अत्तरिया – आइतबार बिहान बैतडीबाट अत्तरियामा ल्याइएको गोलभेडामा खानै नमिल्ने रेड लेवको विषादी भेटियो । बैतडीबाट ट्रकमा ल्याइएको १८ क्रेट (४ क्यून्टल) तरकारीमा विषादी भेटिएको पुष्टि भएपछि नष्ट गरियो । पहाडी क्षेत्रबाट आएको तरकारीमा पनि कडा विषादी भेटिएपछि सबै अचम्ममा परे । तर, उक्त विषादीयुक्त तरकारी कुन ठाउँको कुन किसानले उत्पादन गरे भन्ने सोधिखोजी भने गरिएन् ।
उक्त १८ क्रेट गोलभेडा कृषि उपज थोक बजार भित्र संचालित धर्मराज सप्लायर्सले खरिद गरेको थियो । सप्लायर्सका संचालक रमेश भट्टका अनुसार उक्त ट्रकमा पुरै लोड गरेर तरकारी आएको थियो । अरु तरकारी बाहिर बजारमा बिक्री गरेर अन्तिममा बचेको १८ क्रेट मात्रै उनले खरिद गरेका थिए ।

जुन गोलभेडाको नमूनामा ५० प्रतिशत विषादी भेटिएपछि खान नमिल्ने भन्दै गोदावरी नगरपालिकाका जनप्रतिनिधिको रहोबरमा नष्ट गरिएपनि अन्य तरकारी कता बिक्री गरियो भन्ने बारेमा कसैले वास्ता गरेनन् ।
अत्तरिया खबरको टिमले उक्त गोलभेडा कताबाट आएको भनेर सोधिखोजी गर्दा बैतडीका तरकारी व्यवसायी विनोद पाण्डेले पठाएको भेटियो । पाण्डेले शनिबार उक्त गोलभेडा आफूले पठाएको र, बैतडीको दशरथचन्द नगरपालिकाका जर्ग, सेरा बबेत, बिनासौ लगायतका किसानबाट खरिद गरेको बताए । उनले आफूले पठाएको तरकारीमा विषादी भेटिएको संचार माध्यमबाट जानकारी पाएको बताए ।
भारतबाट विषादीयुक्त तरकारी आउने भनेर सीमाक्षेत्रमा कडाइ गरिएपनि नेपालकै पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीमा पनि विषादी भेटिन थालेपछि अहिले भान्सामा विषादीयुक्त तरकारी सहजै पुग्ने जोखिम बढेको छ ।
पछिल्लो १ बर्षको तथ्याङ्क मात्रै हेर्ने हो भने सुदूरपश्चिममै उत्पादन भएका १३ तरकारीका नमूनामा रेड लेवल विषादी भेटिएको छ । अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईका अनुसार कैलाली, कञ्चनपुरका ५/५, बैतडीका २ र डडेल्धुराका १ नमूनामा रेड लेवल विषादी भेटिएको छ । त्यस्तै सुदूरपश्चिम बाहेक सल्यान, रोल्पा र दाङबाट आएको तरकारीका १/१ नमूनामा पनि विषादी भेटिएको विषादी अवशेष दु्रत विश्लेषण इकाईकाका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए । उनका अनुसार रेड लेवल विषादी भेटिएका तरकारी खाल्डोमा हालेर नष्ट गरिदै आएको छ ।

इकाईले चालु आर्थीक बर्षमा २ हजार ५३२ तरकारीका नमूनाको विषादी परिक्षण गरेको थियो । जसमा ८ नमूनामा ग्रीन र येलो लेवलको विषादीको मात्रा भेटिएकाले केही दिन राखेर प्रयोग गर्न बजारमा पठाइएको प्राविधिक भट्टले बताए । उनले ३५ भन्दा तल विषादीको मात्र भेटिए ग्रिन लेवल, ३५ देखि ४५ प्रतिसत विषादीको नमूना भेटिए येलो लेवलमा राखिने र, यस्तो तरकारी केही दिन होल्ड गरेर पुनः परिक्षण गरी प्रयोग गर्न सकिने बताए । ४५ प्रतिशत भन्दा माथी विषादीको मात्रा भेटिएमा भने सिधै नष्ट गर्ने गरिएको छ ।
किसानलाई सचेत गराउन माग
स्थानीय व्यवसायी तेज पनेरुले जहिले पनि विषादी भेटियो भनेर तरकारी नष्ट गरिएपनि खेतमा विषादी हाल्ने किसानले भने जानकारी नै नपाउने गरेको बताए । उनले किसानले विषादी हालेपनि नोक्सान भने व्यवसायीको हुने गरेको बताए । ‘यसको रोकथामका लागि विषादी भेटिएको तरकारी कहाँबाट आएको हो भनेर पत्ता लगाइ सम्बन्धित किसानलाई नै सचेत गराइनु पथ्र्यो’ उनले भने ‘यसरी व्यवसायीलाई मात्रै नोक्सान भएको छैन । परिक्षण नभएको धेरै तरकारी बजारमा पनि पुग्ने जोखिम छ ।’ उनले बजारमा भेटिएका केही नमूनामा विषादी परिक्षण गरेर नष्ट गरेर मात्रै यसको सामाधान नहुने बताए ।
तरकारी व्यवसायी डिल्ली राज जोशीले विषादीयुक्त तरकारीले स्वयम किसान, व्यवसायी र उपभोक्तामा समस्या निम्त्याउने बताए । उनले एक ट्रक तरकारीबाट १८ क्रेट मात्रैमा विषादी भएको भनेर नष्ट गरिएपनि बाँकी तरकारी उपभोक्ताको भान्सामा पुगेको बताए । उनले यसको सामाधानका लागि किसानलाई नै सचेत गराउन आवश्यक रहेको बताए । विषादी भेटिएको क्षेत्रका किसानलाई पनि पछि बजारीकरणमा समस्या पर्ने भएकाले त्यसअघि नै किसानलाई सचेत गराउन आवश्यक रहेको उनले बताए ।
कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले एक ट्रकमा आएको गोलभेडा मध्ये १८ क्रेट मात्रै थोक बजारमा पुगेको बताए । उनले विषादीयुक्त थोरै तरकारी नष्ट गरिएपनि धेरै मात्रामा बजारमा पुगेको आशंका गरे । उनले यसको रोकथामका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले विषादीयुक्त तरकारी आएको ठाउँको पालिकाले यस्ता तरकारी उत्पादन गर्न रोक्नुपर्ने बताए । उनले विषादीयुक्त तरकारी बजारमा आउन नै नदिनु यसको रोकथामको उपयुक्त विकल्प भएको बताए ।

















