खाेज्नुहाेस

प्लास्टिकजन्य फोहोरबाट पेट्रोल निकाल्दै अत्तरियाका रामप्रसाद

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियाका रामप्रसाद जोशी घरमै यन्त्र बनाएर प्लास्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ निकाल्न सफल भएका छन । उनले आफैले निर्माण गरेको यन्त्रबाट परिक्षणका रुपमा ८ सय एमएल पेट्रोलियम पदार्थ निकालेका हुन । उनले आफैले फलामबाट यन्त्रको निर्माण गरेर प्लास्टिकजन्य फोहोरबाट तेल निकाल्ने यन्त्र बनाएका छन । जसमा ३ वटा फलामका ड्रमलाई पाइपले जोडिएको छ । उनको यो प्रविधिबाट ग्यास पनि निस्किने गरेका छ ।

‘ठूलो ड्रम (रियाक्टर) मा प्लाष्टिक हालिन्छ । प्लास्टिकलाई बाफमा रुपान्तरण गर्न यसलाई तताइन्छ । त्यसपछि पहिलो ड्रमबाट आएको बाफलाई तरल पदार्थमा बदल्नको लागि दोस्रो ड्रममा कुलिङ सिस्टम जडान गरिएको छ’ उनले भने ‘कुलिङ सिस्टममा बाफ चिस्सिएर पेट्रोलियम पदार्थ र ग्यास निस्किन्छ । अर्को ड्रमबाट अलि लेदो पदार्थ निस्किन्छ । जसलाई ग्रीसका रुपमा प्रयोग गर्न सकिन्छ ।’

attariya hospital

उनले जुनसुकै प्लास्टिकजन्य पदार्थको प्रयोग गरेर पनि यस प्रविधिबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । उनले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा भइरहेको समस्या सामाधानका लागि परिक्षण गर्ने क्रममा यो प्रविधिमा आफूले अध्ययन गरिरहेको बताए । ‘पहिले सानो स्केलमा परिक्षण गरेको थिए । त्यो सफल भएपछि अहिले अलि ठूलो यन्त्र बनाएको हुँ’ उनले भने ‘१/२ बर्ष देखि नै म यसमा लागेको छु । म यसलाई सस्तोमा पेट्रोलियम पदार्थ निकाल्ने गरी परिक्षण गरिरहेको छु ।’ उनले विदेशमा यो प्रविधि प्रयोग गरिएको भएपनि नेपालमा भने यो प्रविधि प्रयोगमा नआएको बताए ।

उनले पहिलो पटक परिक्षण गर्दा २२ सय ग्राम प्लास्टिकबाट ८ सय एमएल पेट्रोलियम पदार्थ निस्किएको बताए । उनले प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने यन्त्र निर्माणमा ३५ हजार जती खर्च लागेको बताए ।

‘यसको मुख्य उद्देश्य प्लास्टिकजन्य फोहर पदार्थको सामाधान नै हो’ उनले भने ‘म अहिले पुरै समय यसकै परिक्षणमा दिइरहेको छु । यसमा म सफल हुने विश्वास लिएको छु ।’

navjiwan hospital

उनले आफ्नो आर्थिक अवस्था कमजोर नै भएकाले यसलाई ठूलो मात्रामा संचालन गर्नको लागि वाह्य क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । उनले हाल यसलाई व्यवसायीक रुपमा प्रयोग गर्न सकिन्छ या सकिदैन भनेर आफूले परिक्षण गरिरहेको बताए । उनले भने ‘प्लाष्टिकजन्य फोहर पदार्थको खासै प्रयोग हुन नसकेको अवस्थामा यस उपकरणले त्यसलाई प्रयोगमा ल्याउनेछ भन्ने मेरो अपेक्षा छ ।’

उनले प्लास्टिक भविस्यको खतरा भएकाले यसको प्रयोग गर्न विभिन्न किसिमबाट परिक्षण हुन आवश्यक रहेको बताए । उनले आफूले तयार पारेको उपकरणबाट कुनै पनि प्रकारको हानी नोक्सानी नहुने दावी गरे । उनले प्लास्टिकजन्य फोहोरबाट निस्किएको पेट्रोलियम पदार्थलाई प्रसोधन गरेर सवारी साधनमा प्रयोग गर्न मिल्ने बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले नेपालमा ८ बर्ष अघि नै जापानबाट यो प्रविधि भित्र्याएको भएपनि त्यो कार्यान्वयमा आउन सकेको छैन । रामप्रसादले नेपालमै आफ्नै मौलिक प्रविधि प्रयोग गरेर कम लागतमा पेट्रोलियम पदार्थ निकाल्न आफू लागिरहेको बताएका छन । उनले यसको व्यवसायिक प्रयोग गर्ने गरी आफूले काम गरिरहेको बताए ।

भिडियो