनाबाट चन्दा उठाएर धनगढीबाट औषधी ल्याएको बताइन् । उनले हाल एक वर्ष अघि नै धनगढीको सिभिल अस्पतालका डाक्टरले लेखिदिएको प्रेष्कृष्शनका आधारमा औषधी किनेर खाइरहेकी छिन् ।
अहिले औषधीले पनि काम नगर्दा उनी मुटुको दुखाइले छटपटाइरहेकी छिन । उनी हाल बोल्न सक्ने अवस्थामा पनि नभएकाले छिमेकीले सहयोग गरिदिन हारगुहार गर्दै आएका छन् ।



















