खाेज्नुहाेस

सुदूरपश्चिममा क्षेत्रफल घट्दा पनि धान उत्पादनमा वृद्धि

Image

अत्तरिया – सुदूरपश्चिममा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष २०७९/०८० मा ६ लाख ६८ हजार ४ सय २४ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष भने ६ लाख ७४ हजार ५० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष १ लाख ८३ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा यो वर्ष सो भन्दा कम १ लाख ८० हजार २२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा कम क्षेत्रफलमा धानखेती गरिए पनि उत्पादन भने यो वर्ष बढी भएको छ । निर्देशनालयका सूचना अधिकारी केशव अवस्थीका अनुसार अघिल्लो वर्ष अत्यधिक वर्षाका कारण आएको बाढीले धानबालीमा क्षति पुर्याउँदा उत्पादन कम भएको थियो । ‘गत वर्ष धान काट्ने समयमा बाढी आयो, किसानले राम्ररी धान भित्र्याउन पाएनन् । बाढीले गर्दा नोक्सानी हुन पुग्यो’, उनले भने, ‘तर यो वर्ष त्यस्तो समस्या भएन । धानबालीमा कुनै नोक्सानी नहुँदा उत्पादन पनि बढेको हो ।’

add everest academy
attariya hospital

सबै जिल्लाहरुमध्ये बढी धान उत्पादन कैलालीमा भएको छ । क्षेत्रफलका हिसाबले सुदूरपश्चिमका नौ ओटै जिल्लामध्ये कैलाली र कञ्चनपुरमा धानखेती बढी गरिन्छ । कैलालीमा यो वर्ष २०८०/०८१ मा ६७ हजार ४ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएकामा ३ लाख १७ हजार ५ सय २८ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ६८ हजार ५ सय ३६ हेक्टरमा ३ लाख २२ हजार ६ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो ।

त्यस्तै, कञ्चनपुरमा गत वर्ष १ लाख ९० हजार १ सय ४ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष १ लाख ९३ हजार ९ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा गत वर्ष ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यो वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको थियो ।

डडेल्धुरामा यो वर्ष १८ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको छ । यहाँ ६ हजार १ सय २० हेक्टरमा धान लगाइएको थियो । गत वर्ष ६ हजार १ सय ८८ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो भने २० हजार ४ सय २० मेट्रिक टन धान उत्पादन भएको थियो ।

attariya technical collage
navjiwan hospital

बैतडीमा गत वर्ष १६ हजार ९० मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष १६ हजार १ सय ३५ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा गत वर्ष र यो वर्ष ९ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यहाँ अघिल्लो वर्षभन्दा धान उत्पादनमा वृद्धि भएको छ ।

दार्चुलामा पनि गत वर्ष र यो वर्ष समान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । जसमा गत वर्ष १२ हजार ५ सय ४४ र यो वर्ष सो भन्दा केही बढी १२ हजार ५ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ ।

बझाङमा यो वर्ष १० हजार ३ सय हेक्टरमा धान लगाइएकामा ३० हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा गत वर्ष यस वर्षभन्दा बढी १२ हजार ५ सय हेक्टरमा धान रोपिएको थियो भने उत्पादन यो वर्षभन्दा कम २७ हजार ६ सय ९ मेट्रिक टन भएको थियो ।

बाजुरामा गत वर्ष १३ हजार १ सय ३९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १३ हजार ४ सय ९४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । यहाँ अघिल्लो वर्ष ६ हजार ९ सय १५ हेक्टरमा र यस वर्ष केही बढी ६ हजार ९ सय २० हेक्टरमा धानखेती गरिएको छ ।

अछाममा यो वर्ष र गत वर्ष १६ हजार ५ सय ९० हेक्टरमा धान लगाइएकामा यो वर्ष ४१ हजार ४ सय ७५ मेट्रिक टन धान उत्पादन भएको छ भने अघिल्लो वर्ष यो भन्दा कम ३६ हजार ४ सय ९८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

र डोटीमा यो वर्ष २९ हजार ४ सय ७६ दशमलव ८ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २९ हजार ३ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा अघिल्लो वर्ष र यस वर्ष १० हजार ६ सय ८० हेक्टर क्षेत्रफलमा नै धानखेती गरिएको थियो ।

बेमौसमी वर्षा तथा धान काट्ने र भित्र्याउने समयमा हुने वर्षाले गर्दा किसानले राम्रो उत्पादन लिन पाइरहेका हुँदैनन् । सिँचाइको सुविधा नभएका ठाउँमा धान रोप्ने समयमा वर्षा नहुँदा रोप्न नै ढिलाई भई धान उत्पादन कम हुने गरेको छ । कृषकहरुलाई आवश्यक तालिम, परामर्श एवं उन्नत जातको बिउबिजन नहुँदा पनि कृषि उत्पादनमा कमी आउने गरेको देखिन्छ । कृषि सम्बन्धी राम्रो ज्ञान र जलवायु अनुकुल रहे किसानले राम्रो उत्पादन लिन सक्ने देखिन्छ ।