खाेज्नुहाेस

पीडा र संघर्षका १४ बर्ष…

Image

अत्तरिया – एकतिर मृत्यु भएका श्रीमानले न्याय नपाएको पीडा, अर्कोतिर जीउनका लागि गर्नुपर्ने संघर्षका बीच बसन्तीका १४ बर्ष बितिसकेका छन् । १२ बर्षमा खोलो पनि फर्किन्छ भनिए पनी बसन्तीको पीडा र सघर्षको यात्रा भने बिना कुनै बदलाव एउटै गतिमा चलिरहेको छ । तर, पनि अहिले सम्म उनले न हरेस खाएकी छिन्, न न्याय पाउने आशा नै मारेकी छिन् ।

कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीकी बसन्ती जोशीका श्रीमान पत्रकार जगत प्रसाद जोशी (जेपी जोशी) २०६५ साल मंसिर १३ गते चौकिडाँडा सामुदायिक वनमा मृत भेटिएका थिए । जनादेश साप्ताहिक र जनदिशा दैनिकमा कार्यरत जोशी २०६५ असोज २२ गते घरबाट बेपत्ता भएका थिए । बेपत्ता भएको ६१ दिनपछि शव भेटिएका पत्रकार जोशीको कंकाल र हड्डी मात्रै फेला परेको थियो । कंकाल संगै मोबाइल र परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो ।

attariya hospital

उक्त घटनाको छानबिन गर्न तत्कालीन सरकारले अधिवक्ता उमेश गौतमको संयोजकत्वमा गठन गरेको जाँचबुझ समितिल पत्रकार जोशीको हत्या भएको निष्कर्ष निकालेको थियो । घटनापछि पत्रकार जोशीकी श्रीमती बसन्तीले स्थानीय दुई जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपनि उनीहरु विरुद्ध प्रमाण नपुगेको भन्दै १ बर्ष पछि रिहाई गरियो ।

‘वहा (श्रीमान) ले गाउँकै एक जनालाई ३ लाख दिएको छु भन्नु हुन्थ्यो । अष्टमीका दिन त्यो पैसा लिन त्यो मान्छेको घरमा जानु भएको थियो’ १४ बर्ष अघिको घटना सम्झदै बसन्तीले भनीन् ‘उतीबेला घरमा मोबाइल थिएन । जसको घरमा पैसा लिन जानुभएको थियो । उसले यताबाट पैसा लगेर गइसक्यो भने । त्यसको २१ दिनपछि शव भेटियो ।’ उनले पैसा लगेको मान्छेले नै हत्या गरेको भनेर किटानी दिएपनि उसलाई किन छोडियो भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताइन् । उनले त्यो मान्छेले पहिले पनि आफ्नो श्रीमानलाई धम्की दिएकाले उसमाथि आफूले संका गरेर किटानी दिएको बताइन् ।

११ बर्षकै उमेरमा बाजुरामा पत्रकार जोशी संग वैवाहीक बन्धनमा बाधिएकी बसन्तीको परिवार २०६३ सालदेखि मालाखेतीमा बस्न सुरु गरेको थियो । पत्रकार जोशी पहिलेदेखि तराइमा बसेर पत्रकारीता गर्दै आएका भएपनि उनले मालाखेतीमा घर बनाएपछि परिवारलाई तराइमा ल्याएर आएका थिए । त्यसको २ बर्ष पछि उनको मृत्यु भएको थियो ।

अहिले उक्त घरमा पत्रकार जोशीकी श्रीमती बसन्ती र उनका २ छोरी बस्दै आएका छन । बसन्तीका सासु र देवर भएपनि उनीहरु छुटै बस्छन् । सामान्य लेखपढ गर्न पनि नजान्ने बसन्ती श्रीमानको मृत्यु पछि न्याय र छोराछोरीको पालनपोषणका लागि गरिरहेको सषर्घ निकै कहालिलाग्दो छ ।

उनको आधा कट्टामा ३ कोठे पक्की घर भएपनि त्यसको छानोले बर्षादको पानी छेक्दैन । उनी भन्छिन् ‘पानी परेपछि छतबाट पानीका धारा लाग्छ । छत माथि पलास्टिक हाल्ने गरेका छौ ।’ उनको घरको छतमा छडि देखिएका छन भने घर पनि पुरै चर्किएको छ ।

