अत्तरिया – स्थापनाको ६ वर्ष वित्नै लाग्दा पनि कैलालीको अत्तरियामा स्थापना गरिएको कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । कृषि थोक बजार भित्र २०७५ सालमा निर्माण थालिएको उक्त कोल्ड स्टोर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।
कृषि उपज थोक बजारमा फाउण्डेसन तयार गरिएको भएपनि आवश्यक उपकरण जडान हुन नसक्दा कोल्ड स्टोर संचालनमा आउन सकेको छैन । निजी क्षेत्रको पहलमा कोल्ड स्टोर निर्माण गर्ने भनेर स्थापना थालिएपनि संघिय सरकार मातहतमा रहेको कृषि उपज थोक बजारमा निजी क्षेत्रले लगानी लगाउन नमिल्ने भएपछि सरकारले निर्माणको प्रकृया थालेको थियो । कोल्ड स्टोर निर्माणका लागि कृषि मन्त्रालय मार्फत अर्थ मन्त्रालयले ५० लाख रुपैया, गोदावरी नगरपालिकाले ४५ लाख रुपैया र कृषि बजार व्यवस्थापन समितिले १० लाख रुपैया लगानी लगाएका थिए । उनिहरुकै लगानीमा कोल्ड स्टोर निर्माण प्रकृया अगाडी बढाईएको थियो ।


तर रकम अपुग भएको भन्दै ठेकेदार कम्पनिले काम अलपत्र छोड्दा हालसम्म पनि उक्त कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । २०७५ पुषतिर कोल्ड स्टोर निर्माणका लागि १ करोड ५ लाखमा सम्झौता गरिएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए । उनले सम्झौताको ६ महिना भित्रै नै बाहिरी संरचना निर्माण भएको भएपनि आवश्यक उपकरण जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनिले काम नगर्दा कोल्ड स्टोर अलपत्र परेको बताए ।

भट्टले ठेकेदार कम्पनि र सरकारको बेवास्ताका कारण कोल्ड स्टोर अलपत्र परेको बताए । ‘कोल्ड स्टोरका लागि हाल आवश्यक बजेट छ तर ठेकेदार कम्पनिले मतलब गरेको छैन’ उनले भने ‘ठेकेदार कम्पनिले लापरबाही गर्दा पनि सरकार मौन बस्दा झन समस्या निम्तिएको हो । सरकारले एक्सन लिन सकेको भए यो कोल्ड स्टोर त्यतिबेलै सञ्चालमा आईहाल्थ्यो ।’
उक्त क्षेत्रमा साढे ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न थालिएको हो । १ करोड २२ लाख लगानी लागिसकेको कोल्डस्टोरमा उपकरण जडान गर्न ४ बर्ष अघि ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । उपकरण जडानको जिम्मा पाएको ठेकेदार कम्पनिले उपकरण नल्याउदा समस्या भएको भट्टले बताए । ‘कोल्ड स्टोरमा ९ वटा उपकरणहरु जडान गर्नुपर्ने हो, हाल एउटा मात्रै ल्याएर राखिएको छ’ उनले भने ‘८ वटा अझै ल्याउन बाँकी छन भने ल्याएको एउटा पनि जडान गरिएको छैन ।’

उनले कोल्ड स्टोर सञ्चालमा आए स्थानिय कृषकहरुलाई एकदमै राहत पुग्ने बताए । उनले कृषकहरुले उत्पादन गरेका बस्तुहरुको मुल्य नपाउँदा बारीमै कुहिने अवस्था रहेकामा कोल्ड स्टोरले उक्त समस्या समाधान गर्ने बताए । स्थानिय स्तरका कृषकहरुले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य प्रदान गर्नका लागि पनि कोल्ड स्टोर आवश्यक रहेको बताउदै उनले ठेकेदार कम्पनिको लापरबाहीका कारण किसानहरुले मुल्य नपाईरहेको बताए ।
कृषि उपज थोक बजार केन्द्रमा हाल भारत लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । प्रदेशकै केन्द्रमा रहेको यो बजारमा कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुल बिग्रने गरेका कारण किसान तथा व्यवसायी ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएका छन ।
 
					 
 





 
 
 





 
 






