अत्तरिया – नेपालमा हरेक बर्ष लाखौं विरुवा रोपिन्छन् । नेपाल सरकार मातहतका वन, कृषि कार्यालय संगै प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसस्थाहरुले विरुवा रोप्ने गरेका छन । तर, बर्षेनी लाखौं विरुवा रोपिए पनि ति विरुवा हुर्किए या हुर्किएनन् भनेर खासै वास्ता गरिदैन् ।
बर्षेनी यही नियती दोहरीरहेको बेला कैलालीको अत्तरियामा भने विरुवा रोप्दै विरुवा जोगाउन जागरुक गराउन थालिएको छ । नयाँ विरुवा रोप्ने सिजन सुरु भएसंगै जताततै बिरुवा रोपिरहेका बेला प्लानेट ग्रिन नेपाल संस्था मार्फत दुर्गा पोखरेल नेतृत्वको टिमले विरुवा रोप्दै त्यसको संरक्षणका लागि स्थानीयलाई जागरुक गराउन थालेको हो ।
उनीहरुले बुधबार गोदावरी नगरपालिका – ३ चौकिडाँडाकमा घर–घरमा विरुवा रोपेर संरक्षणका लागि समेत स्थानीयलाई सचेत गराएका थिए । प्लानेट ग्रिन नेपालका सल्लाहकार समेत रहेको पोखरेलले अभियानकै रुपमा घरघर र सार्वजनिक क्षेत्रमा विरुवा रोपिरहेको बताए । उनले घरघरमा विरुवा वितरण गर्ने कार्य विगतदेखि हुँदै आएको भएपनि त्यो प्रभावकारी नभएकाले आफूहरुले पहिले घरमुलिलाई सचेत गराएर त्यसपछि आफ्नै रहोवरमा विरुवा रोप्न लगाइरहेको बताए ।

उनले घरमा रोपिएको विरुवाको संरक्षण भए नभएको हेर्नको लागि आफूले सम्पुर्ण विरुवा रोपिएका घरको विवरण संकलन गरेको र त्यही अनुसार पछि अनुगमन गरिने बताए । ‘हामीले रुख रोपांै, हरियाली जोगाऔं अभियान अन्तरगत यस बर्ष १० हजार विरुवा रोप्ने लक्ष्य लिएका छौ’ उनले भने ‘हामीले विरुवा रोप्ने मात्रै नभएर संरक्षण सहितको अभियान संचालन गरेका छौ । हामीले विरुवा रोप्दा हुने फाइदाका बारेमा पनि स्थानीयलाई जानकारी दिदै छौ ।’

उनले विरुवा रोप्नको लागि गेटामा रहेको वन कार्यालयले प्लानेट ग्रिन नेपाललाई ३ हजार २ सय विरुवा दिने सम्झौता गरेको बताए । उनले थप विरुवाको लागि पनि विभिन्न ठाउँमा समन्वय भइरहेको बताए ।

प्लानेट ग्रिन नेपालका सचिव हेमन्त अवस्थीले २०७९ देखि सुरु भएको हरियाली अभियान अन्तरगत गत बर्ष ३ हजार ८ सय विरुवा रोपिएको बताए । अभियान अन्तरगत अत्तरिया धनगढी ६ लेन सडक, गोदावरीमा रहेको गोरखधुना, विभिन्न मन्दिर, विद्यालय, खेलकुद मैदान, संघसस्थाको परिसर संगै स्थानीयको घरघरमा विरुवा रोपिएको उनले बताए ।
यस बर्ष पनि हालसम्म साढे ३ सय विरुवा रोपिसकिएको संस्थाका सल्लाहकार पोखरेलले बताएका छन । अभियान अन्तरगत गुल्डमोर, राजवृक्ष, कल्की, छतिवन, अमला, निमारो लगायतका विरुवा रोपिएको उनले बताए । उनले अभियानमा हाल स्थानीय युवाहरुले पनि सक्रिय भएर साथ दिइरहेको बताए ।
घरमै विरुवा पाएपछि स्थानीय पनि खुसी भएका छन । चौकीडाँडाकी नारु देवी कामीले घरमै आएर विरुवा पाउँदा खुसी लागेको बताइन् । ‘घरमै विरुवा दिएर रोप्न पनि सहयोग गर्नुभएको छ’ उनले भनीन् ‘अब मैले यो विरुवालाई जोगाउन्छु ।’ उनले विरुवामा जालि लगाएर संरक्षण गर्ने बताइन् ।
स्थानीय सिना कैनीले घरघरमा विरुवा वितरण गरेर रोप्न पनि सहयोग गरिदा आफू निकै खुसी भएको बताइन् । उनले विरुवा निःशुल्क पाएर रोप्न पनि सहयोग गरेकाले आफूले पनि यसको संरक्षण गर्ने बताइन् । अभियान अन्तरगत निःशुल्क विरुवा वितरण गरेर पनि विरुवा नजोगाएर जरिवाना गराउने भनेर स्थानीयलाई सचेत गराइएको अभियानमा आवद्ध रितु खड्काले बताइन् ।

















