अत्तरिया – सुरुमा एलर्जी जस्तै देखियो । टाउकोमा एलर्जीको जस्तै फोका आएपछि उनलाई उपचार गर्न लगियो । त्यतिबेलाको उपचारले केही सञ्चो भएपनि पुनः केही समयपछि उनलाई त्यो रोगले सताउन थाल्यो ।
कैलालीको गोदावरी नगरपालिका – ७ की १५ वर्षिया अनिता बिक अहिले अज्ञात रोगले थला परेकी छन । करिब ८/९ वर्षको छँदा एलर्जी जस्तै देखिएको उक्त रोगले अहिले उनको पुरै शरीर ढाकेको छ ।


उनको अनुहार र शरीरमा भएका छाला सबै निस्किएका छन । केही स्थानमा अलि ठूला ठूला घाउ छन । उनलाई त्यो रोगले असाध्यै पोल्छ र बीच बीचमा कराउँछिन् । परिवारले सक्ने जति उपचार हराएपनि आर्थिक अभावका कारण गुणस्तरीय रुपमा उपचार गराउन सकेका छैनन् ।
गोदावरी – ६ मा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई सुरुमा कहिले काही शरीरमा एलर्जी जस्तो देखिन्थ्यो भने कहिले आफै ठिक भैहाल्थ्यो । तर, दशैँ बिदामा घर बसेकी उनलाई त्यसपछि भने त्यो रोगले असाध्यै च्यापेको छ । उनी उठ्न सक्दिनन्, बस्न सक्दिनन् । सुत्दा पनि रोगको दुखाईले उनी बेलाबेलामा चिच्याउँछिन् । घरको आर्थिक अवस्था एकदमै कमजोर छ ।

४ जनाको परिवारमा उनी सहित बुवा, आमा र बहिनी छन । बुवा र बहिनी दुवै अपांग छन । ६० कटेका उनका बुवा रिउले कामी दुर्घटनाका कारण खुट्टाको चोटले अपांग बने भने १३ वर्षिया बहिनीको एकतिरको हात र खुट्टाले त्यति काम गर्दैन ।

अत्तरिया, धनगढीका प्राय अस्पतालहरूमा देखाए पनि छोरीको रोग पत्ता लाग्न नसकेको अनिताका बुवा रिउले कामीले बताए । उनले घरको आर्थिक अवस्था नाजुक हुँदा बाहिर लैजान नसकिएको बताए । ‘आफू अलि अलि कमाउथे र अपांग बनिहाले, अब त घरमा कोही छैन कमाउने’ उनले भने ‘खानलाउनलाई समस्या भैरहेको बेला छोरीको उपचार कसरी गरु ?’
उनका अनुसार सुरुवाती चरणमा गाउँका प्रायजसो सबै बालबालिकाहरुलाई एलर्जी जस्तो देखिएको थियो । सामान्य औषधी पश्चात अन्य सबै बालबालिकाहरुको रोग निको भएपनि अनिताको भने फेरि बल्झियो । औषधी उपचारकै क्रममा अनितालाई नेपालगञ्ज, काठमाण्डौ लगायतका ठूला शहरका अस्पतालहरूमा लैजान भनिए पनि आफू सँग पैसा नहुँदा लैजान नसकेको उनी बताउँछन ।
केही समय अघि सम्म थोरै थोरै गरेर बल्झिने रोग दशैँको बिदा यता देखि भने बढी देखिएको शैलेश्वरी माध्यमिक विद्यालयका शिक्षक भूमिनन्द नौन्यालले बताए । उनले करिब ६÷७ वर्ष अघि हल्का रुपमा देखिएपनि पछिल्लो केही महिना देखि भने बढी देखिएको बताए ।
‘दशैँ अघि सम्म कहिले कँही फोका फोकीहरु देखिन्थे, नत्र प्राय नर्मल नै थियो’ उनले भने ‘तर दशैँको बिदामा घर गएदेखि भने रोगले बढी समातेको छ ।’ उनले अनिताको उपचारका लागि विद्यालयबाट पनि सहयोग उठाइने बताए । ‘विद्यालयको विद्यार्थीको अवस्था यस्तो छ हामी चुप लागेर बस्दैनौँ’ उनले भने ‘आफूले सक्ने जती सहयोग गर्छौ र विद्यालयका अन्य बालबालिका तथा शिक्षकबाट पनि रकम संकलन गरेर अनिताको उपचारमा सहयोग गर्छौ ।’ उनले कलिलो उमेरकी बालिका अनिताको उपचारमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरे ।
अनिताको उपचारका लागि वडास्तरबाट पनि सहयोग गरिने वडा नं. ७ का वडासदस्य चेतबहादुर ऐरले बताए । आफूलाई भरखरै जानकारी भएको बताउँदै उनले आफूले वडास्तर देखि नगरपालिकासम्म पनि अनिताको उपचारका लागि सहयोग गर्न पहल थाल्ने बताए । ‘यसअघि मलाई जानकारी थिएन, उहाँहरु वडामा पनि आउनुभएन’ उनले भने ‘अब हामीले अनिताको उपचारका लागि वडाबाट मात्रै नभएर नगरपालिकालाई समेत घच्घच्याउँछौ ।’ उनले अनिताको उपचारका लागि आफूले व्यक्तिगत रुपमा पनि सकेको सहयोग गर्ने बताए ।
 
					 
 





 
 
 





 
 







