खाेज्नुहाेस

नियतिले बुढेसकालमा एक्लिए प्यारु दम्पती

Image


अत्तरिया – एकताका ठूलो परिवारसँग बस्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बंकका प्यारु दमाई र उनकी श्रीमती प्रेमजला दमाई जिन्दगीको अन्तिम समयमा एक्लिएका छन । परिवारका कोही सदस्यहरूले पनि सहारा नदिँदा उनीहरूले बुढेसकालमा कष्टकर जीवन बिताउन परिरहेको छ । उमेरले प्यारु ७१ वर्षका भैसकेका छन भने प्रेमजला पनि ७० वर्षकी पुगिसकिन्

४ छोरा र एउटा छोरी हुँदा पनि एक्लिनुपरेको दुखेसो उनीहरूको छ । ‘५ छोराछोरी थिए, सबैको बिहेवारी पनि भएको हो’ उनले भने ‘त्यतिका छोराछोरी भएर पनि बुढेसकालमा बुढाबुढि एक्लै छौ, सहारा कोही छैन ।’ उनका ४ छोरा मध्ये ३ वटा छोरा भारतमा काम गर्थे भने एउटा कान्छो छोरा घरमै बस्ने गर्थे । तर नियतिको खेलका कारण उनका ३ वटा छोराको मृत्यु भैसकेको छ भने भएको एउटा जेठो छोराको पनि परिवार सहित भारतको बास छ । भारतमै काम गरिरहेका उनका साईलामाईला छोरा रोग लागेर भारतमै बिते । घरमा भएको कान्छो छोराको पनि केही दिन अघि मात्रै आफन्तबाटै हत्या भयो । बाणी नदी बगरमा मृत फेला परेका उनका कान्छा छोरा कुवेर दमाईको उनकै नातेदारले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक कुवेरका सहोदर भतिज नाता पर्ने २२ बर्षीय अजय दमाई र सहोदर भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाइले वादविवाद हुँदा उनको हत्या गरेपछि अहिले थुनामा छन । 

add everest academy
attariya hospital

प्यारु आफु रोगी छन । उनलाई गम्भीर प्रकृतिको छयरोग (टिभी) लागेको छ । बुढेसकालमा सहारा भनेको उनका लागि बूढी श्रीमती मात्रै छन्, जसले केही गर्न सक्ने अवस्था छैन । अर्कातिर आफू रोगी भएकाले उनले आफूले पनि केही गर्न सक्दैनन् । जसका कारण उनलाई झन समस्या परेको छ । काठको कच्चि चुहिने घरमा जीवन विताईरहेका प्यारुका ४ वटै छोराको बिहे भैसकेको छ । तिन वटा छोराको मृत्यु भएपनि नातिनातिना र बुहारीहरू सँगै जीवन विताउने उनको सपनामा पनि रोगले पूर्णविराम लगाएको छ । श्वासप्रश्वासको माध्यमबाट रोग सर्ने भएकाले प्रायजसो प्यारु नजिक कोही जादैनन् । उनको श्रीमती प्रेमजला भने उनीसँगै छिन । प्यारुका जेठा छोराको परिवार नै भारतमा बस्दै आएको छ । 

navjiwan hospital

कहिले काही मेसो मिले २/३ हजार पठाउनु बाहेक जेठो छोराले अरु केही नगरेको प्यारु बताउँछन । भारतमा बितेका माइलाको श्रीमती पनि छोराछोरीसँग भारतमै बस्छिन् । उनले आफ्नो छोराछोरीको हेरचाह गर्ने तथा उनिहरुलाई शिक्षादिक्षा दिने काम आफैले गरिरहेकी छन । भारतमै निधन भएका साईलाकी श्रीमती भने श्रीमानको मृत्यु पश्चात अर्कैसँग भागेको प्यारुका भतिजा नाता पर्ने राजेश दमाईले बताए । उनका अनुसार साईलाका एउटा छोरा पनि छन, जुन आफ्ना मावलीसँग भारतमै बस्छन । ‘५ छोराछोरीमध्ये बुढेसकालमा कोही भएनन्’ उनले भने ‘उहाँको रोग र परिवारको अवस्थाका कारण सबै आ–आफ्नो बाटो लागे बुढाबुढीलाई कसैले हेर्दैनन् ।’ उनका अनुसार प्यारुका कान्छा छोरा कुवेरकी श्रीमती पनि सासुससुरा सँग बस्दिनन् । उनको आफ्नो श्रीमानसँग विवाद भएकाले उनी विगत ७/८ वर्षदेखी माईतीमै बस्दै आएकी छन । 

