अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ७ का हेमराज डगौरा खेतमा रोपाई गरिरहेका थिए । शनिबारको फुर्सदिलो दिन भएकाले पनि उनले घरनजिकै रहेको आफ्नो जमिनमा रोपाई थालेका थिए । परिवारका अन्य सदस्यहरुसँगै रोपाई गरिरहेका उनलाई जमिनको लालपुर्जा पाईरहेको खबर प्राप्त भयो । लालपुर्जा पाईने खुसीले उनी रोपाई छोडेर नगरपालिका आए । शनिबार उनलाई भुमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठले पुर्जा वितरण गरिन् ।
‘घरनजिकैको खेतमा रोपाई गरिरहेको थिए, नगरप्रमुखको सचिवालयबाट लालपुर्जा पाईने खबर पाए’ उनले भने ‘खबर पाएलगत्तै रोपाई छोडेर भागे, साच्चिकै हातमा लालपुर्जा पाईयो ।’ २०५२ सालमा पहिलो पटक आफुहरुको जमिनको नापि भएको बताउदै उनले त्यसपश्चात पनि नाप्ने काम मात्रै हुँदा लालपुर्जा पाईदैनकी भन्ने आशंका लागेपनि अहिले आएर लालपुर्जा पाउँदा एकदमै हर्षित भएको बताए । ‘बुवा बाजेको पालादेखिको जमिन हो, मलाई पनि ४४ वर्ष पुगिसक्यो’ उनले भने ‘त्यसअघिदेखि नै चलनभोग गर्दै आईरहेको आफ्नै जमिन आफ्नो नाममा हुन सकेको थिएन, तर आज पहिलो पटक आफ्नो जमिनको मालिक भएको अनुभुती भएको छ ।’ सबैले लालपुर्जा दिने भन्दै भोट मागेपनि यसपटक नगरप्रमुख हेमराज ओझाले बोले अनुसार आफुहरुलाई लालपुर्जा प्रदान गरेको उनले बताए ।


उनिजस्तै वर्षाैदेखि आफ्नो नाममा नभईसकेको आफ्नो जमिनमा बस्दै आएका सोही वडाका पदम सिँ भण्डारीले पनि लालपुर्जा पाउँदा खुसी व्यक्त गरे । उनले २०२४ सालदेखि चलनभोग गर्दै आईरहेको जमिनको लालपुर्जा पाएका हुन । ‘५२ सालमा नापी भएको थियो, त्यसपश्चात नापि पनि भएन’ उनले भने ‘अहिले आएर लालपुर्जा पाईएको छ, सारै खुसी छु ।’ उनले लालपुर्जा पाईदा अब आफुलाई आर्थिक कारोबारमा पनि सहजता मिल्ने बताए । ‘ऐलानी जमिन थियो यसअघि बैंकिङ्ग कारोबार पनि हुदैनथ्यो’ उनले भने ‘तर अव लालपुर्जा हातमा आईसकेको छ, जुनसुकै कारोबार पनि गर्न सक्छौ ।’
जिल्लामै पहिलो पटक कृष्णपुर नगरपालिकाले अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य शनिबार देखि सुरु गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले वडा नं. ७ देखि अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य सुरु गरेको हो । नगरप्रमुख हेमराज ओझाले नगरका अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्यले तिब्रता पाउने बताए । उनले नगरको तर्फबाट हुने काम एकदमै तिब्र गतीमा अघि बढ्ने बताए । उनले अहिले नगरको वडा नं. ७ का ६५ जनालाई लालपुर्जा वितरण गरिएको बताए । ‘लालपुर्जा वितरणको काम सुरु भैसकेको छ, अब तिब्र गतीमा अन्य वडाहरुमा पनि सुरु हुन्छ’ उनले भने । उनले लालपुर्जा वितरणमा भुमि आयोगको प्रारम्भीक ट्युआरले केही समस्या तिम्त्याईरहेको बताए ।


