अत्तरिया – कैलालीको गोदावरीमा २ वर्ष अगाडि देखि सुरु गरिएको जग्गा नापीको काम आधा पनि सकिएको छैन । २०७८ चैत्र ९ गते राष्ट्रिय भूमि आयोग मार्फत गोदावरी नगरपालिका – ५ बाट सुरु गरिएको जग्गा नापीको काम २ वर्ष बित्नै लाग्दा पनि सम्पन्न हुन नसकेको हो ।
गोदावरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन २०७७ पुस २ गते तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग सँग सम्झौता भएको थियो । सोही दिन देखि गोदावरीमा कार्यालय राखेर काम अगाडि बढेको भएपनि हालसम्म ४ वडामा मात्रै नापीको काम सकिएको छ ।


२०७८ साउन १९ गते तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विगठन भएपनि नयाँ गठित राष्ट्रिय भूमि आयोग सँग २०७८ पुस २४ गते पुनः सम्झौता भएर गोदावरीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई जग्गा उपलब्ध गराउने काम हुँदै आएको छ । पुरानै आयोगको कामलाई निरन्तरता दिदै काम अघि बढेको भएपनि हालसम्म पनि नगरमा नापीको काम सम्पन्न हुन सकेको छैन ।
नगरपालिकाका नापी सर्वेक्षक बिनोद पनेरुले गोदावरीका वडा नम्बर १, २, ३ र ५ मा नापीको काम सम्पन्न भएको बताए । उनले वडा नम्बर ४ मा आधा र वडा नम्बर ६ मा आधा भन्दा बढी नापीको काम सम्पन्न भएपनि बाकी वडामा भने नापी नै सुरु नभएको बताए ।

गोदावरीका वडा नम्बर १ र ५ मा नगरपालिकाको नापी टोलीले जग्गा नापीको काम गरेको थियो भने वडा नम्बर २ र ३ मा नगरको टोली सँगै ठेक्का मार्फत जग्गा नापीको काम सकिएको हो । जग्गा नापीका लागि क्युब कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता भएको थियो ।

नापी सर्वेक्षक पनेरुले वडा नम्बर ४ को पहाडी क्षेत्र र वडा नम्बर ११ र १२ को पहाडी क्षेत्रमा नापीका लागि कन्ट्रोल पोइन्ट राख्ने काम भइरहेको बताए । उनले कन्ट्रोल पोइन्ट राख्नेको लागि भूगोल कन्स्ट्रक्सन सँगै सम्झौता गरिएको बताए ।
बाँकी रहेका वडाहरूमा जग्गा नापीका लागि ठेक्का प्रक्रिया अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताए ।
‘नापीका लागि बजेटको पनि व्यवस्थापन गर्नुपर्ने हुँदा गत वर्षको बजेटबाट ६ वडा जतिमा काम सम्पन्न भएको छ’ उनले भने ‘बाँकी वडामा नापीको काम सञ्चालन गर्नको लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेका छौ । त्यही रकमबाट ठेक्कामा दिएर जग्गा नापीको काम अगाडि बढ्छ ।’ उनले नगरपालिका सँग जग्गा नापीका लागि पर्याप्त कर्मचारी र उपकरण नभएकाले ठेक्का प्रक्रियाबाट नापीको काम अगाडि बढाउन लागिएको बताए । उनले ठेक्कामा दिनको लागि स्टमेट बनाउने काम भइरहेको बताए ।
गोदावरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन २० हजार १६६ घरधुरीको लगत संकलन गरिएको छ । जसमा १७ हजार ५५४ अव्यवस्थित बसोवासी रहेका छन भने २ हजार ६१२ परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी रहेका छन ।
नगरपालिकामा ३६ परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको लालपुर्जा तयारी अवस्थामा रहेको जनाइएको छ । बाँकी जग्गा नापी भएका परिवारको लालपुर्जा वितरण लागि जग्गा मल्याङ्कन गर्ने, आवश्यक कागजातका लागि सूचना प्रकाशन गर्ने काम भइरहेको आयोगको कार्यालयले जनाएको छ ।















