अत्तरिया – गोदावरी नगरपालिका मातहत रहेको कैलालीको मालाखेती अस्पतालमा एमडी डाक्टर ल्याउने घोषणा अझै कार्यान्वयन हुन सकेको छैन । अस्पतालका कार्यरत एमडीजीपी डाक्टरको सेवा अवधि सकिएर नयाँ एमडी डाक्टर ल्याउने घोषणा गरिएपनि उक्त घोषणा घोषणामै सीमित बन्न पुगेको छ । अस्पतालमा डेढ वर्ष सेवा गरेका एमडीजीपी डाक्टर अन्वेष कोइराला ४ महिना अघि सेवा अवधि सकिएर गएका थिए ।
अस्पतालबाट एमडीजीपी डाक्टर गएपछि नगरप्रमुख बिरेन्द्र भट्टले मंसिर १९ गते आयोजित एक कार्यक्रममा एमडी डाक्टर ल्याउने तयारी गरिएको जनाएका थिए । एमडीजीपी डाक्टर हुँदा अस्पतालको सेवामा धेरै सुधार आएकाले अब त्यसलाई निरन्तरता दिन सोही स्तरको डाक्टर आवश्यक रहेकाले महाकाली अस्पतालमा कार्यरत एमडी डाक्टर ल्याउने तयारी भइरहेको बताएका मेयर भट्टको बोली ३ महिना बित्नै लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।


मालाखेती अस्पतालमा एमडीजीपी डाक्टरको कार्यकाल सकिएपछि हाल एमबीबीएस डाक्टरले सेवा दिदै आएका छन । अस्पतालमा हाल सामान्य ओपीडी सेवा सञ्चालनमा रहेको भएपनि विशेषज्ञ डाक्टर नहुँदा लाखौं रकम खर्चेर विस्तार गरिएका ओटी, इन्डोर सेवा भने ठप्प रहेका छन ।
अस्पतालका अध्यक्ष नर बहादुर मौनीले महाकाली अस्पतालबाट डाक्टर ल्याउने च्याप्टर क्लोज भएको बताए । उनले फागुन पहिलो साता प्युठानमा कार्यरत धनगढीकै एक जना गाइनोलोजिस्ट डाक्टरलाई ल्याउने तयारी गरिएको भएपनि मन्त्रालयले अन्तै सरुवा गर्दा समस्या भएको बताए । उनले हाल ति डाक्टरलाई मनाङ पठाइएको बताए ।
अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनेको लागि पहल जारी रहेको जनाइएपनि अझै त्यसको सुनिश्चितता भने हुन सकेको छैन ।
अस्पतालमा भएको भौतिक पूर्वाधार अनुसार हाल दुई जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने भएपनि नगरपालिकाले एक जना पनि परिपूर्ति गर्न सकेको छैन । जसले गर्दा अस्पतालको स्तर झन झन खस्कदो अवस्थामा रहेको छ ।
अस्पतालमा अपरेशन, इन्डोर सेवाका लागि पूर्वाधार तयार भएपनि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा भने बन्द भएर हाल अस्पतालले बिरामीलाई ओपीडी सेवा मात्रै दिइरहेको छ ।

















