अत्तरिया– कैलालीको चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मात्रै वार्षिक करोडौँ रकम खर्च गरिरहेको छ । अति संवेदनशील मानिने स्वास्थ्य क्षेत्रमा पालिकाले वार्षिक एक करोडभन्दा बढी रकम छुट्याउँदै आएको छ । चालु आर्थिक वर्षमा पालिकाले १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष पनि एक करोडभन्दा बढी नै बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । गत वर्ष पालिकाले १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकाले विनियोजन गरेको बजेटले स्वास्थ्य केन्द्रहरुमा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न मद्दत मिलेको अध्यक्ष बोगटीले बताए ।
उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई सहज र निःशुल्क बनाउनतिर ध्यान दिएको बताए । ‘प्रत्येक वर्ष पालिकामा स्वास्थ्य क्षेत्रका लागि मात्रै एक करोडभन्दा बढी बजेट विनियोजन गर्दै आएका छौँ’ उनले भने ‘पालिकामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाई सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा पु-याउने काम हामीले गरेका छौँ ।’ उनले पालिकाले स्वास्थ्य सेवालाई निःशुल्क बनाएको समेत बताए । ‘पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुमा औषधी, ओपिडि सेवा लगायत सबै निःशुल्क गरेका छौँ,’ उनले भने ‘त्यतिमात्रै नभई पालिकाबासीलाई सहज एवम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य केन्द्रहरुमा आवश्यक जनशक्तिको समेत व्यवस्थापन गरेका छौँ ।’ उनले पालिकाबाटै सेवासुविधा प्रदान गर्ने गरी करिब ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी भर्ना गरिएको बताए । ‘पुराना तीन ओटा गाविस छँदादेखिकै ३ वटा स्वास्थ्य केन्द्रहरु यहाँ थिए, त्यसमा ६ वटा पालिकाले थपेको छ’ उनले भने ‘ति सबैमा जनशक्तिहरु पछिल्लो समय सबै पालिकाले भर्ना गरेर राखेको छ । उनीहरुलाई आवश्यक सेवा सुविधा पनि पालिकाबाटै दिने गरेका छौँ ।’


चुरेको भुगोल ठुलो भएकाले स्वास्थ्य संस्थाहरुको आवश्यकता बढेको उनको भनाइ छ । ‘चुरेको भुगोल जिल्लाभन्दा पनि ठुलो छ, यहाँ एक ठाउँबाट अर्को ठाउँमा जानका लागि एक दिनभन्दा बढी समय लाग्ने अवस्था समेत छ,’ उनले भने, ‘त्यसैले चुरेमा स्वास्थ्य केन्द्रहरुको महत्व बढेको छ, हामीले स्वास्थ्यमा बढी बजेट विनियोजन गर्नुको कारण पनि त्यही हो ।’ उनले पालिकाका ६ वटै वडाहरुमा स्वास्थ्य केन्द्रहरु राखिएको बताए । त्यसमा पनि कुनै वडाहरुमा आवश्यकताको आधारमा २ वटासम्म स्वास्थ्य केन्द्रहरु राखिएको उनको भनाइ छ ।

उनले आवश्यकताअनुसार प्रायजसो सबै स्थानमा स्वास्थ्य केन्द्रहरु पुगिसकेकाले आगामी दिनमा तिनीहरुको व्यवस्थापनमा ध्यान दिइने बताए । ‘पहिलेको तुलनामा अहिले स्वास्थ्य केन्द्रहरु लगभग पुगेका छन्, प्रत्येक वडामा मात्रै नभई आवश्यकताअनुसार कुनै वडामा २ वटासम्म स्वास्थ्य केन्द्रहरु छन्’ उनले भने, ‘अब ती स्वास्थ्य केन्द्रहरुको उचित व्यवस्थापन र भौतिक पूर्वाधारको आवश्यकता छ, त्यसका लागि पनि पालिका अग्रसर छ ।’ स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील र अतिआवश्यक भएकाले पालिकाले त्यसतर्फ बढी ध्यान दिने गरेको अध्यक्ष बोगटीको भनाइ छ ।
पालिकामा रहेका ९ वटा स्वास्थ्य केन्द्रहरुमा ५० जना कर्मचारीहरु कार्यरत रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्टले बताए । उनले त्यसमध्ये ३० जनालाई पालिकाबाट तलब भत्ता र सुविधा दिइँदै आएको बताए । बाँकी २० जनालाई भने संघीय सरकार श्रोतबाट तलब भत्ता र सुविधा प्रदान गर्ने गरिएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा पालिकाले स्वास्थ्य क्षेत्रतर्फ विनियोजन गरेको बजेटमध्येबाट सबैभन्दा बढी तलब भत्ता मै जाने गरेको उनको भनाइ छ । एक आर्थिक वर्षमा पालिकाको ८५ लाख ५० हजार रुपैयाँ स्वास्थ्य कर्मचारीहरुको तलब भत्तामा मात्रै खर्च हुने गरेको उनले बताए ।

