खाेज्नुहाेस

सुकुम्बासीका टहरा भत्काएर राजनीतिक जुहारी खेल्दै अत्तरियाका नेता

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासिलाई जग्गा उपलब्ध गराउन हाल राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । तत्कालिन भूमिसम्बन्धी समस्या समाधान आयोगले २०७७ पुस २ गते गोदावरी नगरपालिका संग सम्झौता गरेर काम अगाडी बढाएको थियो । सोही कामलाई निरन्तरता दिदै हाल राष्ट्रिय भूमि आयोगले जग्गा नापी र लालपुर्जा वितरणको प्रक्रिया अगाडी बढाएको छ ।

आयोगले नगरमा भएका भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोवासी १८ हजार बढीको तथ्याङ्क संकलन गरिसकेको छ । आयोग मार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिने काम अगाडी बढाएको भएपनि निकै सुस्त हुँदा जनता निरास भइरहेका बेला नेताहरु भने सुकुम्बासीका बस्ती भत्काएर राजनीतिक जुहारी खेलिरहेका छन् ।

attariya hospital

आयोगले मापदण्ड अनुसार अव्यवस्थित बसोवासीलाई हाल बसेकै ठाउँमा र भूमिहिन (नेपालभरी कुनै पनि ठाउँमा जग्गा नभएका) लाई मापदण्ड अनुसार जग्गा उपलब्ध गराउने नीति अनुसार चौकिडाँडामा रहेका भूमिहिनको पनि लगत संकलन गरिसकिएको छ । सो कार्य अगाडी बढिरहेका बेला हाल एक्कासी चौकिडाँडामा सडक किनारामा बसेका वादी समुदायका बस्ती मात्रै भत्काइएका छैनन् त्यसलाई राजनीतिक रंग दिएर नेताहरु २ खेमामा बाडिएर जुहारी खेलिरहेका छन् । वन कार्यालयले हाल सो ठाउँमा पहाडी जिल्लाबाट सुकुम्बासी आएर बस्न थालेपछि तत्काल एक्सनमा उत्रिएको जनाएपनि सो ठाउँमा १ महिना अगाडी आएर बसेकाहरु संगै बर्षैदेखि बसेकालाई पनि संगै डोजर लगाएर हटाएको थियो ।

सो क्रममा यसै क्षेत्रमा बसोवास गरेर राष्ट्रिय भूमि आयोगको फारम भरेकाहरुका टहरा भत्काइएपछि नेताहरु बीच बिरोध र बचाउको दोहरी चल्न थालेको छ । भूमि आयोगको काम सुस्त हुँदा भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोवासी निरास भइरहदा नेताहरु भने आयोगको कामलाई तिव्रता दिनुको साटो ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर’ भनेझै आरोप प्रत्यारोपमा उत्रिएका छन ।

navjiwan hospital

सुकुम्बासी बस्ती भत्काइएपछि सत्तापक्षको चर्को विरोध भएपनि शुक्रबार अत्तरियामा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सांसद एवम् कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायर आक्रोशित मात्रै भएनन् लेखराज भट्टलाई सुकुम्बासीप्रति प्रेम भए वहाकै जग्गामा सुकुम्बासीलाई राखिदिने बताए । उनले आफूलाई चलाउन नखोज्न चेतावनी दिदै आफू एक्लो वीर बहादुर नभएर यस क्षेत्रको तागत भएको बताए ।

अत्तरियामा नेपाली कांग्रेस क्षेत्र नम्बर –४ को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘याद गर्नुहोला धेरै जिस्काउनु भयो भने तपाईंले लिएको त्यो जमिन राज्य सँग लड्नु भयो होला, अदालतलाई प्रभाबमा पार्नु भयो होला त्यो फेरी पुनर्जिवित गरिने छ । अदालतमा त्यती मात्रै होइन तपाईंलाई सुकुम्बासी माथि त्यती धेरै प्रेम छ दया छ, करुणा छ भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ ।’

मंगलबार गोदावरी – १ को एक सामुदायिक वनमा बलायरले बिपी स्मृति भबनको शिलान्यास गरेपछि उक्त विषयलाई चौकिडाँडाका सुकुम्बासी बस्ती भत्काएको घटना संगै जोड्दै उनको चर्को अलोचना भएको थियो । उनले यहाँबाट पहाडतिर फोन गरेर कुुनै पार्टीका दलालहरुले पैसा उठाउँदै सुकुम्बासीलाई निम्तो दिइरहेको बताउदै वास्तविक सुकुम्बासीलाई मात्रै पहिचान गरेर व्यवस्थापन गरिनुपर्ने बताए । सुकुम्बासी बस्ती भत्काएको र विपी स्मृति भवन शिलान्यास गरेको विषयमा सामाजिक संजालमा पनि नेताहरु बीच दोहरी चलिरहेको छ ।

बिशेष गरेर एमालेका नेताहरुले कांग्रेसले नेतृत्व गरेको गोदावरी नगरपालिका लगायत पार्टीका नेताहरुको चर्को आलोचना गरिरहेका छन । एमालेका गोदवरी नगर अध्यक्षले नेपाली कांग्रेस पनि के सुकुम्बासी भएकै हो ? भनेर प्रश्न गर्दै गरिबका झोपडीमा डोजर लगाउने, कांग्रेसले महल बनाउन सिलान्यास यो भन्दा घोर अन्याय र अत्याचार अरु के नै हुन सक्छ ? भनेर सामाजिक संचालन मार्फत आक्रोस पोखेका छन ।

उनले बलायरले आक्रोशित हुँदै एमालेका नेतामाथि खनिएपछि प्रतिक्रिया दिर्दै सामाजिक संजालमा लेखेका छन ‘कम्युनिस्ट भनेका स्पातले बनेका मान्छे हुन् भन्ने हेक्का रहोस् प्रतिक्रियावादीका बन्दुकसँग नडराउने तिम्रा धम्कीसँग डराउने प्रश्नै उठ्दैन तिमीलाई खुलेआम चुनौती छ धेरै फुरफुर नगर ।’

सुकुम्बासीका विषयमा नेताहरु बीच दोहरी चलिरहदाँ वस्ती भत्काएपछि उनीहरुको अवस्था के छ भन्ने बारेमा भने कसैले चासो दिएको देखिदैन ।