खाेज्नुहाेस

अत्तरियाको दुर्गा मन्दिर छेउमा माओवादीको पार्टी कार्यालय भवन बन्दै

Image

अत्तरिया  – कैलालीको अत्तरिया चौराहा नजिकै रहेको दुर्गा मन्दिर छेउमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय निर्माण गर्न थालेको छ । मन्दिर छेउमा रहेको खाली क्षेत्रमा माओवादीले गोदावरी नगरकमिटीको भवन बनाउन थालेको हो । यसअघि विवादीत रहेको भन्दै मन्दिर व्यवस्थापन समितिले उक्त क्षेत्र खाली छाडेको थियो ।

तत्कालीन समयमा नेकपा संयुक्त जनमोर्चाका नेता गोकर्ण भट्ट लगायत केही व्यक्तिहरूले उक्त क्षेत्रमा सहिद भीमदत्त पन्तको सालिक बनाउने भन्दै उक्त क्षेत्र खाली राख्नुपर्ने अडान राखेका थिए । जसका कारण हालसम्म पनि उक्त क्षेत्रमा मन्दिर व्यवस्थापन समितिले घेरबार गरेको थिएन । मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज ओझाले मन्दिरले उक्त क्षेत्र घेरबार गर्न खोज्दा तत्कालीन समयका माओवादीकै केही नेताहरूले भीमदत्त पन्तको सालिक राख्ने भन्दै विवाद सृजना गरेपछि घेरबार नगरिएको बताए । उनले विवादीत क्षेत्र भएकाले मन्दिरले घेरबार नगरेको भएपनि उक्त क्षेत्र भने मन्दिरकै भएको दावी गरे ।

add everest academy
attariya hospital

‘त्यो मन्दिर वरपरको सम्पूर्ण क्षेत्र पहिला मन्दिरकै हो भन्ने सुनेको थिए । अहिले उक्त क्षेत्रका वरिपरि विभिन्न संघसंस्था तथा स्थानीयहरुले ऐलानी जग्गा भएकाले ओगटेर मन्दिरको क्षेत्र साँघुरो बनाइसकेका छन’ उनले भने ‘उक्त क्षेत्रलाई त्यतिखेर मन्दिर र पतञ्जलिमा आउने बाटोको रुपमा प्रयोग गरिदै आएको थियो । विवादीत पनि भएकाले र बाटोको रुपमा प्रयोग भैरहेकाले त्यसलाई घेरबार नगरिएको हो ।’ उनले उक्त क्षेत्रमा सालिका निर्माण गरिने भनेपनि पछि नगरिएको बताए । उनले आफ्नो कार्यकालमा भने कोही पनि प्रष्ट रुपमा उक्त जमिनको चलनभोगीको रुपमा नआएको बताए । ‘म समितिको अध्यक्ष रहँदै गर्दा यो जमिन हाम्रो हो भनेर प्रष्ट रुपमा भन्ने चाँहि कोही आएनन्’ उनले भने ‘हाम्रो कार्यकालमा विवाद मिलाएर मन्दिरको परिसरमा ल्याउने र घेरबार गर्ने तथा भरान गर्ने भन्ने योजना थियो तर रकम अभावका कारण हामीले त्यो गर्न सकेनौ ।’

navjiwan hospital

समितिका वर्तमान अध्यक्ष प्रताप कडायतले मन्दिरको जमिन भएपनि माओवादीले कब्जा गर्न खोजेको आरोप लगाए । ‘म यो क्षेत्रमा बसेको दशकौँ भैसक्यो, मैले त हालसम्म पनि जमिन मन्दिरको हो भन्ने सुनेको हो’ उनले भने ‘तर माओवादीले सत्ता र शक्तिको मातमा जमिन हत्याउन खोजिरहेको छ ।’ उनले मन्दिर व्यवस्थापन समितिसँग समन्वय नै नगरी र जानकारी नै नदिई विवादीत क्षेत्रमा पार्टी कार्यालय स्थापना गर्न खोज्नु आफैमा गलत भएको बताए । उनले मन्दिरले चलनभोग गर्दै आएको ५ कट्टा जमिन अन्तरगत नै उक्त विवादीत क्षेत्र पर्ने पनि बताए ।

यता तत्कालीन समयका संयुक्त जनमोर्चाका जिल्ला अध्यक्ष गोकर्ण भट्टले आफूहरूले सहिद भीमदत्त पन्तको सालिक निर्माणका लागि मात्रै उक्त क्षेत्र खाली छोड्न लगाएको बताए । उनले कुनै पार्टीका लागि उक्त क्षेत्र नभएको बताए । ‘तत्कालीन समयमा सहिद भीमदत्त पन्तको सालिक बनाउने भनेर मेरो नेतृत्वमा नै त्यो क्षेत्र खाली छोडिएको हो’ उनले भने ‘करिब ५१ साल तिर हामीले त्यो क्षेत्र खाली गराएको थियौ, शिलालेख पनि बनाएका हौ तर पछि ५२ साल तिरबाट जनयुद्ध सुरु भएपछि त्यो काम हुन सकेन ।’ उक्त क्षेत्र कुनै अमुक पार्टीका लागि नभएको र कसै पार्टीले उक्त क्षेत्र खाली नगरेको उनले बताए । उनले उक्त क्षेत्र पार्टीगत रुपमा नरोकिएको र सबैलाई मान्य हुने गरी सहिद भीमदत्त पन्तको सालिक राख्ने भन्दै खाली छोडिएको बताए ।

attariya technical collage

‘त्यो मैले नै रोक्न लगाएको हो, सहिदको सालिक बन्नुपर्छ भन्ने हाम्रो सोच हो’ उनले भने ‘अहिले माओवादीले बेकारमा कब्जा गर्ने कुरा ठिक होइन ।’ उनले उक्त क्षेत्रमा तत्कालीन समयमा सहिद पन्तको सालिक बनाई त्यसको वरपर चौतारा निर्माण गर्ने आफूहरूको योजना रहेको बताए । उनले त्यसपश्चात् पनि सार्वजनिक जमिनलाई मन्दिरको नाममै राख्नुपर्ने आफूहरूले बताउँदै आएको बताए । उनले उक्त क्षेत्रमा कुनैपनि पार्टीले भोगचलन नगरेको र विशुद्ध रुपमा सालिकका लागि मात्रै क्षेत्र खाली गरिएको बताए ।

यता नेकपा माओवादी केन्द्रका गोदावरी नगर इन्चार्ज एवम् भवन निर्माण समितिका संयोजक धर्म सिह कुँवरले भने २०६२ सालदेखि पार्टीले जग्गा चलनभोग गर्दै आएको बताए । उनले उक्त क्षेत्रको चलनभोग र संरक्षण गर्दै गइरहेकाले हाल उक्त क्षेत्रमा पार्टी कार्यालय निर्माण गर्न लागिएको बताए । उनले पार्टीले चलनभोग गर्दै आएको जमिनमा पार्टी कार्यालय निर्माण भैरहेकाले उक्त विषयलाई विवादीत गर्नुपर्ने कारण नरहेको बताए । ‘यो माओवादी केन्द्रकै जमिन हो, यसमा विवाद रहित तरिकाले हामीले भवन निर्माण गरिरहेका छौ’ उनले भने ‘तर यसलाई विवादीत बनाएर व्यक्तिगत इगो साट्ने काम भैरहेको छ, त्यसमा हाम्रो घोर आपत्ति छ ।’