खाेज्नुहाेस

गोदावरीमा अझै सुरु भएन स्ट्रिट लाइट जडानको काम

Image

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्र्तगत कैलालीको गोदावरी नगरक्षेत्रमा अझै स्ट्रिट लाइट जडानको काम सुरु हुन सकेको छैन । माघ देखि लाइट जडानको काम सुरु गर्ने भनिएपनि उक्त काम अझै सुरु हुन नसकेको हो । ६ लेन सडकमा स्ट्रिट लाइट जडानका लागि नगरपालिकाले यही असार २१ गते नेपाल विद्युत् प्राधिकरणलाई ९८ लाख २८ हजार २०० रुपैयाँ भुक्तानी गरिसकेको छ । तर, विद्युत जडानको प्रकृया भने सुरु हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौले विद्युत जडानका लागि आवश्यक प्रकृयाहरू पुरा गरिरहेको जनाएको छ । आयोजनाका मेनेजर प्रमोद रिजालले विद्युतको जडानका लागि दुई खण्डमा टेन्डर गरिएकाले ढिलाई भएको बताए । उनले पोलको लागि र लाइटको पार्टको अलग अलग टेन्डर आह्वान गरिएको बताए । ‘हामीले दुई चरणमा टेन्डर खोलेका छौ, पहिलो चरणमा पोलको लागि टेन्डर खोलेर त्यसको अब झण्डै एक हप्ता भित्र टेक्निकल ईभाल्युयशन (मुल्यांकन) सकिन्छ होला’ उनले भने ‘लाइटको पार्टको पनि टेन्डर भैसकेको छ, त्यसको पनि टेक्निकल ईभाल्युयशन चलिरहेको छ ।’ उनले पोलका लागि केही अगाडि टेन्डर गरिएको भएकाले त्यसको मूल्यांकन छिटो सकिएपनि लाइटको पार्टका लागि भने अझै एक महिना जति समय लाग्न सक्ने बताए ।

add everest academy
attariya hospital

आयोजना प्रमुख रिजालले पोलको टेक्निकल मूल्यांकन सकिएसँगै त्यसको आर्थिक मूल्यांकन पनि गरिने बताए । त्यसपश्चात् लाइटको पनि टेक्निकल मूल्यांकन सकेर आर्थिक मूल्यांकन गरिने उनले बताए । उनले पोलको मूल्यांकन सकिएपछि २ महिना जति निर्माणको लागि समय लाग्ने बताए । उनले त्यसपश्चात् जडानको प्रकृया सुरु हुने बताए ।

‘ठेकेदार छनौट भैसकेपछि मात्रै निर्माणको प्रकृयामा जाने हो, अहिले ठेकेदार छनौट भैरहेको छ’ उनले भने ‘पोलको त लगभग टुंगिने चरणमा छ तर लाइटको भरखरै टेन्डर खोलिएको भएकाले केही समय अझै लाग्न सक्छ ।’ उनका अनुसार पोल सप्लाइ गर्ने र लाइट जडान गर्ने कार्य फरक फरक कम्पनीले गर्ने गरी टेन्डर आह्वान हुने गर्दछ । उनले पोलको सप्लाइ गर्ने टेन्डरको काम लगभग अन्तिम चरणमा पुगिसकेकाले अबको केही दिन भित्रै पोल अप्लाईको काम हुने बताए । ‘अबको करिब २ महिना पछि चाँहि मूल्यांकनको काम सकेर एग्रिमेन्ट गरिसक्छौ भन्ने छ’ उनले भने ‘त्यसमा फेरि मूल्याङ्कनमा चित्त नबुझेर कसैले उजुरी गरे समय थपिन सक्छ ।’ उनले टेन्डर भर्ने ठेकेदार कम्पनीहरूले आफूलाई मूल्यांकन चित्त नबुझेमा उजुरी गर्न सक्ने हुँदा त्यसो नभएको खण्डमा भने कामका लागि बढी समय नलाग्ने बताए ।

navjiwan hospital

प्राधिकरणले आयोजना अन्र्तगत देशका २२ वटा पालिकाहरूको एकमुष्ट टेन्डर आह्वान गरेको छ । यसअघि केही पालिकाहरूले रकम पठाउनमा ढिलाई गरेका कारण टेन्डरमा जान ढिला भएको भएपनि अब भने आयोजनाले टेन्डर प्रकृयामा समय लागेको जनाएको छ । यसअघि माघदेखि सुरु हुने भनिएको निर्माणको कार्य टेन्डर प्रकृयाकै कारण २ महिना पछाडि सरेको बताईएको छ । यसअघि माघ देखि सुरु हुने भनिएको स्ट्रिट लाइट जडानको काम अब भने वैशाख देखि सुरु हुने जनाइएको छ ।

attariya technical collage

नगरपालिकाको फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाइट जडान गर्ने निर्णय गरेको थियो । जसका लागि नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गर्ने बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ अनुमानित लागतमा ६ लेन सडकमा स्ट्रिट लाइट जडानका लागि सम्झौता गरेको छ । सडक बत्ती जडानमा नगरको ६५ र सडक बत्ती प्रर्वद्धन आयोजनाको ३५ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख गरिएको छ । उक्त अनुमानित लागत मध्ये नगरपालिकाले पहिलो चरण वाफतको रकम विद्युत प्राधिकरणलाई बुझाइसकेको र बाँकी रकम बुझाउन बाँकी रहेको आयोजना प्रमुख रिजालले बताएका छन । उनका अनुसार नगरले लाइटका लागि आवश्यक मध्ये करिब ५० प्रतिशत रकम बुझाएको हो । बाँकी रहेको रकम काम भैसकेपश्चात नगरपालिकाले दिनुपर्ने उनले बताए । रिजालका अनुसार विद्युत जडान गरिसकेपश्चात् त्यसको बिलिङ्गको कार्य पनि नगरपालिका आफैले गर्नुपर्ने छ ।

पछिल्लो समय छाडा पशुचौपायाको संख्या बढी हुनु र सडक बत्ती नहुनाले दुर्घटनाका घटनाहरू बढ्दै गइरहेका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढ्ने स्थानीयहरुको भनाई रहेको छ । सेन्सर युक्त उक्त सडक बत्तीहरू राती परेपछि आफै बल्ने र उज्यालो भएपछि आफै निभ्ने किसिमका समेत रहेका छन ।

भिडियो