तर, पनि उनको प्राथमिकतामा अहिले घर पर्दैन । ‘ पढाइका लागि पत्रकारहरुले सहयोग गरेका छन । संगै घरका लागि पनि सहयोग दिनुस् म भन्न चाहन्न । अहिले छोरीहरु हुर्काउनु छ’ उनले भनीन् ‘खानको लागि १ भैसी पालेकी छु । ५ कट्टा जमिन अधिया कमाएकी छु ।’ उनले भैसी पालनबाट महिनामा १०/११ हजारको दुध विक्रि हुने र त्यसबाट भैसीको खर्च कटाएर ६/७ हजार बचत हुने बताइन् । उनले घरको खर्च चलाउन भैसी नै मुख्य आयश्रोत भएको बताइन् ।उनले भैसी  किन्नको लागि साना किसान सहकारीबाट १ लाख ऋण लिएको बताइन् ।

navjiwan hospital


उनले दुवै छोरीलाई कक्षा १२ सम्म पत्रकार महासंघले पढाइदिने भनेपनि कोरोना महामारीको समयमा उक्त सहयोग रोकिएपछि १ बर्ष समस्या भएको बताइन् । ‘काठमाण्डौं, धनगढीबाट पत्रकार आएर छोरीहरुलाई १२ कक्षा सम्म पठाउन्छु भनेका थिए । जेठी छोरी १० र कान्छि छोरी ७ कक्षामा पढ्दा स्कुलले फिस मागे । स्कुलेले माथिबाट आइरहेको सहयोग रोकियो भनेर फिस जम्मा गर्न भन्योे’ उनले भनीन् ‘त्यसपछि धनगढीका पत्रकारहरुले रकम संकलन गरेर फिस तिरिदिएपछि सहज भयो ।’

२ बर्ष अगाडी बाजुराका पत्रकार प्रकाश सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार बाफत पाएको रकम संगै अन्य थप रकम संकलन गरेर डेढ लाख सहयोग गरिएको थियो । सो रकमबाट बसन्तीले दुवै छोरीको शुल्क तिरेकी थिइन् ।

उनकी जेठी छोरी पुजा जोशी एभरेष्ट एकेडमीबाट १० कक्षा उर्तिण गरेर हाल धनगढीमा रहेको एक्सिस विद्याश्रममा अध्ययनरत रहेकी छिन भने कान्छि छोरी गिता जोशी एभरेष्टमै कक्षा ८ मा अध्ययनरत छिन् ।

बसन्तीले कान्छि छोरीको गत बर्ष शुल्क तिरेपनि यस बर्ष भने एभरेष्ट स्कुलले शुल्क नलिएको बताइन् । उनले जेठी छोरीलाई पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको पहलमा एक्सिसमा भर्ना गरिएको बताइन् । उनलाई एक्सिसले हाल शुल्क छुट गर्नुका साथै निःशुल्क घरसम्मै बसमार्फत पु-याउने गरेको छ ।

न्यायको आशा बाँकी

बसन्तीलाई जिउनको लागि गरेको संघर्ष भन्दा न्याय पाउनका लागि गरेको संघर्षले बढी पीडा दिन्छ । श्रीमानको मृत्यु भएपछि बसन्तीले किटानी जाहेर गरेर २ जना पक्राउ परेपनि तिनीहरुलाई किन छोडियो भन्ने बारेमा उनलाई जानकारी छैन् । ‘अब मेरी छोरी ठूली भइसकिन् । उसलाई अदालतमा किन तिनीहरुलाई छोडिएको हो भनेर हेर्न जाउ भन्छु’ उनले भनीन् ‘म पढेकी थिएन । जहाँ जहाँ औठाछाप लगाउ भने लगाए । पछि हामीलाई बोलाउन पनि बोलाएन ।’

जेठी छोरी पुजा साढे ४ बर्षकी हुँदा उनका बुवाको हत्या गरिएको थियो । उनी अहिले १८ बर्षकी भइसकेकी छिन् । उनी धनगढीको एक्सीसमा कानुन विषयमा अध्ययन गरिरहेकी छिन् । उनी बुवालाई न्याय दिनकै लागि कानुन विषय पढिरहेको बताउन्छिन ।

‘मेरो बुवा बित्दा म सानी थिए । मैले केही गर्न सकिन् । अब म मेरा वुवा जस्तै घटनामा परेकाहरुलाई न्यान दिन कानुन विषय पढ्न थालेकी हु’ उनले भनीन ‘मेरो बुवाको न्यायको लागि अझै लड्छु । मैले मेरो वुवालाई न्याय दिन नसके मेरो वुवा जस्ता कयौ बुवाहरुको न्यायको लागि मैले यस क्षेत्रमा पढ्ने सोच बनाएकी हु । मैले यसमा सफल भए मेरो वुवाको आत्माले शान्ती पाउन्छ भन्ने मैले विश्वास लिएकी छु ।’

उनी हाल एक्सीसमा कक्षा १२ परीक्षा दिने तयारीमा छिन । त्यसपछि भने कहाँ कसरी पढ्ने भन्ने उनलाई चिन्ता छ । उनले एलएलबीमा छात्रवृति पाएर पढ्न पाए सहज हुने बताइन् । उनले त्यसका लागि अहिले देखि तयारी गरिरहेको बताइन् । उनी पढाइमा अब्बल विद्यार्थी हुन उनले एसइईमा ३.५ जिपिए ल्याएर उर्तिण भएकी थिइन् । उनले कानुन विषय बढेर बुवाको आत्मा शान्तिका लागि आफू जस्तोसुकै मिहेनत गर्न पनि तयार रहेको बताइन् ।