खाेज्नुहाेस

गोदावरीमा लालपुर्जा वितरणको तयारी गरिदैं

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा पनि जग्गा धनी पुर्जा (लालपुर्जा) वितरणको तयारी थालिएको छ । हाल जग्गा नापीको काम भइरहेको गोदावरीमा संगसंगै लालपुर्जा वितरणका लागि पनि काम थालिएको हो । राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले गोदावरीमा यसै महिना भित्र भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरणको काम सुरु गरिने बताए ।

उनले भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरणका लागि अन्तिम पटक ७ दिने सूचना प्रकाशित भइसकेको बताए । उनले गोदावरीका वडा नम्बर १ र ५ का भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिने बताए ।

attariya hospital

भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई निःशुल्क रुपमा लालपुर्जा वितरण गरिने उनले बताए । उनले गोदावरी संगै घोडाघोडी, भजनीमा पनि भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताए ।

कैलालीको बर्दगोरीयामा शनिबार मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिएको थियो । त्यसअघि लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा केही भूमिहिन सुकुम्बासी, भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिसकिएको छ ।

navjiwan hospital

हाल गोदावरीका वडा नम्बर १, २, ४ र ५ मा नापीका काम सकिएको र वडा नम्बर ३ मा नापीको काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताएका छन ।

गोदावरीमा हाल संकलन गरिएको लगत अनुसार अव्यवस्थित वसोवासीको संख्या ११ हजार ७ सय, भुमीहिन दलितको संख्या १ हजार ३४६ र भूमिहिन सुकुम्बासीको संख्या १ हजार ५३ रहेको छ । नगरमा हालसम्म ८ हजार ३४ कित्ता जमिन नापजाँच भइसकेको छ ।

२०७७ पुस २ गते भूमिसम्बन्धी समस्या समाधान आयोग र गोदावरी नगरपालिका बिच भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासिलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडी बढाउन सम्झौता भएको थियो । सम्झौता पछि २०७७ फागुन ४ गते देखि गोदावरीमा लगत संकलनको काम सुरु गरेको थियो । नगरपालिकाले बिभिन्न वडामा छुट्टाछुटै टोली परिचालन गरी लगत संकलनको काम गरेको थियो । त्यसपछि २०७८ साउन १९ गते शेर बहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन आयोग विगठन गरेर २०७८ भदौ २९ गते राष्ट्रिय भूमि आयोग गठन गरेको थियो ।

नयाँ आयोग गठन गरिएपनि उक्त आयोगले पुरानो भूमिसम्बन्धी समस्या समाधान आयोगको गतिविधिलाई निरन्तरता दिदै काम अगाडी बढाएको थियो । सोही अनुसार २०७८ पुस २४ गते नवगठित राष्ट्रिय भूमि आयोग र गोदावरी नगरपालिका बीच पुनः भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सम्झौता भएको थियो ।

त्यसपछि २०७८ चैत्र ९ गते राष्ट्रिय भूमि आयोग मार्फत जग्गा नापीको काम अगाडी बढाउँदै गोदावरी नगरपालिका ५ बाट जग्गा नापीको काम सुरु भएको थियो । तर, लगतै आएको स्थानीय चुनाव र संघ र प्रदेशको चुनावले काम रोकिएपनि निर्वाचन पछि २०७९ मंसिर २८ गते देखि राष्ट्रिय भूमि आयोगको काम पुनः सुचारु भएको थियो ।