उनले ट्युआरमा उल्लेख भएको रकम केही महंगो भएकाले लालपुर्जा वितरणको प्रकृयामा समस्या आईरहेको बताए । ‘ट्युआरमा भएको रकम नै तिर्नुपर्ने बास्तविकता हो भने अव्यवस्थीत बसोबासीवाला जग्गाधनीले जग्गा लिन सक्ने अवस्था छैन’ उनले भने ‘हामीले जाँच गरिसकेका छौ, वडा नं. ४ को तयारी भैरहेको अवस्थामा त्यो रकममा पुर्जा उठाउन नसकिने भएपछि हामीले स्थगित गरेका थियौ ।’

उनले भूमि विभागसँगको समन्वयमा मन्त्रिस्तरकै निर्णय गरेर उक्त रकममा केही हेरफेर गरिनुपर्ने बताए । ‘यदी जग्गा धनीले त्यही पैसामा पुर्जा उठाउने हो भने सबैले जग्गा विक्रि गर्नुपर्ने अवस्था छ’ उनले भने ‘हामीले यसलाई अन्तिम आयोग भनेका छौ र यो अभियान सरकारको पवित्र उद्देश्यबाट सुरु भएको हुनाले यसलाई ओझेलमा पर्नबाट रोक्नका लागि पहलकदमी थाल्न हुन म माननिय मन्त्रिज्यूलाई आग्रह गर्न चाहन्छु ।’
कञ्चनपुरमा पहिलो पटक कृष्णपुर नगरपालिका वडा नं. ७ बाट लालपुर्जा वितरणको काम सुरु भएको सुदूरपश्चिम प्रदेशकी सांसद गिता चौधरीले बताईन । उनले वर्षाैदेखि चलनभोग गर्दै आएपनि अन्य कामकाजका लागि आफ्नै जमिन काम नलाग्ने समस्याबाट अब नगरबासीहरु मुक्त हुने बताईन । उनले उक्त कार्य निरन्तर रुपमा जारी रहने समेत बताईन । ‘कृषक भयौ, कृषी उत्पादन गर्छाै तर त्यसलाई व्यवसायीकरण गर्नका लागि हामी सकिरहेका हुदैनौ’ उनले भनिन् ‘तर अब जग्गा आफ्नो नाममा भएसँगै कृषि फर्म दर्ता गर्न वा आर्थिक कारोबारका लागि पनि किसानलाई सहज भएको छ ।’ अव्यवस्थीत बसोबासीलाई जग्गाधनी बनाउने नगरको पहलले सार्थकता पाएको उनले बताईन ।
लालपुर्जा वितरण कार्यले तिब्रता पाउँछ : मन्त्री श्रेष्ठ
यसैबीच भूमि व्यवस्था तथा सहकारी मन्त्रि रञ्जिता श्रेष्ठले अव्यवस्थीत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्यले तिब्रता पाउने बताइन् । कृष्णपुर नगरपालिकाले आयोजना गरेको जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन । उनले सरकारले २०२१ सालदेखि क्रमिक रुपमा थालेको कार्यले पुर्णता पाईरहेको बताईन ।
‘२०१९ सालमा जग्गा नापजाँच ऐन आएपछि २०२१ सालबाट क्रमिक रुपमा कित्ता नापी कार्यक्रम सञ्चालन हुदै आएको छ’ उनले भनिन् ‘भुमिहिनहरुको समस्या समाधानका लागि विभिन्न आयोगहरु गठन गरि केहीलाई पुर्जा वितरण गरिएपनि अझै यो समस्या समाधान नभएकाले यसपटक उक्त कार्यलाई पुर्णता दिने हिसाबले सरकारले लागेको छ ।’
उनले देशको नागरिकहरुको जमिनमाथीको हक सुनिश्चित गर्ने सरकारको उद्देश्य रहेकाले जग्गा नापजाँच तथा लालपुर्जा वितरणको कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनले बताईन ।
उनले अव्यवस्थीत बसोबासीहरुको समस्या सधैका लागि हटाउने लक्ष्यका साथ सरकारले राष्ट्रिय भुमि आयोग गठन गरेर कार्य अगाडी बढाएको बताईन । उनले आगामी दिनहरुमा निरन्तर रुपमा लालपुर्जा वितरणको कार्यलाई द्रुत गतीमा अगाडी लैजाने प्रतिबद्धता व्यक्त गरिन ।


















