अत्तरिया – हिन्दु धर्मावलम्वीहरुले पुजा गर्ने गाईलाई भगवान सम्मान मानिन्छ । गाईलाई राष्ट्रिय जनावरका रुपमा मान्ने गरिन्छ । जुन गाईलाई धर्मका कितावमा, राष्ट्रवादीका बोलीमा जती श्रद्धा सम्मान दिइन्छ ति गाईहरुको वास्तविक अवस्था भने फरक छ । छाडा चौपायाको नामले परिचित यी गाईहरुले निकै कष्टकर जीवन यापन गरिरहेका छन ।
बजार क्षेत्रमा छाडा रुपमा छोडिएका यी चौपायाले आहारा कै लागि घर, होटल, पसलबाट निस्किएको फोहर खान बाध्य छन । आहाराकै लागि यी छाडा चौपाया नगरले फोहोर फाल्ने डम्पिङ साइडको साहारामा आहारा पुर्ती गरिरहेका छन । सुदूरपश्चिमको हकमा छाडा चौपायाको समस्या पुरानै हो । यीनिहरुको व्यवस्थापनका नाममा योजना नबनेका पनि होइनन् । तर, पनि यी छाडा चौपायाको समस्या ज्युँ का त्युँ छ । बजार क्षेत्रमा उस्तै छाडा चौपाया छन भने आहार नपाउँदा फोहरको डंगुरमा आहारा खोज्ने क्रम पनि बर्षौदेखि चलिरहेको छ । कैलालीको गोदावरीमा पनि छाडा चौपाया व्यवस्थापनका नाममा करोडौं रकम खर्च भइसकेको छ । बिभिन्न ठाउँमा गौशाला बनाउने र रकम कुम्ल्याउने काम पनि भएका छन । तर, छाडा चौपायाको समस्या भने समाधान हुन सकेको छैन ।


नगरपालिकाले फोहर डम्पिङ गर्ने गोदावरी नगरपालिकाको चौकीडाँडा सामुदायिक वन, अत्तरिया बजारमा फोहर संकलन गर्न राखेका फोहर मलाई, अत्तरियाको तरकारी हाट बजारमा जम्मा भएको फोहोरमा छाडा चौपायाले आहारा खोज्ने गरेका छन । यसरी फोहरमा छाडा चौपायाले आहारा खोज्दा फोहर व्यवस्थापनमा चुनौती थपिनुका साथै रोग संक्रमणको जोखिम पनि बढेको छ । अत्तरियाका कैलाश जोशीले छाडा चौपाया समस्याको दिर्घकालिन समाधान नखोजिदाँ अहिले पनि समस्या उस्तै रहेको बताए ।
उनले कमिसनको खेलमा बर्षै पिच्छे बजेट छुट्टयाएर दुईचार दिन अस्थाई टहरा निर्माण गरि आर्थिक चलखेल मात्रै हुने गरेकाले यसको समाधान हुन नसकेको बताए । उनले छाडा चौपायाका कारण किसानहरुले पनि निकै समस्या भोग्नुपरेको बताए । नगरपालिकाले छाडा चौपायाको व्यवस्थापनका लागि भनेर अत्तरिया, गेटा र बुढीतोलामा हेरालाको व्यवस्था गरेको जनाएपछि छाडा चौपाया भने नियन्त्रण बाहिर रहेका छन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले चालु आर्थीक बर्षमा पनि छाडा चौपायाको व्यवस्थापनका लागि हेरालुलाई तलब सुविधा दिन बजेट विनियोजन गरिएको बताए ।
उनका अनुसार हाल नगरपालिकाबाट सेवा सूविधा लिने गरी ६ जना हेरालु राखिएका छन । नगरपालिकाले छाडा गाईगोरु नियन्त्रणका लागि हेरालु राखेको भएपनि यसको दिर्घकालिन समाधानका लागि भने खासै पहल गर्न सकेको छैन् । नगरपालिकाले बर्षेनी छाडा चौपायाको व्यवस्थापनका लागि भन्दै हेरालुमै खर्च गर्दै आएको भएपनि हाल अत्तरिया बजारका गल्ली गल्लीमा जताजतै छाडा चौपाया देखिने क्रम रोकिएको छैन ।
विशेष गरी साँझको समयमा छाडा चौपाया सडक नै अवरुद्ध हुने गरी सडकमै बस्ने गरेका कारण आवतजावतमा पनि समस्या हुने गरेको छ । छाडा चौपायाकै कारण सडकमा दुर्घटनाको जोखिम समेत बढेको छ ।

















