खाेज्नुहाेस

गोदावरी धाममा जोखिम मोलेर बनाईएका संरचना झन जोखिममा

Image

अत्तरिया – कैलालीको गोदावरी धाममा करोडौं रकम खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति पुगेको छ । सोमबार राती गोदावरी नदीमा आएको बाढिको गोदावरी धाममा निर्माण गरिएका मन्दिर, गुरुकुल, कुटि लगायतका संरचना संगै धामको मैदान, मन्दिरका पर्खालमा क्षती पुगेको हो । बाढीले धाममा जडान गरेको ५० लाखको सोलार प्यानलमा पुरै क्षति पुगेको छ । बाढीले करिब १ करोडको क्षति पुगेको गोदावरी धाम विकास समितिले जनाएको छ ।

अनपेक्षित रुपमा आएको बाढीले ठूलो क्षति पु-याएको बताइएपनि गोदावरी धाम नदीको उच्च जोखिममै थियो । धाममा निर्माण गरिएका संरचनालाई नदीको जोखिमबाट जोगाउनको लागि उचित तटबन्ध बन्न सकेको थिएन । नदी किनाराको मैदानमा जोखिम मोलेरै करोडौंका संरचना निर्माण गरिएकोमा सोमबार आएको बाढीले ग्याभिन जालीको तटबन्धनमा पनि क्षति पु-याएकाले झन जोखिममा परेका छन ।

attariya hospital

गोदावरी धाम क्षेत्रमा बस्दै आएका राकेशानन्द सरस्वतीले जोखिमयुक्त क्षेत्रमा संरचना बनेकाले अहिलेको क्षति भएको बताए । उनले नदीले तटबन्धमा पनि क्षति पु-याएकाले गोदावरी धाम झन जोखिममा परेको बताए ।

‘नदीको किनारमा बसेका थियौ । नदीले क्षति गरिदियो त अब कसलाई भन्ने । हामी बस्यौ नै यस्तो ठाउँमा भने अब दोष कसलाई दिने’ उनले भने ‘१२ बर्षदेखि यो ठाउँमा बसेको थिए । अहिले सम्म मैले यस्तो कहिले देखेको थिएन । यो बस्न नहुने ठाउँ हो यहाँ बस्दा जोखिम थियो नै । यसको दोष कसलाई दिने आफैलाई दिनुपर्छ ।’

उनले मन्दिरका संरचना पहिले नदीको धार भएकै क्षेत्रमा निर्माण गरिएकाले जोखिमा रहेको बताए । उनले भने ‘पहिले नदीको धार पनि हाल संरचना निमार्ण गरिएको क्षेत्रतर्फ नै थियो । अहिले नदी पुरानै धारमा आयो ।’

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गोदावरी धामको सुरक्षाका गोदावरीको काठे पुल देखि आर्यघाट सम्म पक्की रिभर ट्रेन बनाउन आवश्यक रहेको बताए । उनले हालको सामान्य तटबन्धले धाममा रहेका संरचनाको संरक्षण गर्न नसक्ने बताए । उनले धामको संरक्षण र विकासका लागि नगरपालिकाले पनि डिपिआर तयार गरेको बताए । ‘हामीले गोदावरीको विकासका लागि डिपिआर बनाएका छौ’ उनले भने ‘डिपिआर अनुसार यसको विकासका लागि ३४ करोड जती लगानी लाग्ने देखिएको छ ।’ उनले गोदावरी धामको विकासका लागि नगरको बजेटले मात्रै सम्भव नभएकाले प्रदेश सरकार संग पनि यसको बिषयमा कुरा गरेको बताए ।

‘हामीसंग प्रयाप्त तटबन्ध त थिएन । तर, पनि मानिसहरुले धर्म प्रति आस्था राखेरै यस्तो क्षती नहोला भनेर सोचेका थिए’ उनले भने ‘तर, यसो हुन सकेन । अब संरचना बनिसकेकाले यसको संरक्षण र जगेर्ना गर्नुपर्छ ।’

