अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा स्थानीय पाठ्यक्रम बनाउन ढिलाई भएको छ । नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम गत बर्ष नै तयार पारेको भएपनि ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्न भने ढिलाई भएको हो ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारुपले स्थानीय पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।


केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा अगाडी सारिएको थियो । स्थानीय सरकार बनेपछि धेरैजसो ठाउँमा अहिले स्थानीय पाठ्यक्रम निर्माण गरेका भएपनि गोदावरीमा भने स्थानीय पाठ्यक्रम बनेको छैन् ।
नगरपालिकाले कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम बनाएको भएपनि त्यसको पाठ्यपुस्तक भने अझै बनाउन सकेको छैन । नगरपालिकाले चालु आर्थीक बर्षमा कक्षा ८ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन बजेट नै विनियोजन गरेको भएपनि शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम र कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक तयार हुन सकेको छैन ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको काम जारी रहेको बताए । उनले आफ्नो नेतृत्वमा समिति बनाएर पाठ्यक्रम बनाउने काम चलिरहेको बताए । ‘चालु शैक्षिक सत्रदेखि लागु हुने गरी पाठ्यक्रम निर्माणको काम चलिरहेकोे छ’ उनले भने ‘१ देखि डेढ महिनाको अवधिमा पाठ्यक्रम तयार भैसक्छ ।’ उनले पाठ्यक्रम तयार भएपछि नगरपालिकाको कार्यपालिका बैठकबाट पारीत हुने बताए । उनले पाठ्यपुस्तक तयार हुन भने अझै केही समय लाग्ने बताए ।
शिक्षा शाखाले हाल पाठ्यक्रममा समेटिने विषयबस्तुका बारेमा सुझाव संकलनको काम पनि गरिरहेको जनाएको छ । शिक्षा शाखा प्रमुख जोशीले यस क्षेत्रका अगुवा शिक्षकहरु संग सुझाव संकलन गर्ने काम भइरहेको बताए । स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल, स्थानीय प्रविधि, यस क्षेत्रको रहनसहनका बारेमा समेटिने उनले बताए ।



















