अत्तरिया – भवन निर्माण सकिएर फिनिसिङको काम मात्रै बाकी रहेको भनेर १ बर्ष अगाडी उद्घाटन गरिएको कैलालीको गोदावरी नगरपालिकाको भवनको काम अझै सकिएको छैन । भवन निर्माणको काम सकिएर फिनिसिङको काम मात्रै बाँकी रहेको भनेर तत्कालिन नगरप्रमुख हरी सिह साउँदले २०७८ चैत्र १४ गते भवनको उद्घाटन गरेका थिए ।


तर, उद्घाटन गरेको १ बर्ष बढी समय बितिसक्दा पनि अझै फिनिसिङको काम नसकिएको भन्दै भवन प्रयोगमा आउन सकेको छैन् ।
एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गर्न एम÷एस शर्मा एण्ड कम्पनी संग २०७६ साल मंसिर २० गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७८ साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा भवन निर्माणको काम नसकिदा हाल पटक–पटक म्याद थप गर्दै काम हुँदै आएको छ ।
कोरोना महामारीका कारण भवन निर्माणको काम लम्बिएको भनिएपनि उद्घाटन पछि भने कुनै अवरोध नहुँदा पनि काम निकै सुस्त छ । बाउड्रिवाल, गेट, पार्कीङ क्षेत्रमा ब्लक विछ्याउने, प्लान्टेसन, वाटर फाउन्टिङ लगायतका काम पछिल्लो ६ महिना देखि संचालनमा रहेका भएपनि उक्त काम निकै सुस्त हुँदा सकिएका छैनन् ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आफूहरुले भवनको काम छिटो सक्न पटक–पटक आग्रह गर्ने गरेको बताए । उनले भवन आफूहरुको भएपनि निर्माण गर्ने, कार्यान्वय गर्ने कार्यालय छुटै भएकाले आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको बताए । ‘यो काम गर्ने ठेकेदार र त्यो काम हेर्ने कार्यालयको कमजोरी हो । हामीले केही गर्न सक्ने अवस्था छैन’ उनले भने ‘हामी पटक पटक गएर काम छिटो गर्नुप¥यो भनेर झकझक्याउने काम गरेकै छौ । अब भइहाल्छ भै हाल्छ भन्दा भन्दै १२/१३ महिना भैसक्यो ।’


क्षेत्रिय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सन्जिव शाहले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले केही कामका लागि निर्माण कम्पिनीबाट गरिएको भेरियसन अर्डर (भिओ) पनि स्वकृत भइसकेको बताए ।
यसअघि निर्माण कम्पनीले भिओ आउन ढिलाइ भएकाले काममा ढिलाई भएको बताउँदै आएको थियो । भवन निर्माणका लागि निर्माण कम्पनी संग १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हाल भवनमा आवश्यक पर्ने फर्निचर निर्माणको काम पनि जारी रहेको छ ।

गोदावरी नगरपालिका – २ मा निर्माणाधिन भवनको काममा ढिलाई हुँदा हाल नगरपालिकाको प्रशासकीय भवन गोदावरी नगरपालिका १ को निजी भवनमा संचालनमा रहेको छ । नगरपालिकाले हाल अत्तरिया–धनगढी ६ लेन सडक संग जोडिएका २ वटा भवन भाडामा लिएर कार्यालय संचालन गरिरहेको छ ।
जसमा एउटा भवनमा नगरपालिकाका मेयर, उपमेयर सहितका कार्यालय रहेका छन भने अर्को भवनमा स्वास्थ्य शाखा, कृषि शाखा लगायतका कार्यालय छन । हाल नगरपालिकाले मेयर उपमेयर बस्ने कार्यालय भवनको मासिक ७७ हजार ४ सय र स्वास्थ्य शाखा, कृषि शाखा रहेको भवनको ६४ हजार भाडा तिर्दै आएको छ ।


















