अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले मालाखेती अस्पतालमा एमडी डाक्टर ल्याउने तयारी भइरहेको बताएका छन । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हाल कार्यरत एमडीजीपी डाक्टरको कार्यकाल सकिएकाले एमडी डाक्टर ल्याउने तयारी भइरहेको बताएका हुन ।
उनले एमडी डाक्टर ल्याउनको लागि बिभिन्न ठाउँमा सम्पर्क गर्ने काम भइरहेको बताए । ‘महाकाली अस्पतालमा कार्यरत एमडी डाक्टर ल्याउने तयारी गरिरहेका छौ’ उनले भने ‘कुनै अवस्थामा वहाँ आउन सक्नु भएन भने नगरपालिकाको तर्फबाट भएपनि हामीले एमडी डाक्टर नियुक्त गर्ने छौ ।’

उनले एमडीजीपी डाक्टर हुँदा अस्पतालको सेवामा धेरै सुधार आएकाले अब त्यसलाई निरन्तरता दिन सोही स्तरको डाक्टरको आवश्यकता रहेका बताए ।
‘मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि केही सेवा प्रवाहमा समस्या आएपनि अब त्यो समस्या छैन’ उनले भने ‘अब एक जना एमडी डाक्टर ल्याउन सके अस्पतालमा सबै सेवा सुचारु गर्न सहज हुन्छ ।’

उनले मालाखेती अस्पताल आधारभूत सेवा दिन अस्पताल भएपनि अस्पतालले त्यो भन्दा बढी सेवा दिइरहेको बताए । मालाखेती अस्पतालमा एमडीजीपी डाक्टरको कार्यकाल सकिएपछि हाल ३ जना एमबीबीएस डाक्टरले सेवा दिदै आएका छन ।
मेयर भट्टले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै गोदावरीको वडा नम्बर २ बाहेक ११ वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालन भइसकेको बताए । उनले वडा नम्बर २ बजार क्षेत्रमा भएकाले स्वास्थ्य केन्द्र स्थापना नगरिएको बताए ।
उनले गोदावरीको वडा नम्बर १२ भौगोलिक रुपमा विकट भएकाले त्यहाँ २ वटा स्वास्थ्य संस्था स्थापना गरिएको बताए । उनले वडाको कोल्मुडा र चापमा स्वास्थ्य संस्था स्थापना भएको र सल्लीमा पनि स्थापना गर्ने योजना गरेको बताए ।
बाटोको राम्रो सुविधा नभएकाले १२ नम्बर वडाको नायल सल्लीमा छुटै स्वास्थ्य केन्द्रको आवश्यकता रहेकोले स्थापनाको तयारी भइरहेको उनले बताए ।
उनले नगरभित्र रहेका हरेक विद्यालयमा नर्सको नियुक्ति गर्ने योजना अगाडि सारेको भएपनि तत्काल त्यो सम्भव नभएकाले एक वडामा एक नर्स नियुक्त गर्ने तयारी भइरहेको बताए । हरेक वडामा नर्स राख्ने कार्यक्रम यसै महिनादेखि सञ्चालन गरिने उनले भनाइ छ ।