‘कुवेरको बानी ठिक थिएन, उ श्रीमतीका गहना बेचेर समेत जाँडरक्सी खाने, परिवारसँग झगडा गर्नेे गर्दथ्यो’ उनले भने ‘त्यसैले भाउजु छोराछोरीलाई लगेर माईतमै बस्नुहुन्छ ।’ उनका अनुसार कुबेरको बानी कै कारण विवाद हुँदा नै उनको हत्या भएको हो । ‘जेठो बुवा (प्यारु) को अवस्था देखेर भारतबाट भतिजा र भान्जा आएका थिए’ उनले भने ‘कान्छा दाजुको बानी व्यहोरा देखेर सम्झाउने क्रममा झगडा भएको रहेछ, रक्सी खाएका तिनै जनाबिच विवाद हुँदा अकस्मात त्यो घटना घट्न गयो ।’ रोगी प्यारुको उपचारका लागि वडाध्यक्ष अर्जुन साउँदले धेरै सहयोग गरेको उनले बताए । ‘जेठो बुवालाई उपचारका लागि धनगढीका अस्पतालमा वडाध्यक्ष ज्यू ले निःशुल्क व्यवस्था गरिदिनुभएको थियो’ उनले भने ‘तर उहाँले त्यहाँ बस्न मान्नुभएर केही दिन बसेर घर फर्किनु भयो । अहिले रोग झन बल्झेको छ ।’ उनका अनुसार वडाध्यक्षले प्यारुको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिन स्वास्थ्यकर्मीसहित घरमै पुग्ने गरेका छन । 

attariya technical collage

वडाध्यक्ष अर्जन साउँदले उनको अवस्था देखेर आफुले सहयोग गरिरहेको बताए । ‘पहिले उहाँको अवस्था त्यस्तो थिएन, उहाँहरु वडामा सहयोगका लागि पनि आउनुभएन’ उनले भने ‘अहिले उहाँको अवस्था एकदमै नाजुक छ, अब उहाँलाई वडाको सहयोगको आवश्यकता देखेर हामीले सहयोग गरिरहेका छौ ।’ प्यारुको उपचारको लागि धनगढीको सेती प्रादेशीक अस्पताल र गोदावरी नगरपालिका – ६ श्रीपुरमा रहेको लक्ष्मी नारायण छयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्रमा उपचार भैरहेको थियो । लक्ष्मीनारायण छयरोग उपचार केन्द्रमा राखिएका प्यारु त्यहाँ नबसी घर फर्किएका अध्यक्ष साउँदले बताए । ‘उहाँको उपचार गर्नका लागि नगरपालिकाबाट निःशुल्क एम्बुलेन्ससहित छयरोग उपचार केन्द्रमा राख्यौ’ उनले भने ‘तर उहाँ फर्केर घर आउनुभयो ।’ वडाध्यक्ष साउँदले हाल पटक पटक आफुले नगरकै स्वास्थ्यकर्मीको टोली लगेर प्यारुको स्वास्थ्य चेकजाँच गराईरहेको बताए । ‘हामी वडा तथा नगरबाट दिनुपर्ने सहुलियतका लागि कमी गर्दैनौ’ उनले भने ‘अहिले पनि हामीले उहाँको उपचारमा कमी हुन दिएका छैनौ, आगामी दिनमा पनि हुन दिदैनौ ।’ उनले प्यारुको चुहिने कच्चि घरको विकल्पमा नगरपालिकामा आउने सुरक्षित आवास कार्यक्रममार्फत नयाँ घर बनाईदिने योजना बनाएको बताए । 

उनले हाल वडाबाट सामाजिक सुरक्षा भत्ता पाइरहेका प्यारुलाई टिभी रोगको उपचारका लागि पनि भत्ता पाइने हुँदा त्यसका लागि बैंक खाता खोलिदिएको बताए । नियतिले एक्ल्याएका प्यारु दम्पतीलाई जीवनको अन्तिम समयमा साथ सहयोगको आवश्यकता भएपनि पाउन सकिरहेका छैनन् । संयुक्त परिवारमा बसेका प्यारु दम्पती जीवनको अन्तिम समयमा एक्लो बनेका छन । ५ छोराछोरी, नातिनातिना लगायतको परिवार भएर पनि एक्लो जीवन बताईरहेका प्यारु दम्पतीलाई नियतिले साथ नदिई बुढेसकालमा सहाराको भिख माग्नुपर्ने अवस्था आएको छ ।