खाेज्नुहाेस

अभावै अभावले थलिएको राजकाँडा

Image

अत्तरिया  – उसो त कैलालीलाई सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी विकसीत जिल्लाको रुपमा लिईन्छ । प्रदेशको अस्थायी राजधानी तोकिएको र स्थायी राजधानी घोषणा गरिएको जिल्ला पनि कैलाली नै हो ।

पहाडी जिल्लाहरुमा नागरिकलाई आवश्यक पर्ने विभिन्न कुराहरुको अभावकै कारण पछिल्लो समय तराईका विकसीत जिल्लाहरुमा बसाई सर्ने क्रम तिब्र बनेको छ । तर, कैलालीकै एक यस्तो क्षेत्र पनि रहेको छ, जहाँ विकासको अर्थ समेत स्थानीयहरुले थाहा पाउन सकेका छैनन् । कैलालीको लम्की चुहाँ नगरपालिका – ३ चिसापानीबाट करिब ४ घण्टाको पैदल यात्रा गरेर पुगिने जिल्लाकै सबैभन्दा बढी पिछडीएको क्षेत्र राजकाँडामा हालसम्म कुनै पनि विकास निर्माणका कुराहरु पुग्न सकेका छैनन् ।

add everest academy
attariya hospital

मोहन्याल गाउँपालिका – ७ मा अवस्थीत उक्त क्षेत्र पर्यटकिय हिसाबले अति नै महत्वपुर्ण भएपनि विकास निर्माणमा भने सबैभन्दा बढी पिछडीएको छ । कुनै समय साढे चार सयको हाराहारीमा घरधुरी रहेको राजकाँडा क्षेत्रका कोलगडा, गैरीगाउँ, मेलडाँडा, घट्टेगाउँ, लामागडा, लोसे र धुलिकोटमा अहिले करिब ५०/५५ घरधुरी मात्रै बाँकी रहेका छन । देशमा तिन तहका सरकार आएको पनि ६ वर्ष वितिसकेको छ । जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार र स्थानीय सरकारको ५ वर्षे एक कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि पहिलो वर्ष वितिसकेको छ । निर्वाचनताका विभिन्न प्रलोभनहरु देखाएर भोट माग्न आउने नेताहरुले निर्वाचन पछि भने राजकाँडा क्षेत्रलाई बिर्सिने गरेको स्थानीयहरुले गुनासो गर्ने गरेका छन ।

नागरिकलाई अति आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अन्य पुर्वाधारहरुबाट राजकाँडा क्षेत्र टाढा छ । त्यहाँ न त खानेपानी पाईन्छ, नत स्वास्थ्योपचारका लागि स्वास्थ्य चौकी नै छ । सडकको लागि ट्रयाक खोल्ने काम भएको वर्षौ वितेपनि त्यो सडकको निर्माण र मर्मत गर्ने काम समेत भएको छैन । भएको एउटा विद्यालयमा सुरुवाती चरणमा कक्षा ८ सम्म अध्यापन गराईने भएपनि घटेर हाल कक्षा ५ सम्म अध्यापन हुदै आएको छ । गुणस्तरिय शिक्षाका लागि त्यहाँका बालबालिकाहरुले करिब डेढ घण्टा ओरालो ओर्लेर लम्कीचुहाका विद्यालयहरुमा आउनुपर्ने बाध्यता छ । आउँदाको समस्या नभएपनि विद्यार्थीहरुलाई विद्यालयबाट घर पुग्न भने करिब ४ घण्टा उकालो हिड्न पर्ने बाध्यता छ । जसले उनिहरुको शिक्षाप्रतिको रुचिलाई समेत मार्ने गरेको छ । त्यतिमात्रै हैन, विकसीत जिल्लामा रहेर पनि उक्त क्षेत्रमा हालसम्म बिजुलीबत्ति पुग्न सकेको छैन । त्यहाँका नागरिकहरु हालसम्म अध्यारोमा बस्दै आएका छन ।

