अत्तरिया – आन्तरिक राजश्व कार्यालय कैलालीले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कार्यालयले लक्ष्यको ७१ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको हो ।
कार्यालयले साउन देखी चैत मसान्त सम्म जम्मा २ अर्ब ४० करोड ३२ लाख ४३ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर चैत मसान्तसम्म कार्यालयले ७१ दशमलब ०४ प्रतिशत अर्थात १ अर्ब ७० करोड ६३ लाख ८२ हजार रुपैया मात्रै राजश्व संकलन गर्न सकेको छ । कार्यालयमा चैत महिनाको राजश्व संकलन लक्ष्य भन्दा करिब आधाले कम रहेको छ । चैतमा कार्यालयले ३० करोड ४८ लाख ८६ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर उक्त महिनामा कार्यालयले लक्ष्यको ५७ दशमलब १ प्रतिशत अर्थात १७ करोड ४० लाख ९८ हजार रुपैया मात्रै राजश्व संकलन गरेको छ ।



कार्यालयका कर अधिकृत दुर्गा प्रसाद पौडेलले राजश्व कम हुनुको मुख्य कारण आर्थिक कारोबार कम हुनु रहेको बताए । उनले आर्थिक मन्दीका कारण आर्थिक कारोबारमा कमी आउँदा राजश्व संकलनमा पनि कमी आएको बताए । ‘बजारमा हामिले अनुगमन गर्दा पहिले ५० करोडको कारोबार गर्ने व्यवसायीले अहिले ३० करोडको पनि मुस्किलले कारोबार गरिरहेको देखिएको छ’ उनले भने ‘यस्तो अवस्थामा आर्थिक कारोबार कम भएपनि राजश्वमा कमि आउनु स्वाभाविकै हो ।’ उनले पछिल्लो समय आईविवरणका कारण पनि राजश्वमा कमि आएको बताए ।
उनले विगतमा आईविवरण पहिले भरेर पछि कर तिर्न मिल्ने सिस्टम हुँदा केही राजश्व बढी देखिने गरेकोमा पछिल्लो समय भने कर तिरेपछि मात्रै आईविवरण भर्ने सिस्टम आउँदा त्यसमा कमी आएको बताए । ‘पहिला सुरुमै आईविवरण हालेर कर पछि तिर्ने चलन थ्यो, अहिले चाहिँ विभागले सुरुमा पैसा तिर्ने त्यसपछि मात्रै आई विवरण पेश गर्ने भनेको छ’ उनले भने ‘त्यसो हुँदा मानिसहरुले पैसा नभएसम्म आईविवरण नै पेश गर्ने गरेका छैनन, त्यसले पनि संकलनमा कमी भएको छ ।’ उनले आईविवरण पेश नहुँदा राजश्व पनि नआएको बताए । उनले रावश्व कमी हुँनुको अर्काे कारणका रुपमा सरकारी संस्थाहरुबाट हुने निर्माण कार्यहरुलाई देखाएका छन ।
उनले सरकारी कार्यालयबाट हुने निर्माणका कार्यहरु कम हुँदा त्यसको मु.अ करबाट कट्टि भएर आउने भुक्तानीमा पनि कमी आएको बताए । पौडेलका अनुसार पुजिँगत लाभबाट आउने राजश्वमा पनि चालु आर्थिक वर्षमा कमी आएको छ । उनले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पुँजिगत लाभ कर कम रहेको बताए । उनका अनुसार गत आर्थिक वर्षको चैत मसान्त सम्म करिब ३० करोड जती पुँजिगत लाभ रहेको भएपनि यस वर्ष भने करिब २४ करोड मात्रै रहेको छ ।

त्यसले गर्दा पनि राजश्वमा कमी आएको कर अधिकृत पौडेलले बताए । उनले हाल करिब ७१ प्रतिशत जती राजश्व सकंलन भएको र चालु आर्थिक वर्षको अन्त्यसम्म करिब ८० प्रतिशत जती राजश्व संकलन हुने अनुमान रहेको बताए । कार्यालयले चालु आर्थिक वर्षको असार मसान्त सम्ममा ४ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

















