खाेज्नुहाेस

जब डुब्नै लागेको सहकारी उत्कृष्ट भएर निस्कियो…

Image

अत्तरिया – नेपालमा सहकारीको इतिहास हेर्ने हो भने एकपटक डुबिसकेको सहकारी पुनः उठ्न सकेको छैन । सदस्यहरुको रकम हिनामिना गरी सहकारीलाई एक पटक डुबाईसकेपछि पुनः सो सहकारीलाई सदस्यहरुले विस्वास गरेको देखिदैन । तर कैलालीको अत्तरियामा रहेको अपि सैपाल सहकारी भने पुनः उठ्ने मात्रै नभई उत्कृष्ट सहकारीका रुपमा सम्मानित समेत भयो ।

कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी वि.सं. २०६६ सालमा स्थापना भएको हो । २६ जना स्थानिय युवाहरुको टिम मिलेर प्रतिव्यक्ति २५ हजारका दरले जम्मा गरी सञ्चालनमा ल्याईएको उक्त सहकारी अकस्मात तल झर्न पुग्यो । सहकारीकै कुनै जिम्मेवार व्यक्तिले सहकारीमा जम्मा भएको रकम आफुले चलाउँदा संस्था घाटामा जान थालेपछि आफुहरुले खोजी गर्दा समस्या पत्ता लागेको सहकारीका संस्थापक अध्यक्ष मेघराज भट्टले बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले सञ्चालक समितिले त्यसको बारेमा जानकारी पाएपछि करिब ६० लाख रुपैया असुल उपर गरेको बताए । उनले सहकारीलाई माथि उकास्न सञ्चालक समितिहरु नै बलियो बन्नुपर्ने बताए । उनले गोदावरी नगरक्षेत्रमा सबैभन्दा पहिलो सहकारीका रुपमा अपि सैपाल बचत तथा ऋण सहकारी सञ्चालनमा आएको बताए । उनले एउटा व्यक्तिको गल्तीका कारण डुब्नै लागेको सहकारीलाई माथी उकास्न धेरै मेहनत गर्नुपरेको समेत बताए ।

संस्थाका वर्तमान अध्यक्ष बसन्त रोकाया (ललित) ले मान्छेमा सहकारीको कारणले त्रास पैदा हुने अवस्था आएको बताए । उनले देशकै आर्थिक अवस्था नाजुक हुँदा र विभिन्न सहकारीहरुले ठगेको खबर आउँदा सदस्यहरु त्रसित हुनु जायज भएको समेत बताए । उनले सहकारीलाई ठग्ने कार्य कार्यसमितिकै पदाधिकारीले गर्ने भएकाले अपि सैपालमा त्यस्तो नहोस भन्नका लागि आफुहरुले फरक नियम लगाएको बताए । ‘सहकारी डुब्ने भनेकै कार्यसमितिका कारणले हो, त्यसैले हामीहरुले कार्यसमितिका पदाधिकारीहरुका नाममा या परिवारका अन्य कुनै पनि सदस्यहरुका नाममा ऋण लिन नपाउने नियम बनाएका छौ’ उनले भने ‘त्यसो हुँदा कुनै पनि कार्यसमितिका पदाधिकारीहरुले सहकारीको रकमको दुरुपयोग गर्न पाउँदैन, सदस्यहरुले ढुक्क भए हुन्छ ।’ उनले सहकारीका कार्यसमितिका पदाधिकारीहरुकै कारण अपि सैपालले नयाँ बाटो पाएको समेत बताए ।

आर्थिक वर्ष २०७४/०७५ तिर एक जनाका कारणले डुब्ने अवस्थामा पुगिसकेको अपि सैपाल त्यसलगत्तै भने तिब्र गतिका साथ उत्कृष्टतिर पुग्न सफल भएको छ । त्यसको करिब ३/४ वर्ष पछि जिल्लाभरमै उत्कृष्ट सहकारीको रुपमा सहकारी सम्मानित भयो ।

attariya technical collage

अपि सैपाललाई जिल्ला सहकारी डिभिजन कार्यालय कैलालीले उत्कृष्ट सहकारीका रुपमा सम्मानित गरेको थियो । कार्यालयले गरेको सर्वेक्षणमा जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा अपि सैपाल पुरस्कृत भएको संस्थाका अध्यक्ष रोकायाले बताए । उनले ४९औ राष्ट्रिय सहकारी दिवशको अवसरमा अपि सैपाललाई नगद र प्रसंसा पत्रले सम्मानित गरिएको बताए । कुनै समय नाजुक अवस्थामा पुग्न लागेको सहकारी कार्यसमितिका पदाधिकारीहरुको जोरबलका कारण सम्मानित बन्न पुगेको उनको भनाई छ ।