अत्तरिया – घरको तेस्रो तलामा काम गर्दै गर्दा कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका रघु राम महर भुइमा बझारिए । ३ महिना अगाडी दुर्घटनामा परेका उनको कमरको हड्डी भाचियो । विद्युत वाइरिङको काम गर्दै आएका उनको सुदूरपश्चिमकै अस्पतालमा उपचार सम्भव भएन । तर, उनीसंग बाहिर गएर उपचार गर्ने पैसा थिएन । जसले गर्दा उनी १ महिना थला परे । दैनिक मजदुरी गरेर घर चलाउँदै आएका महर थला परेपछि खान लाउनकै समस्या हुन थाल्यो । त्यसपछि उनले सामाजिक संजालमा हार गुहार गरे ।
उनको आग्रह अनुसार केही अभियान्ताहरुले सहयोग अभियान चलाए । अभियान चलाएपछि १ लाख ३८ हजार रकम जुट्यो । अनी उनले भारतको राजिस्तानमा गएर उपचार गराए । हाल उनी पुनः काममा फर्कन सक्ने अवस्थामा नपुगेपनि उभिएर हिडडुल गर्न सक्ने भएका छन । असंगठित क्षेत्रमा मजदुरी गर्दै आएका उनी समयमा उपचार नपाउँदा ३ महिना उपचारकै लागि भौतारिनु मात्रै परेन निकै पीडा पनि सहेर बस्नुप-यो ।

घरमा पेन्टिङको काम गर्दै गर्दा लडेर घाइते भएका कञ्चनपुरकै कृष्णपुर नगरपालिका – ५ का जोगी बुढा पनि अहिले उपचार खर्च जुटाउन नसक्दा सहयोगका लागि हारगुहार गरिरहेका छन । पेन्टिङ गर्दै गर्दा घरको २ तलाबाट खसेका ४४ बर्षीय बुढाको खुट्टा र कम्मरमा चोट लागेको छ । चैत्र ८ गते लडेर घाइते भएका बुढाको अत्तरियामा उपचार सम्भव नभएपछि नेपालगंञ्ज लगिएको थियो ।

उनको हाल वेष्टन हस्पिटल प्राली नेपालगंञ्जमा उपचार भइरहेको भएपनि उपचारका लागि आवश्यक खर्च जुटाउन परिवारलाई धौ – धौ परेको छ । खुट्टाको हड्डी तिन ठाउँ हिप र कम्मरको हड्डी एक ठाउमा भाचिएका बुढाको उपचारमा हालसम्म ४ लाख जति खर्च भइसकेको उनकी श्रीमती गौरी बोहरा (बुढा) ले बताएकी छिन् । उनले ४ लाख पनि बिभिन्न ठाउँबाट चन्दा र ऋण निकालेर तिरको भएपनि थप आवश्यक पर्ने उपचार खर्च जुटाउन निकै समस्या भएको बताइन् ।
‘घरको आर्थिक अवस्था एकदमै कमजोर छ । मौरीफाटामा ५ धुर जमिनमा माइतीले दिएको जग्गामा बसेका छौ । दैनिक घर खर्च चलाउन मजदुरी गर्ने श्रीमानको पनि यो अवस्था भएपनि निकै समस्यामा परेका छौ’ उनले भनीन् ‘अहिले गाउँलेले चन्दा संकलन गरेर पनि तिम्रो श्रीमानलाई बचाउँन्छौ भनेर आश दिएका छन् । त्यसले केही राहत पुगेको छ ।’ उनले उपचारमा अझै कति खर्च लाग्ने एकिन नभएपनि अप्रेसन गर्न बाँकी रहेको बताइन् । उनले उपचारको लागि हाल कृष्णपुरका केही सक्रिय युवाहरुले सहयोग अभियान संचालन गरेका छन ।
स्कुल बसमा सहचालकको काम गर्दै आएका कैलालीको गोदावरी नगरपालिका – ४ खैरानाका प्रेम दास चौधरी पनि अहिले अभियानकै भरमा उपचार भइरहेको छ । सामान्य ज्यालामा काम गर्दै परिवार पालिरहेका चौधरीलाई एक्कासी ब्रेन हेमरेज भएपछि अहिले उनको भारतको बरेलीमा उपचार भइरहेको छ । तर, उनको पनि उपचारका लागि परिवारसंग आवश्यक रकम नहुँदा सहयोग अभियान संचालन गरिएको छ । अत्तरियामा सहयोग अभियान संचालन गरेर संकलन भएको रकमको भरमा हाल उनको उपचार भइरहेको छ ।
असंगठित क्षेत्रमा मजदुरी गर्दै आइरहरु पछिल्लो समय दुर्घटनामा पर्दा होस वा कुनै स्वास्थ्य समस्या हुदा होस् अभियानकै भरमा उपचार गराउन बाध्य छन । सरकार असंगठित क्षेत्रमा मजदुरी गर्नेहरुको सुरक्षाका लागि जिम्मेवार नबन्दा उनीहरु अभियानका भर पर्न थालेका हुन ।
सरकारले श्रम ऐन २०७४ मा सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रोजगारदाताको हुने जनाएपनि त्यो व्यवस्था कार्यान्वयमा आउन सकेको छैन । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याएपनि त्यसमा यस्ता व्यक्ति समेटिन सकेका छैनन् । जसले गर्दा असंगठित क्षेत्रमा कार्यरत मजदुरको बीमा नहुने हुँदा दुर्घटनापछि जीवनयापनकै समस्या हुने गरेको छ ।


















