अत्तरिया – सरकारले नमुना विद्यालय घोषणा गरेको कैलालीको एउटा विद्यालय अगाडी फोहोरको थुप्रो लागेको छ । कैलालीको अत्तरिया बजार क्षेत्र नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडी फोहोरको थुप्रो लागेको हो । स्थानिय एवम् व्यापारीहरुले उक्त क्षेत्रलाई फोहोर फाल्ने डम्पिङ साईड बनाएका बनाएका छन ।
पहाडरोड बसपार्क नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको आधारभुत तहको भवन अगाडी खाली रहेको क्षेत्रमा व्यापारी एवम् स्थानियहरुले फोहोर फाल्ने गरेका छन । जसका कारण उक्त क्षेत्रमा फोहोर थुप्रिएको छ । व्यापारीहरु मात्रै नभई पहाडी जिल्लाहरुमा जाने सवारी साधनमा आवत जावत गर्नेहरुले समेत सोही क्षेत्रमा फोहोर फाल्ने गरेका छन ।


आधारभुत तहसम्मका साना साना विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयको भवन अगाडी फोहोर फालिदा बालबालिकाहरुलाई पनि नराम्रो असर पर्ने देखिन्छ । उक्त क्षेत्रमा फालिने फोहोरको विषयमा पटक पटक आवाज उठाएपनि सुनुवाई हुन नसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।

उनले विद्यालय पछाडी रहेका व्यापारी एवम् स्थानियहरुले साँझको समयमा फोहोर ल्याएर विद्यालय अगाडीको क्षेत्रमा फाल्ने गरेको बताए । ‘त्यो गल्लीवालाहरुले विद्यालयलाई दिएको उपहार हो’ उनले व्यंग्यात्मक शैलीमा भने ‘जानाजान साँझको समयमा पोलिथिनमा फोहोर ल्याएर आउँछन, त्यहाँ फाल्छन र हिड्छन, भनेको सुन्दैनन् ।’ उनले फोहोर नफाल्नका लागी सबैलाई चिठ्ठी समेत लेखेको भएपनि कसैले मतलब नगरेको बताए । उनले फोहोर लगेर स्थानियका घरमै फाल्ने अल्टिमेटम सहित दिईसकेको बताए ।
विद्यालय अगाडी नै फोहोर थुप्रिएको एक हप्ता भन्दा बढी भैसक्दा समेत उक्त फोहोर उठाईएको छैन । नगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागी ठेक्का प्रकृयामार्फत निजि संस्थालाई जिम्मेवारी दिएको छ । उक्त संस्थाले केही रकम लिएर नगरको फोहोर उठाउदै आएको छ । तर विद्यालय अगाडीको फोहोरको विषयमा भने उक्त संस्थाले पनि आनाकानी गरेको जोशीले बताए । ‘फोहोर फाल्ने संस्थाका प्रतिनिधिलाई बोलाएर कुरा गरेका हौ, आवश्यक रकम दिन्छौ, फोहोर उठाउनुप¥यो भनेर अनुरोध पनि ग¥यौ’ उनले भने ‘तर सरकारी विद्यालयबाट पैसा नलिने निर्णय भएको भन्दै उसले फोहोर फाल्ने काम गरेन, उल्टो नगरपालिकासित कडायत टोल जाने बाटो सम्म मात्रै सम्झौता भएको छ भनेर भन्छ ।’

प्रधानाध्यापक जोशीले विद्यालयले प्रत्येक हप्तामा विद्यार्थीहरुसँगै विद्यालय परिषर सरसफाई गर्ने गरेको भएपनि केही समय परिक्षाका कारण ढिलाई भएको बताए । उनले स्थानिय र व्यापारीहरुले फालेको फोहोर विद्यार्थीहरुले उठाउनुपरिरहेको भन्दै दुखेसो पोखे ।
प्रायजसा ठुला शहरहरुमा कालो प्लाष्टिक निषेध गरिएको छ । उक्त प्लाष्टिक जलाउँदा हानिकारक प्राणघातक ग्यास उत्पन्न हुने भएकाले कालो प्लाष्टिक प्राय जसो ठाउँमा निषेध गरिएको छ । तर दुर्गालक्ष्मी अगाडी बढी जसो कालो प्लाष्टिकमा नै फोहोर फालिएको छ । उक्त फोहोर जलाउनुपर्ने बाध्यता रहेको र कालो प्लाष्टिकका कारण विद्यार्थीहरुमा नराम्रो असर परिरहेको प्रधानाध्यापक जोशीले बताए । यस्ता किसिमका प्लाष्टिक जन्य सामग्रीहरु निषेध गरिनुपर्ने उनको भनाई छ ।
साना बालबालिकाहरु अध्ययन गर्ने विद्यालय अगाडीको फोहोरको थुप्रोले विद्यार्थीहरुमा पनि नकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ । विद्यालयमा सरसफाईको महत्वको विषयमा अध्यापन गरिदै आएको भएपनि विद्यालय अगाडीकै फोहोरको विषयमा भने कसैले मतलब गरेका छैनन् ।

