navjiwan hospital

स्थानीय मिन बहादुर बोहराले विकास निर्माणकै अभावका कारण राजकाँडा क्षेत्रको पहिचान हराउदै गएको बताए । उनले राजकाँडा क्षेत्र ऐतिहासीक महत्वको क्षेत्र भएपनि विकास निर्माणका हिसाबले अत्यन्तै पछाडी परेको बताए । ‘यहाँ राजाको दरबारका भग्नावशेषहरु छन, यहाँको उच्च स्थानबाट चिसापानी, लम्की, टीकापुर, बर्दिया लगायतका क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ’ उनले भने ‘कर्णाली र भेरीको संगमलाई पनि यहाँबाट नियाल्न सकिन्छ भने मौषम सफा भएको दिन अपि हिमाल समेत देखिन्छ, तर सरकारले नहेर्दा यो क्षेत्र ओझेलमा पर्दै गईरहेको छ ।’ राजकाँडा घुम्न आउने र अवलोकन गर्ने पर्यटकहरुका लागि होमस्टे सञ्चालन गरेका बोहराले अन्य कुरा नभएपनि सडक, खानेपानी र विजुलीबत्तिको व्यवस्था मात्रै भएपनि राजकाँडामा पर्यटकहरुको घुईचो लाग्ने विस्वास व्यक्त गरे ।

attariya technical collage

वर्षौदेखि समस्यासँग लडिरहेका त्यहाँका स्थानीयहरुले स्थानीय सरकार र प्रदेश सरकारको आगमनले राहत पाउने अपेक्षा गरेका थिए । तर, लगातार छैटौ वर्ष वितिसक्दा समेत राजकाँडाको विकासका लागि कसैले तदारुकता देखाएको नदेखिदा त्यहाँका नागरिकहरुको आशा पनि निराशामा परिणत भैसकेको छ । ‘यहाँ अति आवश्यक पुर्वाधारहरु समेत निर्माण भएका छैनन’ बोहराले भने ‘कोही बिरामी नै भयो भने पनि लट्टीमा झुन्ड्याएर लैजानुपर्छ, अस्पताल पु-याउन्जेल सम्म त्यसको अवस्था के हुन्छ भन्ने समेत कन्फम हुदैन ।’ खानेपानीको समस्या समाधानका लागि स्थानीयले गत दुई वर्षअघि घट्टेखोलाबाट सोलार मार्फत माथि डाँडामा पानी तानेका छन । त्यही पानी ठ्यांकीमा जम्मा गरेर घरघरसम्म पु¥याईएको बोहराले बताए । ‘पानीको बिकल्प त केही गरेका छौ’ उनले भने ‘पटक पटक बिग्रिन्छ, फेरी मर्मतका लागि समय लाग्छ, कैयौ पटक त पानि नखाएरै बसेका छौ ।’

लम्कीबाट तोरी पेलेर जादै गरेकी स्थानीय गोमा बोहराले आफुहरुलाई दैनिक उपभोग्य सामग्रीका लागि पनि करिब ४ घण्टाको उकालो हिड्नुपर्ने बाध्यता रहेको बताइन् । उनले गहुँ पिस्न तथा चामल कुटाउन पनि लम्की आउनुपर्ने बाध्यता रहेको बताइन् । ‘गाउँमा बत्ति पुगेको छैन, अनि मिल कसरी चल्थ्यो’ उनले भनिन् ‘त्यसैले गहुँ पिस्न, तोरी पेल्न लम्की वा चिसापानी जानुपर्छ ।’

प्रदेश सरकारको दोश्रो कार्यकालमा मुख्य मन्त्री बनेका कमल बहादुर शाहको निर्वाचन क्षेत्र पनि त्यही नै हो । तर मुख्यमन्त्री कै निर्वाचन क्षेत्रका नागरिकले भने अति आवश्यक कुराहरु समेत सहज रुपमा पाउन सकेका छैनन् । अन्य समयमा त परै जाओस स्थानीय एवम् प्रदेश सरकारको असारे विकासको वेगले समेत राजकाँडा क्षेत्रलाई छुन सकेको छैन ।

पर्यटकिय हिसाबले अति नै महत्वपुर्ण र आर्कषित क्षेत्र राजकाँडामा विकासका केही छिटाहरु पनि सरकारले फाल्न सके यहाँको मुहार नै फेरीने र पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने कुरामा दुई मत छैन ।