अत्तरिया – कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै कैलालीका एक युवा ११ दिन देखि धर्नामा बस्दा पनि सरकारले बेवास्ता गरेको छ । काठमाण्डौंको माइतिघर मण्डलामा ११ दिन देखि धर्नामा बसेका कैलालीको गोदावरी नगरपालिका – १ बसन्तपुरका पर्वत राज जोशीका मागहरुको सरकारले बेवास्ता गरेको हो ।
गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारी घोषणा कार्यान्वय र ६ सय शैय्याको अस्पताल संचालनको माग गर्दै जोशी ११ दिन देखि धर्नामा बसेका छन । तर, धर्नामा बसेको ११ दिन वितिसक्दा पनि अहिले सम्म राज्य पक्षबाट कसैले पनि वास्ता नगरेको जोशीले बताए ।
गेटामा सरकारले माघ २९ गते शहिद दशरथ चन्दा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेको भएपनि उक्त निर्णय अझै कार्यान्वयमा जान सकेको छैन् । सरकारले स्वास्थ्य विश्वविद्यालय बनाउनको लागि भनेर ऐन निर्माणको काम अगाडी बढाएको भएपनि उक्त ऐन हाल अर्थ मन्त्रालयमा अड्किएको छ । हाल सरकारले १ सय बेडको ओपिडी सेवा सहितको अस्पताल सुचारु गर्ने भनेर प्रक्रिया अगाडी बताएको छ । जसले गर्दा कुन मोडालिडिमा जानको लागि हाल काम भइरहेको छ भन्ने अन्योल झन बढेको छ ।

अन्योलकै बीच सरकारको स्पष्ट धारणा माग गर्दै जोशीले ११ दिन देखि काठमाण्डौं केन्द्रित आन्दोलन गरिरहेका छन । उनले आफ्नो आन्दोलनमा बिभिन्न व्यक्तिहरुले समर्थन जनाएपनि सरकारबाट भने कुनै सुुनुवाई नभएको बताए ।

‘आन्दोलनमा समर्थन जनाउँदै सुदूरपश्चिमका सांसद नेताहरु आउनुु भएको थियो । तर, राज्यपक्षबाट भने मेरा मागका बारेमा कोही बुझ्न पनि आएका छैनन्’ उनले भने ‘मागको सुनुवाइ भएन, मेरा कुरा सुनेनन् भनेर म चुप लागेर बस्दैन । बरु १ हजार दिन आन्दोलन गर्नुपरे पनि म तयार छु तर, माग सुनुवाई नहुँदा सम्म मेरो आन्दोलन रोकिदैन ।’ उनले मेडिकल माफियाहरु भने आन्दोलन रोक्न दवाव दिइरहेको बताए । उनले दवाव दिनेको नाम भने खुलाउन चाहेनन् ।
उनले सरकारले माग सुनुवाइका लागि बेवास्ता गरेकाले आफ्नो आन्दोलनका कार्यक्रम अब झन सशक्त हुने बताए । ‘अब मौन संगै आवरण र आमरण आनशनका कार्यक्रम सुरु गर्छु । गेटामा ६ सय शैय्याको स्वास्थ्य विश्वविद्यालय बन्ने सुनिश्चितता नहुँदा सम्म आन्दोलन चरणवद्ध अगाडी बढ्छ’ उनले भने ‘अहिले विहान १० बजे देखि ५ बजे सम्म धर्ना दिइरहेको छु । यसमा राज्यले सुनुवाई नगरे अन्य चरणका आन्दोलन सुरु गर्छु । अन्तिम स्वास रहेसम्म आन्दोलन जारी रहन्छ ।’
उनले पछिल्लो समय गेटामा स्वास्थ्य विश्वविद्यालयका नाममा भइरहेको आन्दोलन पार्टीहरुले रोकिसकेकाले सेलाएको बताए । ‘अहिले सुदूरपश्चिममा पार्टीहरुले आन्दोलनमा सहभागि पार्टीका मान्छेहरुलाई रोकिसकेको छ’ उनले भने ‘नेतृत्व अगाडी नआउँदा आम नागरिकले स्वस्फुर्त रुपमा अगाडी बढ्न सक्नुभएको छैन । अहिले बुझ्ने मान्छे पनि नबुझेको जस्तो गरेर बस्नु भएको छ ।’
उनले संघर्ष समितिले आफूलाई समर्थन दिएको भएपनि उनीहरु प्रत्यक्ष रुपमा सहभागि भने नभएको बताए । उनले हाल आफ्नो व्यक्तिगत खर्च गरेर ११ दिन देखि काठमाण्डौंमा आन्दोलनका कार्यक्रम गरिरहेको बताए । उनले एक दिन आफ्नो आन्दोलनले आक्रामक रुप लिने र, राज्य माग पुरा गर्न बाध्य हुनेमा आफु विस्वस्त रहेको बताए ।

















