खाेज्नुहाेस

‘किसानहरुको परम्परागत खेती प्रणालीमा सुधार आएको छ’

Image

अत्तरिया – नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिन्छ । यहाँका बढीजसो नागरिकहरुको मुख्य पेसा नै कृषि रहेको छ । तर परम्परागत कृषि प्रणालीका कारण कृषि प्रधान भनेर चिनिने नेपालले बाह्य देशहरुबाट कृषिजन्य उत्पादनहरु आयात गर्नुपर्ने अवस्था छ । कृषि प्रधान भएपनि कृषिमा आत्मनिर्भर बन्न नसक्नुको कारण भने किसानहरुमा कृषिसम्बन्धी चेतनाको कमीलाई औल्याउन थालिएको छ ।

साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले किसानहरुमा चेतनाको कमी भएका कारण कृषिजन्य उत्पादनहरुमा उल्लेख्य वृद्धि नभएको बताएका छन् । उनले साना किसान सहकारी संस्था लिमिटेडले भने कृषिजन्य वस्तुहरुको उत्पादनलाई वृद्धि गर्नका लागि सर्वप्रथम किसानहरुमा चेतना अभिवृद्धि गर्ने कार्य गरेको बताए ।

add everest academy
attariya hospital

‘हामीले सहकारीमार्फत किसानहरुमा चेतना अभिवृद्धि गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएका थियौ’ उनले भने ‘त्यसकै कारण पछिल्लो समय किसानहरुको परम्परागत कृषि प्रणालीमा पनि सुधार आएको छ ।’ उनले साना किसान सहकारीकै कारण किसानहरुले परम्परागत खेती प्रणालीलाई समयको माग अनुसार आधुनिकता तिर लगेको बताए । परम्परागत कृषि प्रणालीले किसानहरुलाई कृषि कार्यमा मेहनत बढी लगाउने तथा समय बढी लाग्ने गरेकोमा आधुनिक खेती प्रणालीले कृषि कार्यलाई एकदमै सहज बनाएको बताए ।

उनले आधुनिक कृषि प्रणालीकै कारण समयको पनि सदुपयोग भएको बताए । उनले परम्परागत खेती प्रणालीमा सुधार आएकै कारण पछिल्लो समय साना किसान सहकारीमा आवद्ध किसानहरुले कृषिजन्य उत्पादनमा वृद्धि गरेको बताए । ‘पछिल्लो समय किसानहरुलाइ हामीले व्यवसायीक रुपमा मौषमी तथा बेमौषमी कृषि उत्पादनहरु गर्नतिर लगानी गरिरहेका छौ’ उनले भने ‘त्यसपश्चात उनिहरुको उत्पादनलाई बजारसँग जोड्न र बजारीकरण गर्न सहकारीले सहयोग गर्नेछ ।’ उनले सहकारीले किसानहरुका उत्पादनको राम्रो मुल्य प्रदान गराउनका लागि आफ्नै संकलन केन्द्र स्थापना गर्ने योजना लिएको बताए । ‘अहिले बजार पुरै बिचौलियाको हातमा छ, जसका कारण किसानहरुले न्यून मूल्यमा कृषिजन्य उत्पादनहरु बिक्रि गर्नुपरिरहेको छ’ उनले भने ‘तर हामीले त्यसलाई चिर्नका लागि आफ्नै संकलन केन्द्र खोलेर किसानका कृषिजन्य उत्पादनहरुलाई उचित मूल्य दिने लक्ष्य लिएका छौ ।’

