अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ७ मा पर्ने राजकाँडा क्षेत्रलाई ऐतिहासिक महत्वको क्षेत्रका रुपमा लिने गरिन्छ । यहाँ ऐतिहासीक महत्व बोकेका विभिन्न सम्पदाहरु छन । उचो र पहाडी क्षेत्रमा भएकाले यहाँबाट चिसापानी, लम्की, टीकापुर, बर्दिया लगायतका क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने कर्णाली र भेरीको संगमलाई पनि यहाँबाट नियाल्न सकिन्छ ।
यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ । उत्तरतर्फ नै धेरै पर सेताम्मे हिमाल पनि राजकाँडाबाट सहजै देख्न सकिन्छ । कर्णाली नदीको पुल, बिहानीपखको सुर्योदय पनि यहाँबाट देखिने भएकाले पर्यटकहरु लोभिने गर्दछन । त्यतिमात्रै नभई राजकाँडा कुनै बेलाको धुलीकोट राज्यको मुकाम पनि हो । राजाको दरबारका भग्नावशेष, हात्ति ढुंगा लगायतका पुरातात्विक संरचनाहरु भएकाले यो क्षेत्रलाई ऐतिहासिक महत्वका रुपमा लिने गरिन्छ । वातावरणीय मौसम पनि एकदमै राम्रो, तराईतिरको गर्मी छल्नका लागि पनि राजकाँडा क्षेत्रमा पर्यटकहरुको आवागमन राम्रै हुने गरेको छ । पर्यटकहरुको आवागमन बढेपनि विकासका पुर्वाधार नहुँदा बस्ती भने रित्तिदो अवस्थामा छ ।


बस्ती रित्तिरहेको अवस्थामा लम्कीका एक जनमुक्ती जोडी भने बढ्दै गएका पर्यटकहरुलाई थाम्नको लागि राजकाँडामा बसेका छन । उनिहरुले त्यहाँ होमस्टे सञ्चालन गरेर पर्यटकहरुको बिटो थाम्ने काम गरिरहेका छन । जनमुक्ति सेनाका पुर्वलडाकुद्धय मीनबहादुर बोहरा र उनकी श्रीमती ममता बोहराले कोरोना महामारी देखि नै राजकाँडामा पर्यटकहरुका लागि होमस्टे सञ्चालन गर्दै आएका छन ।
२०५८ तिर भूमिगत भएका उनीहरुले २०६८ मा स्वेच्छिक अवकाश रोजेका थिए । स्वेच्छिक अवकाश पश्चात पाएको रकम लगानी गरेर लम्कीचुहा नगरपालिकाको मोतिपुरमा करिव ५ वर्ष होटल चलाएका उनिहरुलाई कोरोनाको महामारीले सतायो । कोरोनाका कारण होटल चल्न बन्द भएपछि उनले विकल्पको रुपमा राजकाँडा रोजेका हुन । मिनबहादुरको पुख्र्याैली थलो हो राजकाँडा । जहाँ उनका बुवा तुलबहादुर क्षेत्री र आमा चम्फादेवी बोहरा बस्दै आएका छन ।

‘धेरैपछि कोरोना महामारीको बेला पुख्र्यौली थलो पुग्दा एकदमै निराश भए’ उनले सुनाए ‘उजाड बस्ती, जताततै खण्डहर बनेका घरहरुका बीच राजकाँडामा मान्छेको चहलपहल थिएन, गाउँमा वृद्धवृद्धाहरु मात्रै देखिन्थे ।’ केही दिनको बसाईका क्रममा राजकाँडामा पर्यटकहरुको आवागमन देखेको मिनबहादुरले बताए । उनले बस्ने स्थानको अभावका कारण बिहान आउने र साँझ फर्कनुपर्ने बाध्यता रहेको पर्यटकको मनसाय बुझेर होमस्टे सञ्चालन गर्ने योजना बनाएको बताए ।

पुख्र्याैली जमिन भएकाले उनलाई होमस्टे सञ्चालमा समस्या भएन । पुख्र्याैली जमिनमा पर्यटकका लागि बस्ने घरहरु र होटल बनाएका उनले कोरोना कालदेखि निरन्तर रुपमा पर्यटकहरुलाई सेवा दिईरहेका छन । अहिले होमस्टेका लागि होटलको सबै काम उनकी श्रीमती ममताले सम्हाल्ने गर्छिन भने उनले होटलका लागि आवश्यक सामग्रीहरु ओसार्ने काम गर्दै आएका छन । ‘काम गर्ने दुई जना मात्रै छौ, सबै काम आफै हेर्छाै’ उनले भने ‘होटलमा २०÷२५ जनालाई खानबस्नको व्यवस्था छ । अहिलेसम्म धेरै मानिसहरु आएर बास बसिसकेका छन ।’
उनले आफैले खसी, बोका, कुखुरा, कालिज लगायतका जनावरहरु पालेका छन । ‘आफैले फर्म बनाएर विभिन्न जनावरहरु पालेको छु’ उनले भने ‘यहाँ आउने पाहुनाहरुलाई कुनै कुराको कमी नहोस भन्ने हाम्रो चाहना हुन्छ ।’ उनले होमस्टेमा आउने पर्यटकहरुलाई गाउँमै फलेका विभिन्न फलफुलहरु पनि खुवाउने गर्दछन । होमस्टेमा एकदमै सस्तो मुल्यमा उनले खानेबस्ने व्यवस्था मिलाउने गरेका छन ।
मुख्य बजारको होटल छोडेर विकटमा आएका उनलाई पहाडकै हावापानीले साथ दिएको छ । ‘राजकाँडामा आउने पाहुनाहरुलाई एक छाक खान र एक रात बास बस्न त व्यवस्था हुनुपर्छ भन्ने लागेर यहाँ बस्यौ’ उनले भने ‘सुरुवाती चरणमा त निकै दुःख सहनुप¥यो, पानी थिएन, बिजुली थिएन, विकासका कुनै पुर्वाधार नहुँदा समस्या आयो तर हरेश खाएनौ, अहिले केही व्यवस्थापन भएको छ ।’ उनले अझै पनि पुर्वाधारको अभावका कारण होमस्टे सञ्चालनमा भने समस्या रहेको बताए ।
‘यहाँ विकासको एक छिटा सम्म पर्न सकेको छैन, यो ठाउँको विकासका लागि कसै न कसैले त अगाडी बढ्नुपर्छ भन्ने नि लाग्यो’ उनले भने ‘पर्यटनमार्फत यसलाई चिनाएर यसको विकास गर्नुपर्छ भनेर हामीले कदम बढायौँ, जोखिम लियाँै ।’ उनले जोखिमको प्रतिफल तत्काल नपाईएपनि विस्तारै पाईने कुरामा आफु विस्वस्त रहेको बताए ।
उनकै होमस्टेका कारण पछिल्लो समय राजकाँडा पुग्ने पर्यटकहरु पनि बढ्न थालेका छन । होमस्टेमार्फत पर्यटकहरुले सेवा पाईरहेका छन भने बोहरा दम्पत्तिका लागि आम्दानीको स्रोत पनि बनेको छ । सोही होमस्टे सञ्चालन गरेर अहिले उनले आफ्नो परिवार पालिरहेका छन । दुई छोराहरुलाई काठमाण्डौका राम्रा विद्यालयमा पढाईरहेका छन । कोरोना महामारीले फर्काएको पुख्र्यौली थलो नै अहिले जनमुक्ती दम्पत्तिको जिविकोपाजर्नको स्रोत बनेको छ ।
 
					 
 





 
 
 





 
 






