अत्तरिया – शिक्षा प्रेमी बीच परिचित नाम हो खान सर । भारतमा विद्यार्थीहरूलाई एकदमै सस्तो शुल्कमा उनले विभिन्न विषयमा शिक्षा प्रदान गर्दै आईरहेका छन । एकदमै न्यून शुल्कमा विद्यालय देखि विभिन्न सरकारी पदवीहरूका लागि लिइने परीक्षाका लागि उनले विद्यार्थीहरूलाई पढाउदै आएका छन । आर्थिक अवस्था एकदमै कमजोर भएका र पढाईको न्यूनतम रकम समेत तिर्न नसक्ने विद्यार्थीहरूलाई भने उनले निःशुल्क रुपमा शिक्षा दिन्छन् । असली नाम फैजल खान भएपनि उनलाई सबैले खान सर भनेर नै चिन्ने गर्दछन् ।
उनलाई फलो गर्दै हिँडेका कैलालीका टेरेन्स साउँदले पनि विद्यार्थीहरूलाई निःशुल्क शिक्षा दिन थालेका छन । खान सरलाई नै प्रेरणा बनाएका उनले कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ट्युसन कक्षा दिइरहेका हुन ।


‘खान सरले जस्तै सबै विषयहरूमा त मैले गरेको छैन’ उनले भने ‘विद्यार्थीहरूलाई माध्यमिक तहमा सबैभन्दा बढी समस्या गर्ने कक्षा १० मा गणित र कक्षा १२ मा अकाउन्ट विषयको चाहि अहिले निःशुल्क ट्युसन कक्षा सञ्चालन भैरहेका छन ।’
उनले आफूले कक्षा १२ को अकाउन्ट विषयको ट्युसन कक्षा सञ्चालन गरेका छन भने कक्षा १० को गणित विषयका लागि उनले शिक्षक राखेका छन । गणित विषयका लागि अत्तरियाकै समिर महरालाई जिम्मेवारी दिएको साउँदले बताए । ‘मैले निःशुल्क रुपमा कक्षा १२ को अकाउन्ट पढाउँछु । कक्षा १० को गणित विषयका लागि भने अर्को सरलाई जिम्मेवारी दिएको छु, उहाँले पढाउनुहुन्छ’ उनले भने ‘उहाँले पढाए वाफतको पारिश्रमिक म उहाँलाई दिन्छु तर विद्यार्थीहरूबाट भने पैसा लिन्न ।’ उनले शिक्षा क्षेत्र बलियो बनाउन युवाहरूले अग्रसर बन्न जरुरी रहेको बताए ।

‘शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने सोच हो, त्यसका लागि युवाहरूले नै केही गर्नुपर्छ भन्ने मान्यता छ’ उनले भने ‘युवाहरू अग्रसर भएनन् भने शिक्षा क्षेत्र बलियो हुन पाउदैन र त्यसले देशलाई पनि कमजोर बनाउँदै लैजान्छ ।’

उनले आधुनिक युगमा सबैभन्दा बढी महत्वपूर्ण रहेको शिक्षा क्षेत्रलाई सर्वसुलभ बनाउन सके अवश्य पनि देशले कोल्टे फेर्ने विश्वास व्यक्त गरे । ‘शिक्षालाई ज्ञानको ज्योति भनिन्छ, शिक्षाले नै मानिसलाई अगाडि बढ्न र आफ्नो खुट्टामा उभिन सिकाउछ’ उनले भने ‘तर यहाँ शिक्षा महँगो भैदिँदा समस्या भएको छ, त्यो अनुसारको आम्दानी हुदैन, अनि कसरी देश समृद्ध बन्छ ।’ उनले शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सके देशलाई समृद्धिको बाटोमा लैजान समय नलाग्ने बताए । उनले आफूले अति विपन्न परिवारका विद्यार्थीहरूको समस्या बुझेर नै निःशुल्क शिक्षाको अवधारणा ल्याएको बताए ।
नेपालको शिक्षा प्रणाली महँगिँदै गएको छ । जसका कारण विपन्न परिवारका बालबालिकाहरूले शिक्षा लिन पाइरहेका छैनन् । शिक्षा प्रणालीकै कारण दूरदराजका सरकारी विद्यालयहरूमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी माथिल्लो तहको शिक्षाका लागि शहर छिर्न सक्दैन ।
साउँदले सरकारको शिक्षा प्रणालीको वास्ता नगरी विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा पु¥याउने गरी काम गरिरहेको बताएका छन । कक्षा १२ को अकाउन्ट विषयको ट्युसन कक्षाका लागि ३ हजार ५ सय देखी ४ हजार सम्म तिर्ने विद्यार्थीहरूले अब निःशुल्क रुपमा ट्युसन लिन पाउने उनको भनाई छ । ‘टाढा टाढा गाउँबाट विद्यार्थीहरू पढ्न आउँछन्, एउटा विषयले उनीहरूको शिक्षाको गतिमा ब्रेक लगाएको हुन्छ’ उनले भने ‘त्यस्ता विद्यार्थीहरूको शिक्षा आर्जन गर्ने बाटोको अवरोध हराउन मैले यो काम गरिरहेको छु ।’ उनले दूरदराजबाट आएका विद्यार्थीहरूसँग ट्युसन पढ्नका लागि समेत रकम नहुने गरेको बताए ।
कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा बस्दै आएका साउँदको सोही वडामा भजनदेवी एकेडेमी नामक बोर्डिङ स्कुल सञ्चालन गरेका छन । उनले सो वडा सहित वडा नं. १०, ११ र १२ का विद्यार्थीहरूलाई आफ्नै विद्यालयमा निःशुल्क ट्युसन कक्षा दिइरहेका छन । उनले भारतका खान सरले जस्तै विद्यार्थीहरूलाई निःशुल्क रुपमा शिक्षा दिई उनीहरुलाई आत्मनिर्भर बनाउने सपना बोकेको बताएका छन ।

















