खाेज्नुहाेस

पुस्तैनी पेशा सम्हाल्दै दलजित

Image
फाईल फोटो

अत्तरिया – उमेरले ६७ पुगेका दलजित टमटा आरनको काम गर्छन । कैलालीको गोदावरी नगरपालिका – ३ घर भएका उनि करिब ३० वर्षदेखी निरन्तर रुपमा सो काम गरिरहेका छन । पुख्र्यौली घर डडेल्धुराको समैजी गाविस – ७ कोटेलीमा बस्ने उनको परिवार २०५२ सालताका तराई झरेको थियो ।

तराईमा घरबासका लागि जमिन भएपनि दैनिकी गुजार्नलाई केही नभएपछि बुवाले गर्दै आउनुभएको काम उनले पनि थालनी गरे । उनले बुवावाट सिकेको आरनको कामलाई हालसम्म पनि सम्हालिरहेका छन । ‘५२ सालतिर यता आयौ, त्यसैबेला देखी मैले यो काम थालेको हु’ उनले भने ‘हाम्रो पुर्खाले यो काम गर्दै आएका थिए, त्यही सिपलाई अहिले मैले सम्हालिरहेको छु ।’ ६७ वर्षको उमेरमा पनि आरनको काम गरेर उनले परिवार खर्च जुटाइरहेका छन । १० जनाको परिवारको लालनपालनमा दुई छोराहरु पनि उनको सहयोगी बनेका छन । तर जेठो बुहारी क्यान्सरको बिरामी भएपछि भने उनलाई आर्थिक रुपमा झनै समस्या पर्न थालेको उनि बताउँछन ।

add everest academy
attariya hospital

‘जेठो बुहारी क्यान्सरको बिरामी छ, अस्पतालमा धाइरहनुपर्ने भएकाले जेठो छोराले पनि केही काम गर्न पाएको छैन’ उनले भने ‘कान्छो छोरा भारतमा छ, त्यसको कमाई र मेरो कमाईले परिवार पालिरहेका छौ ।’ उनले जेठो बुहारीको उपचारमै परिवारको आम्दानीको सबै रकम सकिने गरेको बताए । उनको जेठो छोराले पनि फुर्सदको समयमा आरनको काम गर्ने गर्दछन । तर दलजितले झै दैनिक रुपमा भने गर्दैनन् । भारतमा काम गर्ने दलजितका जेठा छोराले फुर्सदमा घरमा भएको बेला मात्रै आरनको काम गर्ने गर्दछन् ।

navjiwan hospital

आरन व्यवसाय बाट अपेक्षा गरेजस्तो आम्दानी नहुने देखेर नै उनका छोराहरु विदेशीएका उनले बताए । पछिल्लो समयका युवाहरु आम्दानी पनि नहुँने र मेहनत पनि बढी लाग्ने भएकाले आरन पेशा कमै मात्रामा अंगाल्ने गरेको दलजित बताउँछन । ‘आरनको काममा मेहनत धेरै छ, दिनभरी आगोमा बस्नुपर्छ, फलाम ठोक्नुपर्छ’ उनले भने ‘यती गर्दा पनि कमाई खासै हुदैन, त्यसैले पनि पछिल्लो समय युवाहरु यसमा ध्यान दिदैनन् ।’ उनले आफुले भने एकातिर बाजेबुवाको पेशा जोगाउन र अर्कातिर थोरै भएपनि परिवारलाई राहत दिलाउन यो व्यवसाय अंगालेको बताए । आरनको कामलाई पछिल्लो समय आफुले व्यवसायीक रुपमा गर्न थालेको उनि बताउँछन ।

‘गाउँतिर आरनको काम गर्दा धान, गहुँ लगायतका अन्न दिन्थे, त्यसले परिवारका अन्नको मी नभएपनि अन्य आवश्यकताहरुका लागि समस्या हुने गर्दथ्यो’ उनले भने ‘त्यसैले अहिले व्यवसायीक रुपमा आरनको काम गर्छु, फलामका भाँडाकुडाहरु बनाएको अलग र आरन लगाएको अलग रुपैया लिने गरेको छु ।’ उनका कान्छा छोराले भने आरनको काम सिकेका छैनन् । परिवारमा आर्थिक समस्या देखेर नै १० कक्षामा पढ्दै गरेको कान्छो छोरालाई भारत पठाउनुपरेको दलजितले बताए । उनले पुस्तादेखी नै चल्दै आएको आरनको काम आफु छन्जेल सम्म नछाड्ने बताए । ‘पुर्खादेखी गरिदै आएको काम हो, छोड्न सक्दिन’ उनले भने ‘यसले पुर्खाको पेशा पनि बचेको छ र मेरो परिवारको पालनपोषण पनि भैरहेको छ ।’

attariya technical collage

सुरुवाती चरणमा गाउँ गाउँ गएर आरनको काम गर्ने दलजितले पछिल्लो ५ वर्षदेखी भने कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको पुर्वपश्चिम महेन्द्र राजमार्ग छेउमा रहेको टहरामा काम गरिरहेका छन । सो व्यवसायकै लागि उक्त ठाउँमा टहरा बनाएको उनले बताए ।
‘बन कार्यालयले कैलेकाँही आएर टहरा भत्काईहाल्छ, त्यसपछि फेरी समस्या हुन्छ’ उनले भने ‘यहाँका सबैलाई मैले सेवा दिएको छु, मैले सामुदायीक बनको क्षेत्रफल मासेको छैन, हामीलाई किन दुःख दिनुप-यो ?’ उनले जमिन कब्जा गर्ने उद्देश्यले बसेकाहरुलाई भने उठाईनुपर्ने बताए । टहरामा गोदावरी नगरक्षेत्रका मात्रै नभई कृष्णपुर नगरपालिकाका विभिन्न स्थानहरुबाट आरनको लागि आउने गरेको उनि बताउँछन ।

‘वर्षाै भयो यो पेशा थालेको छ, यो काममा पोख्त छु’ उनले भने ‘त्यसैले मेरो काम चित्त बुझाउनेहरु टाढा टाढा बाट पनि आउने गर्नुहुन्छ ।’ आरनका लागि नजिकै रहेको चौँकीडाडा सामुदायीक बनबाट उनले कोईला ल्याउने गर्दछन । कोईलाका लागि बनका काचा रुख काट्ने काम आफुले नगरेको उनि बताउँछन । ‘यो सामुदायिक बनको सदस्य म पनि हुँ, यसको सुरक्षाको जिम्मेवारी मेरो पनि हो’ उनले भने ‘मैले काचा रुख काटेको छैन, जंगलभित्र झरेका सुकेका काठका टुक्राहरु ल्याउँछु र प्रयोग गर्छु ।’

हाल सडक किनारमा बसेर आरनको काम गरिरहेका उनि सडक कार्यालयले हटाए समस्यामा पर्ने बताउँछन । ‘सडक नजिक जमिन छैन, घरनजिकै आरनका लागि कोही आउँछैनन’ उनले भने ‘बनले हटाएपछि सडकको क्षेत्रमा बसेका छौ, यहाँबाट सडकले नि हटाए त समस्यामा पर्छौ ।’