अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ को पहाडी बस्तीमा विद्युत विस्तार भएपछि स्थानीय हर्षित भएका छन । विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका हुन । सीमका स्थानीय कर्ण बहादुर खत्रीले घरमा विद्युत जडान भएपछि निकै खुशी भएको बताए । आइतबार कर्णको घरमै पुगेका प्रदेश सांसद तुलसी देवकोटा र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले विद्युत स्विच अन गरेर सो क्षेत्रको विद्युतको शुभारम्भ गरेका थिए ।
घरमा विद्युत जडान भएपनि लामो समयको प्रतिक्षा सकिएको उनले बताए । उनले विद्युत नभएकै कारण झेल्नुपर्ने समस्या पनि अन्त्य हुने बताए । उनले भने ‘हामी सोलार मुक्त भएका छौ । विद्युत नहुँदा मोबाइल चार्ज गर्ने देखि लिएर बच्चाहरूलाई पठनपाठनमा समस्या थियो । अँध्यारोमा बस्नुपरेको थियो । बिजुली बलेपछि सहज भएको छ ।’ स्थानीय थिर बहादुर कार्कीले गाउँमा विद्युत बिस्तार भएपछि निकै खुसी लागेको बताए । उनले पुरानो बस्ती भएपनि ढिला गरि विद्युतको उज्यालोमा बस्ने सपना पुरा भएको बताए ।




धनगढी वितरण केन्द्रले आइतबार देखि वडाका चौकी, सिम, चाप र सल्लीमा ११ केभी विद्युत लाइन विस्तार गरेको छ । जसमध्ये सिममा शाखा लाइन विस्तार गरेर ३० घरमा मिटर जडान भएपनि अन्य ठाउँमा भने मिटर जडान र शाखा लाईन विस्तारको काम जारी रहेको वितरण केन्द्रले जनाएको छ ।
वडा अध्यक्ष भीम बहादुर खड्काले विकासको मुख्य आधार विद्युत विस्तार गर्न आफू सफल भएको बताए । उनले वडा नम्बर १२ को पहाडी क्षेत्रमा छरिएर रहेको बस्तीमा विकासका काम गर्न निकै समस्या भएको बताए । उनले मुख्य लाइन विस्तार भएपनि शाखा लाइन विस्तारको काम भने धेरै ठाउँमा बाँकी रहेको बताए । उनले सीम गाउँका शाखा लाइन विस्तार भएर चाप, सल्लीमा शाखा लाइन विस्तारको काम जारी रहेको बताए । उनले नाइलमा मुख्य लाइन बिस्तारका लागि विद्युत पोल ढुवानी भइसकेको बताए ।

गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए । ‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ । छोटो समयमै विद्युत ल्याउन सफल भएका छौ’ उनले भने ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ । हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौ ।’ उनले सिम, चाप, सल्लीमा डेढ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै ८० परिवार बसोबास गर्ने नायलमा विद्युत विस्तार गरिने बताए । उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्नको लागि अझै ६ सय विद्युत पोल आवश्यक पर्ने बताए ।
प्रदेश सांसद तुलसी देवकोटाले विकट भनेको गाउँमा विद्युत विस्तार भएको बताइन् । उनले विकास एकैपटक नआउने भएकाले केही समय लाग्ने बताइन् । उनले विकासका काम न्यायोचित हुनुपर्ने बताइन् ।
‘बाहिर मान्छेलाई गोदावरी भनेपछि सुगम होला भन्ने लाग्छ । तर यहाँका पहाडी क्षेत्रमा अझै आधारभूत आवश्यकता पुरा हुन सकेका छैनन्’ उनले भनिन् ‘मानिसहरूलाई सुन्दा अचम्म पनि लाग्ला आज गोदावरीको सिममा पहिलो पटक विद्युत पुगेको छ । यो विकासको मूल आधार हो । अब अन्य काम यसैबाट सुरु गर्न सकिन्छ ।’















