सुर्खेत – २० वर्ष नेपाली सेनामा जागिर गरेका मान बहादुर शाहीले अवकासपछि कृषि पेसा रोजे । कृषिलाई थप आयआर्जनको माध्यम बनाउने सोचका साथ कृषिमा होमिएका वीरेन्द्रनगर नगरपालिका – ९ पर्सेनीका शाहीले कृषिका लागि आवश्यक पर्ने सिप गाउँलेबाटै सिकेका थिए ।
शाहीले ५ बर्ष अघि व्यवसायीक तरकारी खेती गर्न खोज्नु अघि नै सो गाउँमा तरकारी खेती गर्ने किसान धेरै थिए । उनले पनि गाउँलेहरुकै सिको गरेर आफ्नो ५ कठ्ठा जग्गामा काउली, मुला, आलु, गाजर, प्याज, सिमी रोप्न थाले । तरकारी खेती गरेर उनले बार्षिक रुपमा २ देखि ढाइ लाख सम्मको तरकारी बिक्री गर्न थाले । यसमा लगानी भने एक तिहाइ बढी हुुन्थ्यो ।

कृषिमा उनी संगै उनकी श्रीमती, छोराछोरीले साथ दिएका थिए । तर, कृषिमा पुरै परिवार होमिएको भएपनि उनले लागतको तुलनामा आम्दानी भने त्यती नभएको महशुस गर्थे । ‘गाउँलेहरुले गरेको खेती देखेर म पनि तरकारी खेतीमा होमिएको थिए । खेती गर्दै जाँदा सबैभन्दा बढी रोग किराको समस्याले सताउन थाल्यो’ उनले भने ‘बालिमा बिषादी हाल्दैमा धेरै लगानी लाग्ने गरेको थियो ।’
२ वटा प्लाष्टिक टनेल बनाएर खेती गरिरहेका शाहीले १ बर्ष देखि भने विषादी रहित रसायनिक मलको प्रयोग नै नगरी तरकारी खेती गरिरहेका छन । सामुदायिक सिकाई केन्द्रमा आवद्ध भएका उनी जलवायु अनुकुलन कृषि प्रविधिको प्रयोग गरेर तरकारी खेती गरिरहेका हुन ।
‘अहिले म मात्रै नभएर समुहमा हामीले घरमै जैविक बिषादी र कम्पोष्ट मल, गड्यौंला मल प्रयोग गरेर तरकारी खेती गरिरहेका छौ’ उनले भने ‘वारीमा किरा देखिए पनि च्यापे पासो, बत्ती पासो प्रयोग गरेका छौ ।’

उनले संघसस्था आएर विषादी नहाली तरकारी खेती गराउन सिकाएपछि हाल लगानी पनि घटेको बताए । उनले पछिल्लो समय तरकारीे २ देखि ढाई लाख नै कारोबार हुने गरेको भएपनि लगानी भने ३० देखि ४० हजार मात्रै हुने गरेको बताए ।
उनले तरकारी खेती गर्न मुख्य चुनौती रोग किराकै भएको बताए । उनले भने ‘रोगको मुख्य समस्या हुन्छ । हामीले धान काटेर आलु लगाउन्छौ तर, आकाशमा २ दिन बादल लागे डडुवा लागिहाल्छ । टमाटरमा पनि डढुवा लागेको छ ।’
उनले बारीमा रोग किराको प्रकोप किन बढिरहेको छ भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताए । ‘बुवा बाजेको पालामा घरमै खान लगाएको तरकारी भएपनि मज्जाले फलेको हुन्थ्यो । रोग देखिदैनथ्यो’ उनले भने ‘अहिले खै किन माटोमै केही समस्या भयो की ? रोग धेरै फैलिएको छ ।’
कृषक बिना शाहीले संघसस्थाको सहयोगपछि खेती गर्ने तरीकामा फरक भएको बताइन् । उनले पनि उत्पादन पहिलेको तुलानामा बढेको बताइन् । उनले जैविक मल बनाउन गाईको गहुँत, तितेपाते बकाइने खुर्सानी लसुन असुरो सिस्नु मेवाको पात प्रयोग गर्ने गरेको बताइन ।

बर्षौदेखि पर्सेनीमा किसानहरु तरकारी खेतीमा आवद्ध भएपनि खेतीमा अत्याधिक रसायनीक मल, बिषादीको प्रयोग र जलवायु परिवर्तनको कारणले भने उत्पादन घट्नुको साथै किसानको स्वास्थ्यमा समेत प्रभाव पर्न थालेको थियो । समयमा पानी नपर्नु, नयाँ नयाँ रोग किराको प्रकोप देखिने समस्याले किसान हैरान भएपनि उनीहरुले यसको मुल कारण के हो भन्नेमा जानकार थिएनन् । पछिल्लो १ बर्ष देखि जिआइजेडको आर्थीक सहयोगमा सिप्रेड मार्फत जलबायु परिवर्तनको असरको न्यूनिकरण गर्न जलवायु अनुकुल कृषि प्रविधि कार्यक्रम संचालन भएपछि किसानहरुले राहत महशुस गर्न थालेका छन ।
सिप्रेदका कृषि प्राविधिक रामदेव शाहले वातावरण परिवर्तनका कारण किसान प्रभावित भएकाले अनुकुलन कार्यक्रम संचालन गरिएको बताए । ‘वातावरण परिवर्तनले मुख्य रुपमा रोग किराको प्रकोप बढी देखिएको थियो । बिभिन्न नयाँ प्रकारका झारहरु पनि देखिएका थिए’ उनले भने ‘किसानहरुले बढी उत्पादन लिनको लागि हाइब्रिड बीउ र रसायनीक मल प्रयोग गरे । तर, त्यसले वातावरमा प्रभाव परेको थियो ।’
उनले पछिल्लो समय कृषिमा जलवायु परिवर्तनको असर कम गर्न जैविक मल, बिषादी प्रयोग, गोठे मलमा सुधार, पानी रिजार्च पोखरी निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरेको बताए ।
‘पहिले यो क्षेत्रमा किसानहरुले बिषादी प्रयोग गर्दै आएका थिए । किसानहरुले धेरै बिषादी प्रयोग गरेर आफ्नो ज्यान समेत जोखिममा पारेका थिए । किसान बिषादीमा अभ्यस्त भएर खेती गरिरहेकाले सुरुमा हामीले बिषादी विना तरकारी उत्पादन गर्न सकिन्छ भनेर पनि पत्याएका थिएनन्’ उनले भने ‘पछि हामीले जलबायु अनुकुलन कार्यक्रम संचालन गर्नको लागि किसानकै खेतमा किसानबाटै अनुसन्धान गराएर जलवायु अनुकुलन कार्यक्रम संचालन गरेका छौ ।’ उनले जलवायु अनुकुल खेती प्रविधि अपनाएर हाल जलवायु परिवर्तकोको जोखिमबाट किसानलाई जोगाउन सहज भएको बताए ।
तस्बिरहरु























