अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा निर्माणाधीन फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा चाइना कम्पनीले निर्माण गरिरहेको फोहोरमैला व्यवस्थापन केन्द्रको भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको हो ।
एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्ससंग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेको थियो । सुरुवाती चरणमा रुख कटानीका लागि प्रकृयामा ढिलाई हुँदा काम सुरु हुन सकेको थिएन ।


५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा १ हजार बढी रुखहरु काटिएका थिए । पछिल्लो १० महिना धमाधम रुपमा भइरहेको भौतिक संरचना निर्माणको कार्य करिब अन्तिम चरणमा पुगिसकेको प्रोजेक्ट इन्जिनियर अशोक पाण्डेयले बताए । उनले भौतिक संरचना निर्माणको कार्य लगभग ९० प्रतिशत सकिईसकेको र अबको ६ महिनाभित्र भौतिक संरचना निर्माणको कार्य सम्पन्न हुने बताए ।

उक्त फोहोरमैला व्यवस्थापन केन्द्र जानेबाटो संगै बिजुलीको व्यवस्थापनको काम सकिएर हाल फोहोर व्यवस्थापन केन्द्रमा कम्पाउण्ड, फोहोर फाल्ने ब्लक, फोहोर प्रशोधन यन्त्र लगायतका संरचनाहरु निर्माणको काम भईरहेका छन । फोहोरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहोर संकलन गर्ने देखि लिएर डिस्पोजल गर्ने, प्युरिफाई गर्ने र कुहिने फोहोरबाट मल बनाइने बताइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रबाट प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । परियोजनालाई ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । जसमा ७५ प्रतिसत एडिवीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारले सहयोग गरेको छ । सम्झौता अनुसार निर्माणको काम ४ सेप्टेम्बर २०२४ मा सकिनुपर्नेछ ।

२ बर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सकिएपछि पनि ३ बर्ष भने निर्माण कम्पनीले नै संचालन गर्ने छ । ‘निर्माणको काम सकिएपछि ३ बर्ष अपरेशन मेन्टेनेन्सको काम हुने छ’ प्रोजेक्ट मेनेजर पाण्डेयले भने ‘उक्त कार्य निर्माण कम्पनिले नै गर्ने छ र त्यसपछि भने नगरपालिकालार्य हस्तान्तरण हुनेछ ।’ उनले त्यससमयमा फोहोरमैला संकलन वाफतको रकम कस्ले लिने भन्ने विषयमा भने सम्बन्धीत संस्थाहरुबिच छलफल हुन बाँकी रहेको बताए ।
नगरपालिकालाई हस्तान्तरण गरेको १ बर्ष सम्म पनि मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने बताईएको छ । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी तिनवटा स्थानीय तहमा हाल एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गरी तिनवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको छ ।















