अत्तरिया – कैलालीको चौकीडाँडामा राजमार्ग किनारामा बसेका वादी समुदाय र सुकुम्बासीका टहरा भत्काएको ठाउँमा अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा) को व्यापार हुन थालेको छ । डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा गोदावरी नगरपालिका – ३ चौकिडाँडामा वन र राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा भत्काएर खालि गराइएको ठाउँमा हाल सो क्षेत्रमा अवैध रुपमा ढुङ्गा, बालुवा राखेर व्यापार गर्न थालिएको हो ।
वन कार्यालयले पहाडी जिल्लाबाट आएर सडक किनारामा अतिक्रमण गरी निर्माण गरिएका टहरा संगै सोही ठाउँमा बर्षैदेखि बस्दै आएका वादी समुदायका टहरामा बैसाख १८ गते डोजर चलाएर खालि गराएको थियो । सडक किनारामा बनाइएका ति टहराका कारण वन समेत अतिक्रमणको चपेटामा परेको थियो । हाल उक्त ठाउँमा टहरा खालि गराएपछि सडक र वनको क्षेत्र छुट्टिने गरी नाली खनिएको छ । नाली खनिएपछि सडक क्षेत्रमा पर्ने भागमा हाल एकातिर पुनः टहरा निर्माण हुन थालेका छन भने अर्कोतर्फ अवैध रुपमा ढुङ्गा, बालुवा भण्डारण गरेर व्यापार हुने गरेको छ ।

सो क्षेत्रमा बस्दै आएका वादी, दलित समुदायले अन्यन्त्र बस्ने ठाउँ नभएको भन्दै पुनः सोही क्षेत्रमा टहरा निर्माण गर्दा ट्याक्टर व्यवसायीले भने खोलानाला बन्द हुनुअघि नै सो ठाउँमा अवैध रुपमा ढुङ्गा, बालुवा भण्डारण गरेर व्यापार गर्न थालेका हुन ।

गोदावरी नगरपालिकाले असार १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको थियो । नगरपालकाले असार अगाडी नदीजन्य पदार्थ संकलन गरेर राखेको भएपनि प्रमाणित गराएर मात्रै विक्रिवितरण गर्न पाइने जनाएको थियो । नगरपालिकाले असार ३ गते जारी गरेको सूचनामा सडकका दाँया बाँया, खोला किनार, सामुदायिक वन जस्ता ठाउँहरु बाहेक आफ्नो वा भाडामा लिएको जग्गामा राखेका नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन ७ दिने सूचना जारी गरेको थियो । सो सूचना अनुसार ४० जनाले मात्रै स्टक प्रमाणित गराएका छन ।

तर, स्टक गर्न नै नमिल्ने ठाउँमा ढुङ्गा, बालुवा राखेर खुल्लमखुल्ला ओसारप्रसार गर्दा पनि यस्ता व्यवसायीलाई कारवाही भने गरिएको छैन । वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले आफूहरुले सडक किनारामा नराख्न आग्रह गर्दा पनि बेवास्ता गरिएको बताए । उनले सडक किनारामा राखिएको ढुङ्गा, बालुवाको आफुहरुले स्टक प्रमाणित पनि नगरको बताए ।
‘सडक किनारामा राखिएको यो ढुङ्गा, बालुवा विना अनुमतिको हो’ उनले भने ‘नगरपालिका भित्रका सडक किनारामा अनुमति विना राखिएको ढुङ्गा, बालुवा जफत गर्ने हामीले निर्णय गरेका हौ । तर यसको बेवास्ता गर्दै उनीहरुले ढुङ्गा, बालुवा राखेका छन । अब हामी सोमबार कार्यपालिका बैठक बसेर यसलाई जफत गर्ने बारेमा छलफल गर्छौ ।’

हाल चौकिडाँडामा राजमार्ग किनारामा दुवैतर्फ करिब १ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा ढुङ्गा, बालुवा राखिएको छ । सो ढुङ्गा, बालुवा सम्बन्धित ट्याक्टर धनीले लोड गरेर विक्रि विरतण पनि गर्दै आइरहेका छन ।
स्थानीय हर्क ताम्राकारले सडक किनारामा बसेकाहरुलाई नगरपालिकाले हटाउन लगाएको भएपनि सोही सडकमा अवैध ढुङ्गा, बालुवाको कारोबार गर्नेलाई भने छुट दिएको बताए । उनले राज्यले गरिव परिवारको उठिबास लगाएर ठूला व्यवसायीलाई संरक्षण गरिरहेको बताए ।
हाल पुनः टहरा बनाएर सडक किनारामा बसेकाहरुले हाल ढुङ्गा, बालुवाको मात्रै नभएर नाला खन्ने भनेर माटो पनि बिक्री भइरहेको बताएका छन । ‘नाला खनेको माटो टिप्परमा हालेर विक्री गरिएको छ’ टहरामा बसेका एक स्थानीयले भने ‘हामीले बनाएका टहरा भत्काइयो । त्यसपछि नाला खन्ने भनेर माटो विक्री गरियो । हाम्रो यहाँको सरकार नै यस्तै छ ।’


