गत आर्थिक वर्ष पनि पालिकाले स्वास्थ्य क्षेत्रका लागि १ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । पालिकाले विगतको तुलनामा चालु आर्थिक वर्षमा बढी बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताए । चालु आर्थिक वर्षमा पालिकाले स्वास्थ्यका विभिन्न शिर्षकहरुमा बजेट छुट्याएको छ । जसमध्ये तलब भत्तापश्चात पालिकाले औषधी तथा औजार र न्यूनतम सेवा सञ्चालनमा बढी बजेट छुट्याएको छ । उक्त शिर्षकमा पालिकाले २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा उक्त शिर्षकमा पालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । स्वास्थ्य केन्द्रहरुमा पालिकाले स्थानियहरुलाई अति आवश्यक पर्ने औषधीहरु उपलब्ध गराउने उद्देश्यले चालु आर्थिक वर्षमा बढी बजेट विनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख बिष्टले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा पालिकाले स्वास्थ्य क्षेत्रकै केही शिर्षकहरु बढाएको छ । जसमा उपाध्यक्ष मातृ तथा नवजात शिशु स्याहार, अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, एच.आई.भि. पीडितहरुका लागि सहयोग, अति गरिब परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम र प्रजनन स्वास्थ्य शिविर कार्यक्रम रहेका छन् । ति शिर्षकहरुका लागि मात्रै पालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसबाहेक पालिकाले स्वास्थ्य संस्था सुदृढीरणमा ९ लाख, स्वास्थ्य संस्थाको दैनिक खर्चमा ५ लाख, किशोरी आइरन कार्यक्रममा ५० हजार, स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा २ लाख ५० हजार, पोषणमैत्री स्वास्थ्य संस्था कार्यक्रममा २ लाख, स्वास्थ्य जनचेतना कार्यक्रममा १ लाख, स्वास्थ्य सामग्री ढुवानीमा २ लाख र खोप तथा गाउँघर क्लिनिक सञ्चालनमा ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
विकट क्षेत्रमा रहेको गाउँपालिका भएकाले स्वास्थ्य क्षेत्रमा सहजता ल्याउन समस्या रहेको उनले बताए । ‘चुरे गाउँपालिका विकट क्षेत्रमा रहेको छ । यहाँ एउटा स्वास्थ्य संस्था सम्म जानै ३÷४ घण्टा लाग्छ’ उनले भने, ‘पालिकामा आयस्रोत नहुँदा स्वास्थ्य सेवामा अझै सहजता ल्याउन केही समस्या भएको छ ।’ उनले प्रदेश तथा संघीय सरकारबाट स्वास्थ्य क्षेत्रमा अपेक्षा गरेजस्तो सहयोग प्राप्त नभएको बताए । ‘प्रदेशले भौतिक संरचना, तलब लगायतका कुनै पनि कुराहरुमा बजेट दिएको छैन, प्रदेशबाट शसर्तको कार्यक्रमहरु मात्रै आएका छन्,’ उनले भने । उनले विकट क्षेत्रमा भएकाले चुरेको स्वास्थ्य सेवालाई थप सहज बनाउन प्रदेश तथा संघ सरकारको सहयोग पनि आवश्यक रहेको बताएका छन् ।
 
					 
 





 
 
 




 
 







