अत्तरिया – कञ्चनपुरको युवापुस्ता लागुऔषधको जालोमा जकडिँदै गइरहेको छ । जिल्लाका १६ देखि ३५ वर्ष उमेर समूहका युवा लागुऔषधको दलदलमा फस्दै गइरहेका हुन् । चालु आर्थिक वर्षको मंसिर सम्ममा सो उमेर समूहका १०९ जना पक्राउ परेका प्रहरीको तथ्याङ्क छ । जसमा १६ देखि २५ वर्ष सम्मका ६९ जना पक्राउ परेका छन् भने २६ देखि ३५ वर्ष सम्मका ४० जना पक्राउ परेका छन् ।
त्यस्तै, ३६ देखि ४५ वर्ष समूहका ६ जना र ४६ देखि ६० का ४ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै लागुऔषध सम्बन्धी ७८ मुद्दा दर्ता भएका छन् भने ११९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार लागुऔषधमा पक्राउ पर्ने नेपाली मात्र नभई भारतीय पनि छन् । साउनदेखि मंसिर सम्ममा ५ जना भारतीय नागरिक पनि समातिएका हुन् ।


पक्राउ पर्नेमा महिला पनि छन् । एक सय १९ जनामध्ये ५ जना भारतीय, एक सय १० पुरुष र ४ जना महिला पक्राउ परेका हुन् । भारतीय भने पुरुष मात्रै छन् । आर्थिक वर्षको सुरुवातमै साउन महिनामा सबैभन्दा बढी संख्यामा पक्राउ परेका छन् । साउनमा २९ जना पक्राउ परेका छन् । भदौमा २३, असोजमा १८, कार्तिकमा २६ र मंसिरमा २३ जना पक्राउ परेका छन् ।
कञ्चनपुरबाट अन्य जिल्लाका पनि पक्राउ परेका छन् । यो अवधिमा कैलालीका ८, डडेल्धुराका ५ र डोटीका २ जना कञ्चनपुरबाट पक्राउ परेका हुन् ।

प्रहरीको तथ्याङ्कले जिल्लाका भीमदत्त, बेलौरी र पुनर्वासबाट बढी संख्यामा मुद्दा दर्ता भएका देखाएको छ । भीमदत्त नगरपालिका क्षेत्रबाट ३२ मुद्दा दर्ता भएका छन् भने बेलौरी नगरपालिका क्षेत्रबाट १८ मुद्दा र पुनर्वास नगरपालिका क्षेत्रबाट १० मुद्दा दर्ता भएका छन् ।

त्यसैगरी कृष्णपुर नगरपालिका क्षेत्रबाट ५ मुद्दा, दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट ४ मुद्दा, वेदकोट नगरपालिका क्षेत्रबाट ३, शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट पनि ३ र बेलडाँडी गाउँपालिका क्षेत्रबाट २ मुद्दा दर्ता भएका छन् । लालझाडी गाउँपालिका क्षेत्रबाट भने मुद्दा दर्ता भएका छैनन् ।
खुला सीमाना, परिवारबाट राम्रो हेरविचार हुन नसक्नु, साथीहरुको लहलहैमा लाग्नु, कानुनी ज्ञानको कमी लगायतका कारणले युवापुस्ता लागुऔषध दुर्व्यसनमा फस्दै गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी बताउँछन् ।
उनले यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले दुई किसिमले काम गरिरहेको बताए । पहिले कुलतमा फस्नै नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना फैलाउने कामहरु भइरहेका र अर्को दुर्व्यसनमा फसेकाहरुलाई कानुनवमोजिम कारबाही गर्ने गरिएको उनले बताए ।
‘पहिलो त हामी दुव्र्यसनमा फस्नै नदिन स्कुलमा टोलमा गएर जनचेतना फैलाउँछौँ, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायमै गएर जनचेतना फैलाइरहेका छौँ, अर्को चैँ यस्तो काम गरिसक्या छ भने ल्याएर कानुनवमोजिम कारबाही गर्छौँ’, उनले भने ।
प्रवक्ता डाँगीका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा ११९ जना लागुऔषध प्रयोगकर्तालाई कानुनको दायरामा ल्याउँदा सचेतनाका १४२ कार्यक्रम सञ्चालन गरिएका छन् । मंसिरसम्ममा विद्यालय केन्द्रित ८१ र समुदाय केन्द्रित ६१ गरी १४२ कार्यक्रम सञ्चालन गरिएका हुन् । जसबाट २० हजार ९ सय २० जना लाभान्वित भएका बताइएको छ ।















