खाेज्नुहाेस

अत्तरियाका गल्लीको प्रवेशद्वारमै ठेला राखिँदा आवतजावतमा समस्या

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारका मुख्य गल्लीको प्रवेशद्वारमै ठेला राखिँदा आवतजावतमा समस्या हुन थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा ठेला राख्न रोक लगाएको समयमा गल्लीको प्रवेशद्धारमै ठेला राखिँदा आवतजावतमा समस्या हुन थालेको हो । नगरपालिकाले बिहान ८ बजे देखि साझा ५ बजे सम्म बजार क्षेत्रमा ठेला राख्न रोक लगाएको छ । सो समयमा अत्तरिया बसपार्कको उत्तरपट्टि ठेला राख्ने ठाउँ तोकिएको छ । ठेला व्यवस्थापनको लागि नगरपालिकाले नियम बनाएपनि नियमित अनुगमन नगर्दा बजार क्षेत्रमा जताजतै ठेला राख्न थालिएको छ ।

गल्लीको प्रवेशद्वारमा ठेला राख्दा आवतजावतमा समस्या हुने गरेको स्थानीय खेमराज सापकोटाले बताए । अत्तरियाको वाणिज्य गल्लीमा बस्दै आएका उनले गल्लीको प्रवेशद्वारमै ठेला राखिँदा प्रवेश गर्न निकै समस्या हुने गरेको बताए । ‘सडक बैंकका सवारीसाधनले प्याक भएको हुन्छ । त्यसैमा दुईतिर ठेला राखेर बाटो अवरोध गरेर एक बाइक जाने पनि ५/१० मिनेट समय लाग्छ’ उनले भने ‘दुर्घटनाको जोखिम पनि उतिकै छ । केही भन्यो भने सवाल जवाफ मात्रै गर्छन । तेरो बाउको हो र भन्छन् ।’

attariya hospital

उनले नगरपालिकाले ठेला बसपार्कमा राख्ने भनेपनि कसैले नटेर्ने गरेको बताए । अत्तरियाका सबै गल्लीमा अहिले उस्तै समस्या रहेको उनले बताए । स्थानीय कृष्ण ओझाले साँघुरा गल्लीमा व्यवसाय गर्नेहरूले आफ्ना सामान राख्दा समस्या हुने गरेको बताए । ‘सटर भित्र व्यापार गर्दा समस्या भएन । रोडमा लिएर मानिसलाई आउने जाने बन्द गर्दै व्यापार गर्नु अरुलाई दुःख दिनु हो’ उनले भने ‘बाटो सबैको भएकाले त्यसमा व्यवसायीले ध्यान दिनुपर्छ ।’

navjiwan hospital

अत्तरियाको बरपिपल गल्लीमा १४ वर्ष देखि व्यवसाय गर्दै आएका जनक राज भट्टराईले साँझ ५ बजे पनि बजारमा ठेला राख्न दिने नियम उचित नभएको बताए । उनले यसरी ठेला राखिँदा आवतजावत गर्न नै समस्या हुने गरेको बताए । उनले दिउँसो गल्लीमा राखिने ठेलाहरुले पनि निकै समस्या भएको बताए । ‘गल्लीमा ठेला राख्नेलाई हटाउन भन्न स्थानीयले डराउने अवस्था छ’ उनले भने ‘पीडा सबैलाई छ ।’ उनले गल्लीमा राखिएका ठेलालाई तोकिएको ठाउँमा राख्न नगरपालिकाले तदारुकता देखाउनु पर्ने बताए ।

अत्तरिया बजारमा लामो समय देखि ठेला व्यवस्थापनको आवाज उठ्दै आएको छ । ठेला व्यवस्थापनकै मुद्दा चुनावी एजेण्डा समेत बन्ने गरेको छ । पटक पटक ठेला व्यवस्थापनको प्रयास गरिएपनि त्यो दीर्घकालिक भने हुन सकेको छैन । नगरपालिका केही दिन तात्तिने र पछि सेलाउने गर्दा समस्या पुनः बल्झिने गरेको छ । पछिल्लो पटक नगरपालिकाले बजार क्षेत्रमा निश्चित समयमा मात्रै ठेला राख्न दिने र बाँकी समय अत्तरियाको बसपार्क र पूर्व रोडको ट्राफिक पोष्ट अगाडिको क्षेत्रमा मात्रै ठेला दिने निर्णय गरेको थियो । उक्त नियम केही दिन कार्यान्वयनमा आएपनि पुनः बजार ठेलाले अस्तव्यस्त बन्न थालेको छ ।

भिडियो