गोदावरी धाममा डिपिआर बिनै अन्दाधुन्दा भौतिक संरचना मात्रै निर्माण गरेका कारण पनि जोखिम र क्षति बढी भएको बताइने गरिन्छ ।

navjiwan hospital

गोदावरी धाम बिकास समितीका अध्यक्ष पदमराज जोशीले कुम्भ मेला लगाउने ठाउँ नदी किनारामै बनाउनु पर्ने भएकाले हाल गोदावरीमा पनि सोही अनुसार संरचना निर्माण गरिएको बताए ।
उनले मुख्य समस्या नदीको वहावलाई थेग्न नसक्ने तटबन्धन नहुनु रहेको बताए । ‘अलिहेको तटबन्ध उपयुक्त भएन । जसका कारण अहिले धाम क्षेत्रमा क्षति पुग्न गयो’ उनले भने ‘मानिसको चाप अनुसार गोदावरी धामको पारी क्षेत्रले पनि धान्न सक्दैन । त्यसले पनि गोदावरी धामको वारी संरचना निर्माण गर्न आवश्यक थियो । त्यसका लागि अहिलेको मुख्य आवश्यकता तटबन्ध हो ।’
नदीको वहावबाट धाममा निर्माण गरिएका संरचनाको संरक्षण हुने अवस्था नहुँदा नहुँदै पनि हाल पनि सो क्षेत्रमा भौतिक संरचना निर्माणको काम भने रोकिएको छैन । हाल पनि धाम क्षेत्रमा गुरुकुल, पुस्तकाल लगायतका संरचना निर्माण भइरहेका छन । अध्यक्ष जोशीले धाममा पुगेको क्षति पछि प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद मेयर लगायतले अवलोकन गरेको र, अब भोलिदेखि नै यसको संरक्षणका लागि काम सुरु गरिने बताए ।

सोमबार राति आएको बाढीका कारण ठूलो भोतिक क्षति भएपनि मानविय क्षति भने हुन पाएन । राति एक्कसी आएको बाढीले ६ जना बीच टापुमा थुनिएका भएपनि प्रहरी, सेना र स्थानीयले उद्दार गरेका थिए । गुरुकुलको भवन निर्माण गरिरहेका मजदुर र १ जना माता नदीको बीच भागमा थुनिएका थिए ।

निर्माण मजदुर भजनी नगरपालिका – ६ निरा राम चौधरीले राती एक्कसी घरभित्र पानी पसेपछि मात्रै आफूले बाढीको थाहा पाएको बताए ।

‘राती सुतिसकेको समयमा पानी घरभित्र पस्न लाग्यो । समान निकालेर भागै भनेको पानी धेरै आएपछि आउन सकिएन । त्यसपछि रुखको आडमा बसेका थियौ’ उनले भने ‘त्यसपछि किनारमा पनि जान नसकेल फसेपछि हामीलाई प्रहरी र नेपाली सेनाले उद्दार गरेको थियो ।’

कुटीमा बस्दै आएकी पंचम गिरीले राती एक्कासी बाढी आउँदा कुटीमा भएका सबै सामान बगेको बताइन । ‘कुटीमा राखेका सबै सामान बगायो । बाढीआउँदा बल्लतल्ल ज्यान जोगाए । कुटिमा पानी पसेपछि गुरुकुलमा बसेको थिए । त्यहाँ पनि पानी भरिएपनि मैले ज्यान जोगिला भन्ने पनि सोचेको थिएन’ उनले भनीन ‘पछि आर्मी पुलिस आएर ज्यान जोगाए ।’

धाम क्षेत्रमै निर्माण गरिएको कुरुकुलका विद्यार्थी भने बाढी आउन सुरु हुने बितिकै सकुशल ठाउँमा पुगेका थिए । गुरुकुलका विद्यार्थी बुद्धिराज विनाडीले बाढी आएपछि भागेर ज्यान जोगाएको बताए ।

व्यवसायी विस्थापित

पछिल्लो समय गोदावरी धाममा बढेको चहलपहल संगै सो क्षेत्रमा साना व्यवसायीक पसल स्थपना हुने क्रम पनि बढेको थियो । तर, सोमबार साझ आएको बाढीले पक्की संरचनामा त्यति क्षति नगरेपछि अस्थाइ संरचना निर्माण गरेर व्यवसाय गर्दै आएका व्यवसायीका पसल भने बाढीमै विलाएका छन । सो क्षेत्रमा फलफुल लगायत पुजाका सामानको व्यवसाय गर्दै आएका करिव १ दर्जन व्यवसायीका अस्थाइ संरचना (खोका छाप्रा) बगेका हुन ।

पुजा सामानको व्यवसाय गर्दै आएकी पार्वती खड्काले खोकामा राखेको सामान सहित वाढीले बगाएको बताइन् । उनले बिहान आउँदा खोका नै नभेटिएको बताइन । ‘खोका नै बाढीले बगाएर लग्यो । अब आफनो रोजिरोटी पनि जोखिममा परेको छ’ उनले भनीन ‘मेरो मात्रै नभएर यहाँ राखिएका सबै खोका बगेर बेपत्ता भएका छन ।’