उक्त कार्यले उपभोक्ता र किसान दुवैलाई फाईदा दिलाउने उनको भनाई छ । उनले साना किसानमा आवद्ध किसानहरुलाई व्यवसायीक रुपमा उद्यमी बनाउने सहकारीको लक्ष्य रहेको र सो लक्ष्यमा धेरै हदसम्म सहकारी खरो रुपमा उत्रिएको समेत बताए । सहकारीले किसानहरुको व्यवसायीक जोखिम कम गर्न कर्जा बीमा योजना ल्याएको छ भने कृषिजन्य कार्यका लागि प्राविधिक पनि नियुक्त गरेको छ । किसान सदस्यहरुलाई घरमै गएर कृषि तथा पशुस्वास्थ्य सम्बन्धी सेवा दिने लक्ष्यका साथ प्राविधिक नियुक्त गरिएको मुख्य प्रबन्धक खत्रीले बताए । सहकारीले शेयरसदस्यहरुका लागि एग्रोभेट सञ्चालन गर्ने, औषधी लगायतका वस्तुहरु प्रदान गर्ने लगायतका कार्य गर्ने समेत योजना लिएको छ ।

attariya technical collage
navjiwan hospital

किसानहरुको उप्रेरणाका लागि ग्रामिण उद्यम कर्जा

कृषि क्षेत्रमा काम गरिरहेका किसानहरुलाई अझै उत्प्रेरित गर्न सहकारीले ग्रामिण उद्यम कर्जा प्रणाली सञ्चालनमा ल्याएको छ । जसअन्र्तगत कृषि व्यवसायमा आवद्ध सहकारीका सदस्यहरुलार्ई सुलभ रुपमा ९ प्रतिशत व्याजदरमा ऋण प्रदान गरिने भएको छ । संस्थाका मुख्य प्रबन्धक खत्रीका अनुसार व्यसायीक रुपमा कृषि कार्य गरिरहेका र गर्न चाहने किसानहरुलाई उक्त कर्जा प्रदान गरिनेछ ।

उक्त कर्जामा ९ प्रतिशत ब्याजदर भएपनि प्रदेश सरकारले ८ प्रतिशत अनुदान दिने उनले बताए । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. सँगको सहकार्यमा प्रदा गरिने उक्त कर्जाले सहकारीमा आवद्ध किसानहरुलाई कृषि कार्य गर्नमा अझ उत्प्रेरणा जाग्ने उनको भनाई छ । त्यसका साथै कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका किसानहरुलाई सम्मानित गर्ने गरिएको समेत उनले बताए । उनका अनुसार संस्थाको वार्षिक उत्सव समारोहमा कृषिक्षेत्रमा उत्कृष्ट कार्य गर्ने किसानहरुलाई सम्मानित गर्ने गरिएको छ । जसका कारण सदस्यहरुमा कृषिक्षेत्र प्रति लगाव बढ्ने गरेको उनले बताए ।

नाफामुखी नभई किसानमुखी 

गत वर्षको भन्दा आर्थिक वर्ष २०७९/०८० मा सहकारीको नाफाका कमी आएको छ । सहकारीले गत वर्ष १ करोड ३० लाख ५५ हजार ३१ रुपैया नाफा कमाएकोमा आर्थिक वर्ष २०७९/०८० मा भने ९६ लाख ० हजार २६१ रुपैया मात्रै नाफा कमाएको छ । सहकारीले कारोबारमा वृद्धि गरेपनि नाफामा भने गत वर्षको तुलनामा कमी आएको हो । सहकारीले गत वर्ष ३७ करोड ३७ लाख ३७ हजार २१३ बराबरको कारोबार गरेकोमा आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड माथीको कारोबार गरेको छ ।

सहकारी किसानमुखी हुँदा नाफामा कमी आएको बताईएको छ । ‘हाम्रो किसानमुखी संस्था हो’ संस्थाका मुख्य प्रबन्धक खत्रीले भने ‘त्यसैले किसानहरुलाई सहुलियत प्रदान गर्दै गर्दा नाफामा कमी आउनु स्वाभाविक हो ।’

उनले नाफा नभई संस्थामा आवद्ध किसानहरुलाई व्यवसायीक रुपमा अगाडी बढाउनु संस्थाको उद्देश्य भएको बताए । उनले अझै पनि किसानहरुको सहजताका लागि विभिन्न योजनाहरु अघि बढाईएको बताए ।