खाेज्नुहाेस

दुर्व्यसनीमा फसेका सँग गरिने व्यवहार परिवर्तन गर्न अभिमुखीकरण

Image

अत्तरिया – लागूऔषध नियन्त्रणका लागि सचेतना सँगै प्रयोगकर्ता प्रति गरिने व्यवहारका विषयमा प्रहरीले अभिमुखीकरण दिन सुरु गरेको छ । लागूऔषध दुर्व्यसनीमा फसेको प्रति गरिने व्यवहारले पनि यसको नियन्त्रणमा भूमिका खेल्ने भएकाले प्रहरीले यस किसिमका कार्यक्रम संचालन गर्न थालेको हो । जसका लागि लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौले ‘लागूऔषध सेवनकर्ताहरु सँग गर्नुपर्ने व्यवहार’ का विषयमा पालिका स्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । लागूऔषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले लागूऔषध दुर्व्यसन नियन्त्रणका कार्यक्रम सँगसँगै प्रयोगकर्ता सँग गरिने व्यवहारमा पनि सुधार गर्न सचेत गरिरहेको बताए ।

‘हाम्रो पहिलो उद्देश्य त सेवन कर्ता हुनबाट रोक्ने हो’ उनले भने ‘कुनै व्यक्ति सेवन कर्ता भइसकेको छ भने त्यसको उपचार गरेर रिकभरी गर्ने, उससँग राम्रो व्यवहार गर्न आवश्यक छ । प्रयोगकर्ताको मनोबल बढाउन सके त्यसबाट टाढा गर्न सकिन्छ ।’ उनले पहिलो प्राथमिकता दुर्व्यसनीमा नफसून् भन्ने भएपनि यस्तो दुर्व्यसनीमा फसिहाले त्यसलाई सामाजमा पुनस्थापना गर्न पनि उतिकै महत्वपूर्ण रहेको बताए ।

attariya hospital

उनले लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा व्यवहार गरिनुपर्ने बताए । लागूऔषध प्रयोगकर्तालाई सामाजमा पुनस्थापना गर्न मनोसामाजिक परामर्श दिने, माया गर्ने, परिवारको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्न आवश्यक रहेको उनले बताए ।

उनले दुर्व्यसनीबाट बालबालिकालाई टाढा गर्न बालबालिका मार्फत नै सचेतनाका कार्यक्रम संचालन गर्न थालिएको बताए । ‘बालबालिका शिक्षक, अभिभावकले भनेको भन्दा पनि साथिभाइहरुले भनेको बढी मान्ने भएकाले बालबालिकालाई नै यस किसिमको सचेतनाका कार्यक्रममा सहभागि गराउने कन्सेप्ट ल्याएका छौ’ उनले भने । उनले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले यसको नियन्त्रणको लागि आयातमा नियन्त्रण संगै डिमाण्ड घटाउन आवश्यक रहेको बताए ।

navjiwan hospital

प्रहरीले सुरु गरेको ‘लागूऔषध सेवनकर्ताहरु सँग गर्नुपर्ने व्यवहार’ विषयका सचेतनामूलक कार्यक्रम मंगलबार कैलालीको गोदावरी नगरपालिकामा पनि पनि संचालन गरिएको थियो । कार्यक्रममा सहभागिले लागूऔषधको समस्या भयावह अवस्थामा फैलिरहेकाले यसको नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुन आवश्यक रहेको बताएका थिए ।

उग्रतारा सुधार केन्द्रका सञ्चालक विमल भट्टले लागूऔषधमा फसेकालाई आवश्यक परामर्श दिन सके सामाजमा पुनः स्थापना गर्न सकिने बताए । उनले १५/१६ वर्षको उमेरमा लागूऔषधको दलदलमा फस्ने सम्भावना बढी रहने भएकाले उक्त उमेर समुहका बालबालिकालाई सचेत गराउन आवश्यक रहेको बताए । उनले सुधार गृहमा १० प्रतिशत मात्रै पूर्ण रुपमा निको हुने भएकाले यसको दलदलमा फस्न नदिनु नै उपयुक्त हुने बताए ।

पत्रकार धुर्व ओझाले लागूऔषध नियन्त्रणका लागि विभिन्न क्षेत्रबाट प्रयास भएपनि अझै निर्मुल हुन नसकेको बताए । उनले बालबालिकालाई गलत संगतमा लाग्नबाट जोगाउन सके बालबालिकालाई लागूऔषधको कुलतमा फस्नबाट जोगाउन सकिने बताए ।

अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक देवकोटाले लागूऔषधको नियन्त्रणको लागि पालिका स्तरमा वृहत सचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले भयावह अवस्थामा फैलिरहेको लागूऔषधको समस्यालाई सामान्य रुपमा लिन नहुने बताए ।

प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगबिर थापाले बालबालिकालाई लागूऔषधको दुर्व्यसनीबाट जोगाउन विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । कैलाली, कञ्चनपुरमा लागूऔषधको दुर्व्यसन बढी भएकाले यस क्षेत्रका विद्यालयमा सचेतनाका कार्यक्रम गर्न सके यसको नियन्त्रणमा मदत पुग्ने उनको भनाइ छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले नगरपालिकाले प्रहरी सँग समन्वय गरेर लागूऔषध नियन्त्रणको लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । पछिल्लो समय बालबालिका आमावुवाको भन्दा पनि साथिभाइकै कुरा बढी सुन्ने भएकाले बालबालिका मार्फत सचेत गराउन आवश्यक रहेको बताइन् । बालबालिकालाई लागूऔषधको दुर्व्यसनीमा फस्नबाट बचाउनको लागि अभिभावक र विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।