अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा किसान परिचय पत्र वितरण कार्य भैरहेको छ । नगरपालिकामा करिब १ वर्ष अघि परिचय पत्र वितरणको काम सुरु गरिने भनेर उद्घाटन गरिएपनि गत साउन देखि मात्रै परिचय पत्र वितरणको काम सुरु गरिएको हो ।
साउन ३ गते देखि मात्रै नगरमा किसान परिचय पत्र वितरणको काम सुरु गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिइन । उनले किसानहरुलाई परिचय पत्र वितरण गर्ने भनेर एक वर्ष अगाडी उद्घाटन गरिएपनि तथ्यांक इन्ट्रिमा समय लागेकाले ढिलाई भएको बताइन ।


‘गणकहरुले गाउँगाउँबाट तथ्यांक संकलन गरेर ल्याईसकेपछि हामीले इन्ट्रि ग¥यौ, त्यसमा केही ढिलाइ भयो’ उनले भनिन् ‘त्यसपछि त्यो तथ्यांकलाई हार्ड कपि बनाउनुपर्ने भयो, त्यही प्रकृयामा समय लाग्यो ।’ उनले नगरमा करिब १५ हजारको हाराहारीमा किसानहरुलाई परिचय पत्र वितरण गरिने बताइन् ।
नगरले किसानहरुको तथ्यांक संकलनका लागि राष्ट्रिय कृषक महासंघ नेपाल सँग समन्वय गरेको थियो । महासंघसँगकै सहकार्यमा तयार गरिएका कार्डहरु नगरले किसानहरुलाई वितरण गरिरहेको हो । नगरपालिकाकी कृषि शाखा प्रमुख मल्लले गाउँ गाउँबाट गणकहरुले ल्याएका डाटाका आधारमा किसानहरुलाई परिचय पत्र वितरण भैरहेको बताईन । ‘हामीले किसानहरुको तथ्यांक संकलनका लागि ४२ जना गणकहरु खटाएका थियौ’ उनले भनिन् ‘उनिहरुले गाउँगाउँबाट ल्याएको तथ्यांकको आधारमा कार्ड बनाएर वितरण गरिरहेका छौ ।’

नगरका सबै वडाहरुका कार्ड पठाईसकिएको र वडाहरुले धमाधम वितरण गरिरहेको उनले बताईन । उनका अनुसार वडा नं. ११ र १२ भने कार्डहरु पठाईएको छैन । उक्त वडाहरुमा केही दिन भित्रै कार्ड पठाईने उनले बताईन । नगरमा हाल १५ हजार ६६६ किसानहरुको तथ्यांक संकलन गरिएको छ । नगरभित्रका किसानहरुलाई वर्गिकरण गरी उनीहरुको जमिनको आधारमा गरिएको कृषि खेती र उक्त खेतीबाट हुने आम्दानीको स्रोतलाई आधार बनाई ४ किसिमका परिचय पत्र नगरपालिकाले वितरण गर्न सुरु गरेको हो ।

जसमा रातो अर्थात भूमिहीन, सीमान्तकृत र कृषि मजदुर परिचय पत्र पाउने किसानको संख्या ४ हजार ७७, सेतो अर्थात साना किसानको परिचय पत्र पाउने किसानको संख्या ७ हजार ९५०, पहेलो अर्थात मझौला परिचय पत्र पाउने किसानको संख्या २ हजार २४४ र निलो अर्थात ठूला किसानको परिचय पत्र पाउने किसानको संख्या १३३ रहेको छ । तथ्याङ्क लिइएका मध्ये केही किसान भने कुनै पनि सूचीमा परेका छैनन् । जसमा १ हजार १६३ सुचिकृत नहुनेमा र ९९ जना क्रुटि भेटिएकोमा समावेश गरिएका छन । तथ्यांकको आधारमा हेर्दा नगरमा १४ हजार ४०४ जनालाई किसान परिचय पत्र वितरण गरिने भएको छ ।
नगरपालिकाको तथ्यांक अनुसार परिचय पत्र पाउने सबै भन्दा बढी किसान वडा नं. ४ का रहेका छन भने सबैभन्दा कम वडा नं. वडा नं. ११ का रहेका छन । परिचय पत्र पाउनेमा वडा नं. १ का १ हजार ४८८ जना, वडा नं. २ का १ हजार १२३ जना, वडा नं. ३ का १ हजार ४४१ जना, वडा नं. ४ का १ हजार ६९५ जना, वडा नं. ५ का १ हजार २५५ जना र वडा नं. ६ का १ हजार ३३८ जना रहेका छन ।
यसैगरी वडा नं. ७ का १ हजार ६ जना, वडा नं. ८ का १ हजार ६४४ जना, वडा नं. ९ का १ हजार ३३ जना, वडा नं. १० का १ हजार ३४३ जना, वडा नं. ११ का ८७१ जना र वडा नं. १२ का १ हजार ४४ जना किसानले परिचय पत्र पाउनेछन ।
किसान परिचयपत्र वितरणका लागि गोदावरी नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिसकेको छ ।
जसमा परिचयपत्र अनुसार रातो कार्ड भएका किसानहरुलाई १०० प्रतिशत, सेतो कार्ड भएका किसानलाई ७५ प्रतिशत, पहेँलो कार्ड भएका किसानहरुलाई ५० प्रतिशत र निलो कार्ड भएका किसानहरुलाई २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको छ । त्यस आधारमा नगरपालिकामा भएका किसानहरुले अनुदान वा सरकारी संस्थाबाट पाईने सेवा सुविधा पाउँदा एउटै किसान दोहोरीने सम्भावना कम हुने र सरकारको सहयोग वास्तविक किसान समक्ष पुग्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले किसानहरुलाई वर्गिकरण गरि परिचय पत्र प्रदान गर्नुको पहिलो उद्देश्य नगरमा भएका किसानहरुको तथ्यांक राख्नु हो भने त्यसपछि को उद्देश्य भनेको वास्तविक किसानसमक्ष सरकारी निकायबाट प्राप्त सेवा सुविधा पु¥याउनु हो । अहिले देशमा तिन तहका सरकार छन । यस्तो अवस्थामा कुनै व्यक्तिले दुईतिन ठाउँबाटै सेवा सुविधाहरु पाउने र कसैले केही पनि नपाउने परिपाटीको अन्त्यका लागी नगरपालिकाले उक्त कार्य थालेको हो । नगरपालिकामा किसानको परिचयपत्रको आधारमा सेवा सुविधा दिने कार्य हुनेछ । जसले गर्दा वास्तविक किसानहरुले सरकारको सेवा सुविधा पाउने अपेक्षा लिईएको छ ।
 
					 
 





 
 
 





 
 






