अत्तरिया – कैलालीको अत्तरियामा जारी लोटस आई कप अन्तरविद्यालयस्तरिय क्रिकेट प्रतियोगीताको फाईनलमा कञ्चनपुरको ज्योती इंगलिस बोर्डिङ स्कुल र कैलालीको सैनिक आवाशिय महाविद्यालय भिड्ने भएका छन ।
बुधबार भएका दुई सेमिफाईनल खेलमा जित निकालेका ज्योती र सैनिक आवाशियले उपाधीका लागि प्रतिष्पर्धा गर्ने भएका हुन । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा दुर्गालक्ष्मी नमुना माविलाई ६ विकेटले पराजित गर्दै सैनिकले फाईनलको यात्रा तय गरेको हो ।


टस जितेर ब्याटिङ रोजेको दुर्गालक्ष्मीले १९ दशमलब ३ ओभर खेल्दै सबै विकेट गुमाएर १०७ रन बनाउन सक्यो । ७ रनमै पहिलो विकेट गुमाएको दुर्गालक्ष्मीले त्यसपछि भने केही सम्हालिएर खेलेको थियो । तर ३५ रनमा दोस्रो विकेट गएपछि दुर्गालक्ष्मीले मध्यक्रमका विकेटहरु धमाधम गुमाएको थियो । दुर्गालक्ष्मीका अन्त्यका खेलाडीहरुले राम्रो साझेदारी गर्दै टिमको स्कोर एक सय रन माथी पु-याएका थिए । दुर्गालक्ष्मीका तर्फबाट हिमाल बोगटीले २३ रन बनाए । सैनिकका निशान्त भट्टले ३ र बद्री कार्किले २ विकेट लिए ।
१०८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको सैनिकको सुरुवात झन खराब रह्यो । सैनिकले ५ रनमै २ विकेट गुमाएको थियो । तर सुशिल चन्दको हाफ सेन्चुरीको मद्दतले सैनिकले १७ दशमलव ४ ओभरमै जित हासिल ग-यो । चन्द बाहेक सैनिकका प्रशान्त विष्टले २४ रन बनाए । दुर्गालक्ष्मीका मुकेश धामीले ३ विकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका सैनिकका सुशिल चन्दले म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।

यसैगरी बुधबार नै भएको दोस्रो सेमिफाईनल खेलमा जित निकाल्दै ज्योतीले फाईनलको यात्रा तय गरेको हो । सेमिफाईनलमा ज्योतीले कञ्चनपुरकै कञ्चनजंगा माविलाई ३ विकेटले पराजित गरेको हो । टस जितेर फिल्डिङ रोजेको ज्योतीले १२२ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य प्रतियोगीताकै सबैभन्दा बढी हो । उक्त लक्ष्य ज्योतीले अन्तिम ओभरमा भेट्टाउन सफल भएको हो । ज्योतीलाई जिताउन खेलाडी नविन ताम्राकारले महत्वपुर्ण पारी खेलेका थिए । नविनले ४५ रन बनाएका थिए । उनलाई अर्का खेलाडी धर्म वलीले साथ दिए । वलीले १८ रन बनाए । कञ्चनजंगाका खेलाडीले २५ अतिरिक्त रन दिएका थिए ।

त्यसअघि व्याटिङ गरेको कञ्चनजंगाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो । कञ्चनजंगाका दिपेश बमले ३३ रन बनाएका थिए भने भुवन बमले २२ रन बनाए । ज्योतीका आशिष ताम्राकारले ३ र प्रकाश बोगटीले २ विकेट लिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका ज्योतीका नविन ताम्राकार म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।
अत्तरिया क्रिकेट क्लबको आयोजनामा प्रतियोगीता सञ्चालन भएको हो । प्रतियोगीताको फाईनल खेल यही असोज २६ गते विहान ११ बजेदेखी शान्तिपुरको खेलमैदानमा खेलाईने प्रतियोगीताका खेल संयोजक कमल कडायतले जानकारी दिए ।
टि–२० फम्र्याटमा सञ्चालन भैरहेको प्रतियोगीतामा प्रथम हुने टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५/५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
 
					 
 





 
 
 





 
 







